मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ माघ २० मंगलबार १४:१७:००
Read Time : > 3 मिनेट
फिचर

कोरोना भाइरसविरुद्धको भ्याक्सिन धेरै परीक्षण भएको ब्राजिलसँगै छैन भ्याक्सिन

Read Time : > 3 मिनेट
एजेन्सी
२०७७ माघ २० मंगलबार १४:१७:००

ब्राजिलको साओ पाउलोस्थित इमिलियो रिबास इन्स्टिच्युड अफ इन्फेक्सियस डिजिजको कोभिड– १९ वार्ड संक्रमणबाट सिकिस्त भएका बिरामीले भरिएका छन् । वार्डभित्र बिरामीको शरीरमा जोडिएको मेसिनको आवाज तीव्र छ । त्योभन्दा तीव्र बन्दै छ, बिरामीहरूले लिने सास । 

वार्डमा उपचाररतमध्ये धेरैलाई बचाउन मुस्किल छ । लामो समयदेखि उक्त वार्डमा कोरोना संक्रमित बिरामीको उपचारमा खटिएकी नर्स मोनिका कालाजन्स आफूले पहिले धेरै मृत्यु देखेको बताउँछिन् । उनी भन्छिन्, ‘कोरोनाबाट मैले आफ्ना आठ सहकर्मी गुमाइसकेँ । यो साँच्चिकै निर्दयी रोग रहेछ ।’

मोनिका दैनिक आफ्नो जीवन जोखिममा राखेर अरू संक्रमितको उपचारमा खटिएकी छिन् । यद्यपि, कोरोना भाइरस नियन्त्रणका लागि ब्राजिलले गरेको प्रयास कतै पनि सफलतानजिक देखिँदैन । देशको त्यो प्रयासका लागि दैनिक आफ्नो जीवन जोखिममा राखेकी मोनिकालाई भाग्यमानी नै मान्नुपर्दछ, उनलाई अहिलेसम्म केही भएको छैन ।

ब्राजिल विश्वमै कोरोना भाइरस महामारीबाट धेरै थलिएको देश हो । पहिलो चरणको संक्रमण कम नहुँदै ब्राजिलीहरूको जनजीवन दोस्रो चरणको संक्रमणले तहननहस नै बनाएको छ । यसकारण उसलाई भ्याक्सिन पहिले र ठूलो मात्रामा आवश्यक थियो । यस्तै, कोरोना भाइरसविरुद्ध निर्माण भएका धेरै भ्याक्सिनको परीक्षण ब्राजिलमै बढी भएको छ । यसले पनि ब्राजिल कोरोना भाइरसविरुद्धको भ्याक्सिन पहिले पाउनका लागि हकदार थियो । यद्यपि, ब्राजिलसँग आफ्ना नागरिकका लागि आवश्यक भ्याक्सिन छैन । ब्राजिलियन सरकार आफ्नो नागरिकका लागि आवश्यक भ्याक्सिन सुरक्षित गर्नमै असफल भएको छ । 

गत जनवरीमा मोनिका कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्राप्त गर्ने पहिलो ब्राजिलियन बनेकी थिइन् । त्यसपछि तीव्र बन्ने अपेक्षा गरिएको ब्राजिलको आमभ्याक्सिनेसन निक्कै सुस्त पो बन्दै गयो । 

आइतबारसम्म ब्राजिलमा मात्रै ०.५ प्रतिशतले मात्रै अस्त्रजेनेका वा सिनोभाक भ्याक्सिनको पहिलो डोज प्राप्त गरेका छन् । भ्याक्सिनको परीक्षणमा सहभागी भएकाबाहेक अन्य कोही पनि ब्राजिलियनले अहिलेसम्म पूर्ण रूपमा भ्याक्सिन लगाउन पाएका छैनन् ।

बाहिरबाट आउनुपर्ने भ्याक्सिनमा निकै ढिला भएको छ । छिटो भ्याक्सिन ल्याउने सरकारी योजना पनि देखिएको छैन ।

सरकारी कार्यशैलीले ढिलासुस्ती
गत वर्ष जुनमा केही विज्ञहरूले चिन्ता गरेका थिए कि ब्राजिलले भ्याक्सिनका लागि कठिन संघर्ष गर्नुपर्नेछ । ब्राजिलको स्वास्थ्य प्रणाली कमजोर छैन । उनीहरूको अस्पताल र स्वास्थ्य केन्द्रहरूसँग ठूलो संख्यामा सफल भ्याक्सिनेसन गरेको अनुभव छ । अस्पतालबाहेक उनीहरूको प्रत्येक नगरपालिकामा अनुभवी स्वास्थ्यकर्मीहरू छन् ।

यद्यपि, राष्ट्रपति जइर बोल्सोनारो र उनको संघीय सरकारको कार्यशैलीका कारण विभिन्न देशमा बनेको धेरै भ्याक्सिनको परीक्षणको केन्द्र नै बनेको ब्राजिल आफैँले पर्याप्त भ्याक्सिन पाउन सकेको छैन । त्यसमा राष्ट्रपति र उनी नेतृत्वको सरकारकै कार्यशैलीको आलोचना हुन थालेको छ ।

‘यो महामारी सुरु हुँदा मैले भनेको थिएँ कि ल्याटिन अमेरिकामा भ्याक्सिन लगाउन सुरु गर्ने ब्राजिल पहिलो देश बन्नेछ । किनभने यो कसरी गरिन्छ भनेर हामीलाई राम्रोसँग थाहा छ,’ ब्राजिलियन माइक्रोबायोलोजिस्ट तथा स्वास्थ्य अभियानकर्ता नाटालिया पास्टरनेक भन्छन्, ‘त्यसका लागि हामीसँग सबै संरचना तयार छ । हामीलाई अब मात्रै राम्रो राष्ट्रपतिको आवश्यकता छ ।’

ब्राजिलको संघीय स्वास्थ्य अधिकारीहरूले सुरुवातमा भ्याक्सिनबारे अरू ठूला देशले जस्तै घोषणा गरेका थिए । उनीहरूले अस्त्रजेनेका भ्याक्सिन देशमै उत्पादन गर्ने जनाएका थिए । सन् २०२१ को जनवरीसम्म उनीहरूले देशमै अस्त्रजेनेकाको ३० मिलियन डोज उत्पादन गर्ने जनाएका थिए ।

थप दुई सय मिलियन डोज भ्याक्सिन वर्षको अन्त्यसम्म उत्पादन गरिने घोषणा गरेका थिए । उनीहरूले पहिलो चरणमा स्वास्थ्यकर्मी, वृद्धवृद्धालाई भ्याक्सिन लगाइने र त्यसपछि सर्वसाधारणका लागि उपलब्ध गराउने घोषणा गरेका थिए ।

ब्राजिलियन अधिकारीहरूले सुरुवातमा अस्त्रजेनेका भ्याक्सिनमा आफ्नो भरोसा राखेका थिए । यद्यपि, यो भ्याक्सिनको परीक्षण अवधि अरू भ्याक्सिनको भन्दा केही लम्बियो । ढिलै भए पनि ब्राजिलियन निकायले गत १७ जनवरीमा अस्त्रजेनेकाको भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दियो । यद्यपि, भ्याक्सिन बनाउने आवश्यक ‘इन्ग्रेडियन्ट’को अभावमा ब्राजिलका ल्याबहरूले आफ्नो देशमा आवश्यक देखिएको हजारौँ डोज भ्याक्सिनको उत्पादन कार्य सुरु नै गर्न पाएका छैनन् ।

निर्माण पूरा भएका भ्याक्सिन कहिलेबाट उपलब्ध गराउने भन्ने विषयमा समेत सरकारले निर्णय गर्न सकेको छैन । ब्राजिलको जत्तिकै किन्ने क्षमता भएका अरू देशहरूले अरू नै भ्याक्सिन किन्ने गरी सम्झौता गरेका छन् । मोडर्ना, सिनोभाकजस्ता कम्पनीले निर्माण गर्ने भ्याक्सिन किन्न अरू देशले सम्झौता गर्दा ब्राजिलले भने त्यसतर्फ कुनै प्रयास गरेन ।

ब्राजिललाई गत अगस्टमा फाइजरले आफूले निर्माण गरेको भ्याक्सिन ७० ७० मिलियन डोज किन्न प्रस्ताव गरेको थियो । यद्यपि, ब्राजिलका स्वास्थ्यमन्त्रीले उक्त प्रस्तावलाई अस्वीकार गरेका थिए । राष्ट्रपति बोल्सेनेरोले भने आफ्नो सरकारको जत्तिको अरू कुनै पनि सरकारले गर्न नसक्ने भनी दाबी गरेका छन् ।


केन्द्र सरकारभन्दा नगर अगाडि
ब्राजिलले आफूले निकट भविष्यमा प्राप्त गर्ने अपेक्षा गरेको भ्याक्सिन हो, कोरोनाभ्याक । यो भ्याक्सिन चीनको सिनोभाकले निर्माण गरेको हो । ब्राजिलले यसलाई पनि गत १७ जनवरीमै आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । त्यससँगै ब्राजिलले एक सय मिलियन डोज किन्ने गरी सम्झौता पनि गरेको छ । 

यो निर्णयले राष्ट्रपति बोल्सेनेरोमाथि नै प्रहार गरेको छ । राष्ट्रपति बोल्सेनेरोले महिनौँसम्म यही भ्याक्सिनको आलोचना गरेका थिए । उनले आफ्नो धेरै भाषणमा चीनमा निर्माण भएको भ्याक्सिनले मान्छेलाई मार्न सक्ने वा अपांग बनाउन सक्ने भनी आलोचना गरेका थिए, जसको अहिलेसम्म कुनै प्रमाण भेटिएको छैन ।

चीनसँग भ्याक्सिन किन्ने निर्णय साओ पाउलोका गभर्नर जाओए डोरियाले गरेका हुन्, जो बोल्सेनेरोका राजनीतिक प्रतिद्वन्द्वी हुन् । उनलाई अर्काे वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा बोल्सेनेरोका प्रतिद्वन्द्वीको रूपमा पनि हेरिएको छ । उनले सीधै चीनसँग सिनोभाकको भ्याक्सिन किन्नेबारे सम्झौता गरेका हुन् । 

उनले राष्ट्रपति बोल्सेनेरोको कार्यशैलीले आफूलाई यो निर्णय गर्न बाध्य पारेको बताएका छन् । ‘भ्याक्सिनको सम्बन्धमा हामी अहिलेको भन्दा साँच्चिकै छिटो हुनैपर्छ,’ उनले भनेका छन्, ‘ब्राजिलमा अहिले हामीले दुईवटा भाइरससँग लड्नुपरेको छ । एउटा कोरोना भाइरस र अर्काे बोल्सेनेरो भ्याक्सिन ।’