‘नेपाली जनताले श्री ३, श्री ५ को दासतालाई अस्वीकार गरे । खड्गप्रसाद कत्रो ठूलो महाराज हो ?’ गत १२ माघमा बालुवाटारमा भएको नागरिक आन्दोलनमा लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी ओलीको गैरसंवैधानिक कदमविरुद्ध बोलेका वाक्य हुन् यी । सेतै कपाल फुलेका संग्रौला ७५ वर्षका भइसके । ०४६, ०६२-६३ को परिवर्तनमा पनि संग्रौला सडकमै आन्दोलनमा थिए । रत्नपार्क, बानेश्वर, माइतीघर अथवा बालुवाटारमा हुने विरोध प्रदर्शनमा उनको सक्रियता हेर्नलायक थियो ।
संग्रौलालाई प्राध्यापक विजयकान्त कर्णले ०३६÷३७ सालतिर वीरगन्जको जेलमा भेटेका थिए । कर्ण त्यसवेला १८ वर्षका थिए । प्रहरीले कुटेर थिलथिलो भएका थिए । त्यसवेला एसपी मोतीलाल बोहराले उनलाई एउटा कागजमा सही गर्न भनेका थिए । कागजमा पञ्चायत व्यवस्था र राजा मान्नुपर्छ भन्ने व्यहोरा लेखिएको थियो । त्यसवेला जेल भनेपछि डर लाग्ने गरेको बताउँछन् उनी । तर, त्यो डरबाट निस्केपछि भने अधिकार, समानता र लोकतन्त्रका लागि लड्न सकिने रहेछ भन्ने अनुभव छ कर्णको । तर, त्यही डरले नै अहिले सडकमा आइपुगेको बताउँछन् उनी । ‘जब लोकतन्त्र गुम्छ कि भन्ने विषयमा डर लाग्छ । लोकतन्त्र जोगाउने लोभले अभिप्रेरित भइन्छ, तब सडकमा आइँदोरहेछ,’ कर्ण भन्छन्, ‘त्यत्रो पञ्चायती शासन र राजा फालेर आयौँ । जाबो राजाको मुकुटबाट झरेकाहरूसँग किन डराउने ? यही ऊर्जाले यो उमेरमा पनि सडकमा जान उद्वेलित गरिरहन्छ ।’
सेतै कपाल भएका आफूहरू र नयाँ पुस्ता सडकमा नआएमा सत्तामा पुगेकाले लोकतन्त्रलाई अजिंगरले झैँ निलिदिने उनी बताउँछन् । यदि जनता सडकमा निस्के भने मात्र लोकतन्त्र सुरक्षित छ भनेर ढुक्क हुनुपर्ने उनको मत छ । बुढेसकालमा आएर सडकमा उभिनुपर्ने कारण खोतल्छन् उनी, ‘सत्ताधारीलाई सडक र सदन दुवै कब्जा गर्न दिनु हुँदैन । सडक जनताका लागि हो । जनताले फैसला गर्ने ठाउँ हो । त्यसकारण पनि सडक भन्नसाथ ऊर्जा भरिएर आउँछ ।’ जब आफू सडकमा हुन्छन् र संग्रौलालाई पनि सडकमै देख्छन्, अनि बुरुकबुरुक उफ्रिन मन लाग्ने बताउँछन् कर्ण ।
संग्रौला आफ्नो ऊर्जाको स्रोत आफ्नो सिद्धान्त र आदर्शलाई मान्छन् । भन्छन्, ‘म त मरेर जाने हो । तर मेरो सिद्धान्त र आदर्श मानवजाति रहेसम्म रहन्छ ।त्यसकारण ऊर्जा आउँछ सडकमा आउन ।’ लोकतन्त्र, गणतन्त्र, संघीयता र सुन्दर संस्कृतिको निर्माण आफ्ना लागि जीवनभन्दा प्रिय कुरा रहेको संग्रौलाको भनाइ छ । साथै त्यसको बचाउ र विस्तारको निम्ति निरन्तर लड्नु स्वाभाविक रहेको उनको भनाइ छ । संग्रौला हाँस्दै भन्छन्, ‘सडकबाट अवकाश पनि हुँदैन र निवृत्तिभरण पनि हुँदैन ।’
प्राध्यापक कर्णको पुस्ता ०३५ सालदेखि सडकमा छ । यो पुस्ता प्रत्येक परिवर्तनका खातिर सडकमा उभिँदै आएको छ । जिन्दगीभर सडकबाटै मुठी उठाएर बाँचेको छ । ०४६ सालमा जुन ऊर्जाका साथ मुठी उठेको थियो, अहिले ०७७ मा पनि त्यही ऊर्जाका साथ कर्णहरूको मुठी उठिरहेको छ । यो मुठी जीवनको अन्त्यसम्म नथाक्ने बताउँदै मल्ल के सुन्दर भन्छन्, ‘न्याय र समानताको कुरामा अवकाश भन्ने हुँदैन । अवकाश भनेको त थकान हो । थकान भनेको आत्मसमर्पण हो । प्राप्ति छिटो पनि हुन सक्छ, ढिलो पनि हुन सक्छ । तर, अभियन्ताहरू थकित भएमा सत्तालाई झकझकाइरहने नागरिक अभियान नै तुहिन्छ ।’
०६२-६३ सालको दोस्रो जनआन्दोलनको सुरुवात नागरिक समाजबाट भएको थियो । नागरिक अगुवाहरू सडकबाट निरंकुश राजतन्त्रविरुद्ध आवाज उठाउन थालेपछि मात्रै राजनीतिक दलहरू सडकमा आइपुगेका थिए । र, त्यसैको शक्तिबाट राजा ज्ञानेन्द्र श्रीपेच फुकाल्न बाध्य भए । त्यो नागरिक आन्दोलनको नेतृत्वकर्तामध्ये एक थिए डा.देवेन्द्रराज पाण्डे ।
गत पुस अन्तिममा प्रज्ञा प्रतिष्ठानमा भएको आन्दोलनमा पाण्डे भिडियो वक्तव्यमार्फत भनिरहेका थिए, ‘०६२÷६३ को जनआन्दोलनको जनादेश के थियो भने मुलुकमा शान्ति प्रक्रिया र लोकतान्त्रिक प्रणालीलाई सुनिश्चित गर्दै त्यो प्रणालीको आधारमा आर्थिक, सामाजिक, सांस्कृतिक, बौद्धिक हर क्षेत्रको हिसाबले उत्कृष्ट समाज निर्माण तथा दिगो शान्ति स्थापना गर्ने । र, जनताको अधिकार, नागरिकको मर्यादा र शान्ति सुव्यवस्थाको साथै सामाजिक न्याय स्थापना गर्ने आदेश थियो । त्यसका लागि राजनीतिक पार्टीहरूले कति समर्पण भाव देखाए, कति विकृति मौलाए त्यो आफ्नो ठाउँमा छँदै छ ।’
संसदीय व्यवस्थामा केही विकृति देखिएमा त्यसको उपचार गर्नुको साटो लोकतन्त्रमै प्रहार गर्न नहुने पाण्डेको भनाइ थियो । ‘अहिले लोकतन्त्रमै प्रहार हुने गरी संसद् विघटन भयो, जसलाई संविधानविद्ले समेत असंवैधानिक घोषणा गरेका छन् । त्यसको विरोधमा लोकतन्त्रलाई पुनस्र्थापित गर्ने, प्रतिगमनलाई छिर्न नदिने र समाज विकासको प्रक्रियालाई अगाडि बढाउने हिसाबले अहिले नागरिक आन्दोलन सुरु भएको छ,’ उनको भनाइ थियो, ‘हामीले केही समयअगाडि गरेको कामलाई पुनर्जागृत गर्दै अहिले बृहत् नागरिक आन्दोलन गर्ने कोसिस गरिएको छ । मूल कुरा के हो भने लोकतान्त्रिक प्रणाली आधुनिक समाजको निम्ति अपरिहार्य छँदै छ । त्यसको आधारमा आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने जुन जमर्को गरिन्छ, त्यसका निम्ति चाहिने संस्थागत र सुदृढीकरणलगायत विविध कामहरू निकै गाह्रो छन् । यही कारणले लोकतान्त्रित शासन व्यवस्था संस्थागत गर्ने काम कहिल्यै सकिँदैन । यसका लागि प्रत्येक पिँढीले नवीकरण गर्नुपर्छ । प्रत्येक पिँढीले ऊर्जा दिनुपर्छ ।’
०६२-६३ कै छनक दिने ऊर्जाका साथ प्रधानमन्त्री केपी ओलीको गैरसंवैधानिक कदमविरुद्ध उनले आक्रोश पोखे । पाण्डेको भिडियो सन्देश सकिएपछि सबैले ताली बजाए । पाण्डेको भौतिक अनुपस्थिति एक ठाउँमा थियो, तर ताली बजाइरहेका अभियन्ताहरूमा नयाँ ऊर्जा सञ्चार भएको देखिन्थ्यो । तालीमार्फत उनीहरू भनिरहेका थिए, ‘पाण्डे सडकमै छन् ।’ १२ माघमै बालुवाटार सडकमा डा.गोविन्द केसी भनिरहेका थिए, ‘जनताले ज्यान आहुति दिएर ल्याएको संविधानलाई कुल्चिएर केपी ओली श्री ७ महाराज बने । ऊ (ओली) सडकको भाषा सुन्दैन । यदि साँच्चै सुन्दैन भने सुन्ने बनाइन्छ ।’
गत पुसमै जनसांस्कृतिक महासंघले बानेश्वरमा आयोजना गरेको कार्यक्रममा संग्रौला भनिरहेका थिए, ‘वास्तवमा मलाई उमेरको गणितको हिसाबले यस्तो सभामा आउन अनुमति थिएन । मलाई त्यत्रो जाँगर पनि थिएन । आधा जिन्दगी विभिन्न प्र्रवृत्तिका निरंकुश तत्वहरूसँग लड्दालड्दै सडकमा बित्यो । सडकलाई दिनका लागि मसँग जीवन बाँकी थिएन । तर, जब बयलगाडाको कुरा आयो, म उत्साहित भएँ ।’ दोस्रो जनआन्दोलनका क्रममा नयाँ व्यवस्थाका लागि आफूहरू सडकमा हुँदा केपीले ‘बयलगाडामा चढेर अमेरिका पुगिँदैन’ भनेको वाक्य दोहो¥याइरहेको उनी सम्झन्छन् । ७५ वर्षीय संग्रौला ओेली प्रवृत्तिविरुद्ध कतिसम्म आक्रोशित छन् भने सडकलाई दिन बाँकी नरहेको जीवन पनि अर्पण गर्न आइपुगेका छन् ।
०६२-६३ को जनआन्दोलनमा संग्रौलासँगै निरन्तर सडकमा उत्रिएका कृष्ण खनाल अहिले पनि संग्रौलासँगै सडकमै छन् । त्यही ऊर्जाका साथ छन् । यसको कारण युवावस्थादेखि नै निर्माण भएको चेतनाप्रतिको ‘इमोसनल अट्याचमेन्ट’ भएको बताउँछन् उनी । युवावस्थामै निर्मित चेतनाले निरन्तर खोजिरहेको समाज, प्रणाली विचारका कारण सडकमा उत्रन अभिप्रेरित भइरहने खनालको भनाइ छ । भन्छन्, ‘चेतनशील विचारले एउटा नागरिकलाई सडकमा पु¥याउँछ । जो स्वतन्त्र मानिसबाट मात्र सम्भव हुन्छ । जुन ऊर्जा सदावहार पनि हुन्छ । उमेरले छेक्दैन ।’ प्रत्येक सचेत नागरिकले मुक्त समाज खोज्ने र त्यो समाजबाट निर्मित प्रणालीमा आफूलाई समेट्न खोज्ने भएकाले नै ऊर्जा सदावहार हुने स्पष्टीकरण दिन्छन् खनाल । यसलाई वैचारिक ऊर्जा पनि भन्छन् उनी । ‘भोलिको पुस्तामाथि पनि यो ऊर्जा कायम राख्ने अभिभारा छँदै छ । तर, हामीले ल्याएको व्यवस्था जतिसुकै क्रान्तिकारी भए पनि दुई–चार वर्षपछि त्यसले स्वभाव बिर्सिदिन्छ । त्यसका लागि पनि सडकमा आउनैपर्छ,’ खनाल भन्छन्, ‘समाजको अग्रगति चेतनाको गति हो । त्यो चेतना सत्ताभन्दा धेरै माथिको उचाइमा हुन्छ । त्यो चेतना भएपछि ऊर्जा कहिल्यै कम हुँदैन ।’
कपाल सेतै फुलेका पत्रकार लेखक नारायण वाग्ले बालुवाटारमा प्रहरीको लाठी खाइसकेपछि पनि सडकमा पुनः उत्रिएको भिडियो फुटेज प्रशस्तै भेटिन्छन् । ०६२-६३ या ०४६ सालमा फर्कने हो भने पनि वाग्लेजस्ता प्रहरीको लाठी र अश्रुग्यासको परवाह नगर्नेहरू धेरै थिए । जो अहिले पनि सडकमा उही मुठी र आवाजसँग उत्रिरहेकै छन् । तीन दशकभन्दा लामो समयदेखि त्यो ऊर्जा नघट्नुमा नयाँ व्यवस्थामा निर्माण भएको सरकारले बसाउन खोज्ने निरंकुश नजिर कारक भएको बताउँछिन् डा.अरुणा उप्र्रेती । यत्रो लामो समय लडेर पाएको उपलब्धि भोलिका दिनमा गुम्ने भयले पनि सडकमा उभिने ऊर्जा स्वतः निस्कने उनको भनाइ छ । ‘भारतमा अन्ना हजारे हिजो पनि लडेकै थिए र आज पनि लडिरहेकै छन् । समाजप्र्रतिको दायित्व भएको मान्छेलाई उमेरले छेक्दैन,’ उप्रेती भन्छिन्, ‘नयाँ पुस्तालाई ऊर्जा दिन पनि सडकमा आउनुपर्छ । व्यवस्थाको रक्षाका खातिर पनि सडकमा आउनुपर्छ । अहिलेको नजिर स्थापित भयो भने समस्या आउँछ भनेर सडकमा गएको हो ।’ यदि अहिले आफूहरू सडकमा गएर आवाज नउठाएमा आउँदो पुस्ता धेरै पछाडि धकेलिने भएकाले आउँदो पुस्ताको खातिर पनि ऊर्जाहरू बटुलेर सडकमा पुगेको बताउँछिन् उनी ।
समानता, अधिकार र लोकतन्त्रप्रतिको आस्था भएकाहरू यस्तो परिवेशमा सडकमा उत्रनु नौलो कुरा नरहेको बताउँछन् मल्ल के सुन्दर । भन्छन्, ‘नेताहरूले आस्थाको राजनीति गरेनन् । अवसरको राजनीति गरे । वाचा बिर्सिए । तर, हामीले छातीमा गोली थापेर ल्याएको व्यवस्थाप्रतिको आस्था बिर्सेका छैनौँ । त्यसकारण यो उमेरमा पनि सडकमा उत्रिएका हौँ ।’
जबसम्म हामीले रगत बगाएर ल्याएको व्यवस्थाभित्रै खराब मानिस जन्मिरहन्छन्, तबसम्म लडिरहनुपर्छ
कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिवक्ता
००७ सालको क्रान्तिमा बिपीले दिएको बन्दुक बोकेर हिँडँे । सामाजिक न्यायका लागि अदालतमा बहस गरेँ । देश बन्यो भने हामी बन्छौँ भन्ने विश्वास थियो र छ । तर, हाम्रो विश्वासमाथि कुठाराघात हुँदै गयो । तर, त्यही विश्वासलाई बचाइराख्न यो उमेरमा पनि बहसमा उत्रिएँ । मेरो खुट्टा अलि कमजोर छ, तर शरीर तन्दुस्त नै छ । त्योभन्दा तन्दुरुस्त मैले ००७ सालदेखि चाहेको सपनाप्रतिको विश्वास छ । त्यसकारण म अहिले पनि लडिरहेको छु । अन्यायका लागि लडिरहनुपर्छ । म निरन्तर लडाइँमै हुनेछु, जबसम्म हामीले रगत बगाएर ल्याएको व्यवस्थाभित्रै खराब मानिस जन्मिरहन्छन् ।