१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
आगलागीले सखाप बनेको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्ती ।
२o८१ बैशाख २२ शनिबार o६:o२:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सात घण्टामा जरलहवा बस्ती नै सखाप

महोत्तरीको मटिहानी– ६ जरलहवामा भएको आगलागीले १५० घरगोठ जले, पाँच सय स्थानीय विस्थापित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:o२:oo

आगलागीले महोत्तरीको मटिहानी नगरपालिका– ६ जरलहवा बस्ती नै सखाप भएको छ । बुधबार लगातार सात घण्टाको आगलागीमा एक सय ५० घरगोठ जलेका छन् । त्यस्तै, पाँच सय स्थानीय विस्थापित भएका छन् । 

मटिहानीका मेयर हरिप्रसाद मण्डलका अनुसार बस्तीमा अधिकांश फुस र जस्तापाताले छाएका घर छन्, तीमध्ये सबैजसो जलेका छन् । पक्की घरमध्ये तीन–चारवटामा मात्रै क्षति भएको छ । तर, प्रहरीले भने ९२ घर जलेर नष्ट भएको विवरण संकलन गरेको छ ।  

‘दिनभरको आगलागीले घरभित्रका सबै सरसामान जलेका छन् । कतिपय पशुचौपाया पनि मरे,’ मेयर मण्डलले भने, ‘१२ वटा दमकलको प्रयोग गरेर आगो निभाइएको छ ।’ आगोले बस्ती नै नष्ट गरेपछि कम्तीमा पाँच सय व्यक्ति विस्थापित भएका छन् । तर, आगलागी कसरी र कहाँबाट भएको हो भनेर अझै यकिन भएको छैन । 

गुठीको जग्गामा बसेको  यो बस्तीमा धानुक, मुस्लिम, पासवान, मलाह, बिन समुदायको बसोबास छ । स्थानीयका अनुसार बुधबार मध्याह्न १२ बजेतिर बस्तीको दक्षिण–पश्चिम कुना (आप बगैँचा क्षेत्र) बाट सुरु भएको आगो एक घन्टामै खेत रहेको क्षेत्रसमेत पार गरेर पूरै बस्तीमा सल्किएको थियो । दक्षिण–पश्चिम कुनामा आगलागी हुनासाथ खाना पकाउने एलपी ग्यासका चारवटा सिलिन्डर फड्किएपछि आँपको बगैँचास्थित यो बस्तीका करिब सय घरमा आगो पुग्यो । लगत्तै खेत क्षेत्रबाट ७० मिटर पर रहेको सोही बस्तीको अर्काे क्षेत्रमा पनि आगो सल्किएपछि थप ५० घर जलेका हुन् । बस्तीमा आगो फैलिएपछि  स्थानीयसामु ज्यान जोगाउन भाग्नुबाहेक विकल्प रहेन, उनीहरूले घरभित्रबाट सरसामान निकाल्न वा बाँधेर राखेका पशुचौपायालाई छोड्न पाएनन् ।

शीलादेवी मुखियाको घर पनि आगलागीमा खरानी भएको छ । ‘खेतपारीका घरमा आगो लागेको थियो, आगोको झिल्को उडेर आयो, मेरो घर पनि जल्यो,’ उनले भनिन्, ‘घरबाट केही पनि निकाल्न पाइनँ ।’ उनले केही दिनअघि मात्र १० हजार कर्जा लिएको पैसा पनि जलेको छ । दिउँसो पश्चिमबाट पूर्वतिर हावा चल्दा आगो फैलिएको हो । 

१२ दमकल र तीन सय सुरक्षाकर्मीले ६ घन्टामा नियन्त्रणमा लिए आगो
प्रायः फुसका घर भएको जरलहवा टोलमा वर्षैपिच्छे आगलागी हुन्छ । तर, यसपटक भने बस्ती नै सखाप भयो । मैथिलीमा जरलहवाको अर्थ जलेको भएकोले यस टोलको नाम जरलहवा राखिएको हो ।

बुधबार मध्याह्न आगलागी भएको १५ मिनेटमै मटिहानी नगरपालिकाको दमकल पुगेको थियो । तर, बस्तीभर आगो फैलिएपछि जलेश्वर, रामगोपालपुर, गौशाला, जनकपुर, सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीसहित भारतको बिहार,  साहरघाटबाट समेत दमकल झिकाइएको थियो । आगो निभाउन दिनभर १२ दमकलको प्रयोग भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका तीन सय जनशक्ति आगलागी नियन्त्रणमा परिचालन भएको थियो ।

मेयर मण्डलका अनुसार बस्तीको आगलागी नियन्त्रणमा आए पनि घरका काठमा अझै आगो छ । त्यही भएर बुधबार अबेर रातिसम्म जलेका घरमा डोजर लगाएर दमकलबाट पानी फ्याँकिएको छ, ताकि हावाहुरीले आगो उडाएर फेरि क्षति नगरोस् ।

खेत र सडकमा पीडित

आगलागीले बस्ती नै सखाप भएपछि पीडित खेत र सडकमा पुगेका छन् । मटिहानी नगरपालिकाले त्रिपाल, चिउरा, दालमोठ र चिनीको जोहो गरेको मेयर हरिप्रसाद मण्डलले बताए । आगलागी भएको क्षेत्रमा नगरपालिकाको कार्यसमितिको आपत्कालीन बैठकले आगलागीपीडित परिवारलाई तत्काल पाँच हजारका दरले राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ । ‘पीडितको खान, बस्न र पुनर्स्थापनाको प्रबन्ध गर्न सबैसमक्ष अपिल गर्दर्छाैँ,’ मेयर मण्डलले भने ।

मटिहानी उद्योग वाणिज्य संघले पनि पीडितलाई खाना र बस्नका लागि सहयोग गर्न टोली नै खटाएको छ । नेपाल रेडक्रस सोसाइटीले बाल्टिन र मगसहित राहत सामग्री घटनास्थल पुर्‍याएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बिहीबार विपत् व्यवस्थापन समितिको बैठक डाकिएको र आवश्यक निर्णय गरेर राहत उपलब्ध गराइने बताए । मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले आगलागीपीडितलाई राहतका लागि प्रदेश सरकारले पहल गर्ने बताए । ‘क्षतिको विवरण प्राप्त हुनासाथ  प्याकेजमै राहत उपलब्ध गराउँछौँ,’ उनले भने । 

ad
ad