१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मंगलबार साँझ लागेको भीषण आगलागीपछि खण्डहर बनेको जुम्लाको तिला गाउँपालिका–७ स्थित गोठीगाउँ । यहाँका ५४ घरमध्ये ३२ घर जलेका छन् । तस्बिर : नयाँ पत्रिका
२०७७ माघ १५ बिहीबार ०८:३१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भीषण आगलागी हुँदा जुम्लाको गोठीगाउँका ३२ घर जले

Read Time : > 2 मिनेट
२०७७ माघ १५ बिहीबार ०८:३१:००

कठ्यांग्रिने चिसोमा दुई सय ५६ घरपरिवारको बिचल्ली, खुला आकाश र पालमा बित्यो रात 

भीषण आगलागीमा परेर जुम्लाको तिला गाउँपालिका– ७ गोठीगाउँका ३२ घर जलेका छन् । मंगलबार साँझतिर बरब रोकायाको घरको खाना पकाउने चुलोको पाइपबाट एक्कासि सल्किएको आगोले गाउँ नै खरानी बनाएको हो । ५४ घरधुरी रहेको गोठीगाउँ एकाएक खण्डहरमा परिणत भएको छ । 

७ नम्बर वडा सदस्य परिमल रोकायाका अनुसार ३२ घरधुरीका दुई सय ५६ घरपरिवार बिचल्लीमा परेका छन् । जुम्लाको सदरमुकाम खलंगादेखि पश्चिमतिरको दक्षिणी भेगमा पर्ने गोठीगाउँ पुग्न ४५ मिनेट सवारी यात्रापछि तीन घन्टा पैदल हिँड्नुपर्छ । तापक्रम माइनस डिग्रीमा झरेको कठ्यांग्रिँदो जाडोमा घरबारविहीन बन्न पुगेका बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी पीडित बनेका छन् । 

‘कोही आगोले जल्न बाँकी रहेका घरमा कोचिएर बसेका छन्, कोही खुला आकाशमुनि पाल टाँगेर,’ वडासदस्य रोकायाले भने, ‘यो जाडोमा साढे दुई सयभन्दा बढी परिवारको बिचल्ली भएको छ ।’ आगलागीले दुईवटा घरमा सामान्य क्षति पुगेको छ भने २४ वटा घर जल्नबाट जोगिएका छन् । २४ घर बचाउन सफल भएको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक नवीन थापामगरले बताए । 

सवा तीन करोडबराबर क्षति १३२ पशुचौपाया जले
आगलागीबाट सवा तीन करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान सुरक्षा निकायले गरेको छ । प्रहरीको मुचुल्का रिपोर्टका अनुसार मानवीय क्षति नभए पनि करिब तीन करोड १८ लाखबराबरको भौतिक धनमाल क्षति भएको छ । ३२ घरभित्र राखिएका अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै जलेर नष्ट भएको प्रहरी निरीक्षक थापामगरले बताए । चुलाको पाइपबाट आगोको झिल्को बाहिर गएर छतमा राखिएको घाँसमा टिपेको र त्यहीँबाट आगलागी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

आगलागीको खबर आएलगत्तै मंगलबार राति नै १८ प्रहरी र सशस्त्रका नौ प्रहरीको टिम घटनास्थल पुगेको थियो । आगो निभाउने कुनै स्रोत नभएपछि आँखाअगाडि घर खरानी भएको हेर्न बाध्य भएको स्थानीय गोविन्द रोकायाले गुनासो गरे । आगलागीबाट ९२ गाईगोरु, ४० भेडाबाख्रा, २० वटा खरायो र २६ कुखुरा जलेर मरेको स्थानीयले बताएका छन् । त्यस्तै दुई सय ४८ क्विन्टल अन्नपात, ६ लाख ४७ हजारबराबरको लत्ताकपडा जलेर नष्ट भएको स्थानीय परबहादुर रोकायाले बताए । 

खानेपानी आयोजनाका सामग्री जलेर नष्ट
गोठीगाउँमा पानी संकलन पोखरीको आयोजनाको निर्माण सामग्री जलेर नष्ट भएको आयोजना उपभोक्ता समितिका अध्यक्ष धर्मराज रोकायाले बताए । उनले भने, ‘साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाको सहयोगमा पानी संकलन पोखरी निर्माणका लागि राखिएका सामग्री जलेर नष्ट भएको छ ।’ ५० प्याक ओपिसी सिमेन्ट, १६ एमएमको पाँच बन्डल फरामे छड र दुई सय प्याक बालुवा नष्ट भएको उनले बताए । 

सिँचाइ आयोजनाको कर्णाली दिगो विकास प्रतिष्ठान (कास्डा) जुम्लाको २० एमएमको १५ सय मिटर पोलिथिन पाइप र सिआइपी दुई सय एमएमको तीन सय मिटर पोलिथिन पाइप पनि जलेर नष्ट भएको छ । यस्तै, स्थानीय लालबहादुर रोकायाको किराना पसलमा रहेको दुई लाख ५० हजार रुपैयाँबराबरका खाद्य सामग्री जलेर नष्ट भएको छ । 

एकद्वार प्रणालीबाट राहत बाँडिने
गोठीगाउँका अग्निपीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय भएको छ । स्थानीय गैरसरकारी संस्थासँग समन्वय गरेर अग्निपीडितलाई राहत दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । उनले भने, ‘बुधबार बिहानै विपत् व्यवस्थापन समितिको बैठक बसेर प्रशासनबाट पाँचजनासम्मको परिवारलाई १५ हजार र पाँचजनाभन्दा बढी परिवार भएकालाई २० हजारका दरले तत्काल राहत उपलब्ध गराउने निर्णय भएको छ ।’

बिहीबार बिहानै गोठीगाउँमै पुगेर नगद राहत हातमा बुझाउने तयारी भएको प्रजिअ थापाले जानकारी दिए । खाद्यान्न लिएर गाउँमै जान सडकको पहुँच नभएकाले नजिकको सेरी बजारमा बोलाएर दिइने भएको छ । कर्णाली प्रदेश सरकारले बुधबार नै हेलिकोप्टरमार्फत जुम्ला आएर राहत दिने भनिए पनि अन्ततः आएन । बुधबार नै राहत लिएर जुम्ला आउने भनिए पनि समय अभावका कारण मन्त्रीको टोली आउन नसकेको कानुन मन्त्रालयका कानुन अधिकृत एकराज चौलागाईंले बताए । उनका अनुसार ३० घरलाई तत्काल पुग्ने खाद्यान्न, नुन–तेल, भाँडा, कम्बललगायतको राहत बोकेर बिहीबार बिहानै टोली जुम्ला पुग्नेछ ।

गाउँमा पुग्ने कच्ची सडक खनिए पनि तिलानदीमा पुल नहुँदा सवारीसाधन चन्दैनन् । छिटोछरितो आगो नियन्त्रण गर्न दमकलको त्यहाँ पहुँच पुग्दैन । सुक्खा खडेरी र पानीको स्रोत पनि पर्याप्त नहुँदा समयमा आगो नियन्त्रण लिन नसकिएको स्थानीय धर्म रोकायाले बताए ।