मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ १९ सोमबार २१:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कम्युनिस्ट सरकारबाट नेपाल असुरक्षित : रामचन्द्र पौडेल 

Read Time : > 1 मिनेट
२०७७ माघ १९ सोमबार २१:१०:००

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टको हातमा देश असुरक्षित बन्दै गएको आरोप लगाएका छन् । तनहुँको दमौलीमा कांग्रेसले सोमबार गरेको विरोध सभालाई सम्बोधन गर्दै पौडेलले कम्युनिस्ट सरकारका कारण जनताले सास्ती पाएको बताए । ‘यो राष्ट्र सुरक्षित छैन । नेपाली सुरक्षित छैनन् । निर्मला पन्तहरू सुरक्षित छैनन । सुरक्षित छैन भन्ने यो प्रतिनिधिसभा विघटनको कदम प्रमाण हो । अहिलेको प्रतिनिधिसभा भंग भएको छ ।’ 

७० वर्ष लडेर ल्याएको संविधानमाथि प्रहार भएको उनले बताए । ‘नेपाललााई एउटा विग्रहको भुमरीमा धकेलेर अफगानिस्तानको हालतमा पु¥याएर राष्ट्रमाथि असुरक्षा पैदा गरेको छ । नेपाललाई असुरक्षित बनाएको छ । यहाँ भित्र खेलहरू भइरहेको छ यो बुझ्न जरुरी छ,’ उनले भने । 

ओलीले राष्ट्रघाती कदम चालेर नेपाललाई असुरक्षित बनाएको उनको दाबी छ । ‘राष्ट्रपतिले रोक्नुपथ्र्यो, तर रोकिनन्,’ उनले भने, ‘अब अदालत बाँकी छ, अदालतले पुनस्र्थापना गर्छ । यो असंवैधानिक कार्यलाई खारेज गरेर वैधानिक बनाउँछ भन्ने एउटा ठाउँ बाँकी रहेको हुनाले हामी निर्णायक संघर्षमा पुगेका छैनौँ । हामी निर्णायक संघर्षमा पुग्ने दिन नआओस् भनेर म अपेक्षा गर्छु ।’ 

उनले प्रतिनिधिसभा विघटन गर्दा संविधानमाथि प्रहार भएको भन्दै लोकतन्त्र नै खतरामा परेको बताए । ‘जनताको मतमाथि प्रहार भयो । यो विघटन असंवैधानिक छ । अब यसको उपचार भनेको प्रतिनिधिसभाको पुनस्र्थापना नै हो । पुनस्र्थापना भएर मात्रै यो संविधान ट्र्याकमा आउँछ । प्रतिनिधिसभा पाँच वर्षका लागि जनताले चुनेको हो, त्यसैले त्यही ठाउँमा ल्याउनुपर्छ यसका लागि पुनस्र्थापना हुनुपर्छ,’ उनले भने । 
कांग्रेसको गन्तव्य भनेको असंवैधानिकलाई संवैधानिक बनाउने, अलोकतान्त्रिकलाई लोकतान्त्रिक बनाएर छाड्ने भएको उनले बताए । उलने भने, ‘दुईटा कम्युनिस्ट हिजो मिले । किन मिलेका रहेछन् भन्दा सत्तामा भाग लिनलाई रहेछ । मिलेर चुनाव जितौँ अनि सत्ता मिलेर बाँडिचुँडी खाऊँ । तर, त्यहा बाँडिचुँडी खानलाई भाग मिलेन अनि छुट्टिएर हिँडे । कम्युनिस्टसँग सिद्धान्त छैन । कम्युनिस्टले दुनियाँमा समस्या उत्पन्न मात्रै गराउँछन्, तर समस्या समाधान गर्न सक्दैनन् । उनीहरूले जनतलाई झुक्याउने मात्रै काम गरे ।’