१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

गुल्मेली संघसंस्था अग्निपीडितको राहतमा जुट्दै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:५o:oo

दोहलीका पीडित भन्छन्– दैवसँगै भूगोलले पनि ठग्यो

गुल्मीका दर्जनौँ स्थानमा अहिले भीषण आगलागी भइरहेको छ । अधिकांश जंगलमा आगलागी भएको छ । आगलागीले इस्मा र मदानेमा ठूलो भौतिक क्षति भयो । जसका कारण गुल्मेली संघसंस्थाहरू अग्निपीडितलाई राहत संकलनमा सक्रिय देखिएका छन् ।

सबैभन्दा ठूलो क्षति भएको इस्मा गाउँपालिका– १ को हस्तिचौर सदरमुकामबाट नजिक छ । जसका कारण हस्तिचौरमा संघसंस्थाहरूको उपस्थिति बढी देखिएको छ । आफूहरूलाई विपत् र भूगोलले समेत ठगेको इस्मा गाउँपालिका– ४ कोटकोटेरी र मड्किलाका अग्निपीडितले गुनासो गरे । ‘हस्तिचाैरनजिक भएकाले भनेकै वैला सबै आए । राम्रो सहयोग पाएको पनि सामाजिक सञ्जालमा देखेका छौँ,’ विमला अधिकारीले भनिन्, ‘हामीहरू विपतसँगै भूगोलबाट पनि ठगिरहेका छौँ ।’ राहत वितरणमा क्षतिको आधारमा सबै भूगोलमा समान राहत वितरण हुनुपर्ने अधिकारीले बताइन् ।

रोटरी क्लब अफ रेसुंगाले गाउँपालिकाको खातामा नगद ६१ हजार पाँच सय र प्रत्येक पीडित परिवारलाई खाद्यान्न र भान्सामा आवश्यक सामग्रीको सेट प्रदान गरेको छ । हस्तिचौरमा मंगलबार राहत वितरण भए पनि दोहलीमा फेरि वितरण गर्ने क्लबले जनाएको छ । फेन्सी व्यवसायी संघ गुल्मीको टोलीले पनि इस्माका सबै क्षेत्रमा पुगेर ओड्ने–ओछ्याउने कपडा, खाद्यान्नलगायतका सामग्री सहयोग गरेको छ ।

हस्तिचौरमा निजामती कर्मचारी संगठनले १७ वटा गाग्री, जग र औषधि प्रदान गरेको छ । त्यस्तै, हस्तिचौर काठमाडौं ट्रस्टले आफ्नो क्षेत्रमा मात्र १६ सेट ग्यास चुलो र सिलिन्डर प्रदान गरेको छ । गुल्मी उद्योग वाणिज्य संघले ग्यालेन, मग, जेन्स टिसर्ट, बच्चा टिसर्ट, जेन्स ट्रयाक, लेडिज सुरुवाल ३०–३० थान, लेडिज टिसर्ट ३५ थान, जेन्स ट्रयाक र बच्चा पाइन्ट ७० थान सहयोग प्राप्त भएको इस्मा गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, इस्माली समाज रुपन्देहीले जिन्सी राहतस्वरूप पानी संकलन गर्ने ५० थान ट्यांकी प्रदान गरेको छ । साइन रेसुंगा विकास बैंकमा कार्यरत कर्मचारीबाट नगद ५० हजार तथा व्यक्तिहरूले पनि नगद सहयोग गरिरहेका छन् । इस्मा गाउँपालिकाका लेखा अधिकृत अशोककुमार खड्काले नगद गाउँपालिकाको खातामा र जिन्सी सामग्री फिल्डमै प्रदान गरिएको जानकारी दिए ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीले २० एमएमको एक हजार आठ सय ५० मिटर, २५ एमएमको एक हजार दुई सय ५० मिटर र ३२ एमएमको दुई सय मिटर पाइप खानेपानी सञ्चालनका लागि सहयोग भएको गाउँपालिकाले जनाएको छ । रेडक्रस सोसाइटी जिल्ला शाखा र इस्मा समन्वय समितिको सहयोगमा कम्बल, भाँडा, त्रिपाल र कपडासहितको २५ सेट जिन्सी सामग्री सहयोग भएको छ ।

गाउँले किसान एग्रोभेटले सेन्टरले हस्तिचौर र दोहलीका दुई स्थान तथा अमरपुरमा किसानलाई आवश्यक औषधि, मकैको बिउ र काँक्राको बिउ सहयोग गरेको छ । जिल्ला विपत् व्यवस्थापन समितिबाट जिल्लाका सबै अग्निपीडितलाई नगद २० हजार प्रदान भएको छ । आइतबार संघीय सांसद गोकर्ण विष्टको सहयोगमा चामल, ब्ल्यांकेट, दाल, तेल नुनलगायत दैनिक उपभोग्य सामग्री र पकाउने भाँडाहरू सहयोग गरिएको छ ।

ad
ad