१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवराज मैनाली काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:oo:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मालपोतमा दुई महिनामा नौ भ्रष्टाचार काण्ड

Read Time : > 4 मिनेट
नवराज मैनाली, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:oo:oo

मालपोत कार्यालय कलंकीमा कार्यरत अधिकृत दीपक दाहाल र नायब सुब्बा नारायण श्रेष्ठ ७ माघमा पक्राउ परे । बेल्जियममा रहेकी मीना खड्काको थानकोटमा रहेको २० आना जग्गा उनलाई थाहै नदिई गत वर्ष मालपोत कार्यालयले बिक्री गरिदिएको थियो । 

कलंकी मालपोतका कर्मचारीले नक्कली लालपुर्जाका आधारमा डोर खटाएर जग्गा नामसारी गरेको खुलेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरूलाई पक्राउ गरेको थियो । अहिले उनीहरूलाई थुनामा राखेर अनुसन्धान चलिरहेको छ । त्यसको अघिल्लो दिन अर्थात् ६ माघमा मालपोत कार्यालय, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिपकुमार श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुससहित पक्राउ ग¥यो । जग्गा हालसाबिकका क्रममा ट्रायल जाँच गर्दा क्षेत्रफल बढी भएको जग्गा मिलाउनका लागि उनले लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठमार्फत घुस लिएका थिए । 

मालपोत कार्यालय, सुर्खेतका नायब सुब्बा विश्वरूप रावतसहित तीनजना कर्मचारी प्रहरी हिरासतमै छन् । धनीलाई थाहै नदिई वीरेन्द्रनगर–६ स्थित सौगात रावतको चार कट्ठा जग्गा अन्य व्यक्तिलाई बिक्री गरेको आरोप उनीमाथि छ । 

पछिल्ला एक साताका यी तीनवटा घटनाले देशका मालपोत कार्यालयमा भइरहेका बेथितिको तस्बिर पस्ट पार्छन् । घुसखोरी र अनियमितताका लागि बदनाम मालपोत कार्यालयमा केही प्रविधिगत सुधार भए पनि कर्मचारीको नियतमा सुधार आउन सकेको छैन । 

पछिल्लो दुई महिनामा मात्र मालपोत कर्मचारीविरुद्ध नौवटा मुद्दा दायर भएका छन् । त्यसमा चारवटा घुससम्बन्धी, तीनवटा धनीलाई थाहै नदिई जग्गाा बिक्री,  राजस्व हिनामिना र सार्वजनिक जग्गा हिनामिनासम्बन्धी एक–एकवटा छन् । 

यसमध्ये धेरैजसो घटनामा नियोजित रूपमा कर्मचारीको गल्ती देखिने अख्तियार तथा प्रहरी अधिकारीहरू बताउँछन् । थानकोटको जग्गा पास गर्दा डोर खटाएर होटेलमा बसेर नामसारी भएको छ । सामान्यतया, जग्गाधनी कार्यालयमा उपस्थित हुन नसक्ने अवस्थामा डोर खटाएर जग्गा पास हुन्छ । तर, ठगी गर्ने गिरोहसँग कर्मचारीहरू मिलेको देखिएको काठमाडौं परिसरका डिएसपी प्रमेश विष्ट बताउँछन् । 

प्रविधिमार्फत पछिल्ला वर्षमा मालपोत कार्यालयमा सेवा सुधारको प्रयास भए पनि कर्मचारीको कार्यशैली सुध्रिन सकेको छैन । जसकारण, मालपोतको छवी पनि सुध्रन सकेको छैन । 

दुई महिनामा नौ भ्रष्टाचार काण्ड
नौवटा मुद्दामा पछिल्लो दुई महिनामा २० जना कर्मचारीविरुद्ध मुद्दा दायर तथा पक्राउ गरिएको छ । नौवटा फरक–फरक कार्यालयका मालपोत कर्मचारी भ्रष्टाचार तथा ठगी मुद्दाको छानबिनमा परेका छन् । 

मालपोत कार्यालय हरिवन सर्लाहीका नायब सुब्बा वेदनिधि बराल पनि यतिवेला अख्तियारको हिरासतमा छन् । लालपुर्जा संशोधनका लागि उनले लेखापढी व्यवसायी रामसुन्दर महतोमार्फत ११ हजार रुपैयाँ घुस लिएका थिए । घुससहित दुवैलाई आयोगले पक्राउ गरेको थियो । 

२६ पुसमा ललितपुर मालपोतका तत्कालीन प्रमुखसहितका कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । धापाखेलको आठ रोपनी तीन पैसा सार्वजनिक जग्गा नापी–नक्सा तोडमोड गरी बिक्री गरेको अभियोगमा ललितपुर मालपोतका तत्कालीन प्रमुख बाबुराम खनाल, नासु दिनेश न्यौपाने र खरिदार आत्मराम लुइँटेलविरुद्ध अख्तियारद्वारा मुद्दा दायर भएको थियो ।


खोलाको जग्गा नक्सा नै तोडमोड गरी युरो हाउजिङको नाममा दर्ता गरिएको पाइएको थियो । नापी र मालपोतका कर्मचारीको यसमा मिलेमतो रहेको आयोगको दाबी थियो । 

त्यस्तै, २ पुसमा मालपोत कार्यालय तुलसीपुर दाङका कार्यालय प्रमुख नरेशकुमार खड्का, नायब सुब्बा केशवराज अधिकारी, पुष्पराज गिरी तथा कार्यालय सहयोगी मीनराज गैरेविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । उनीहरूले सुकुम्बासीलाई जग्गाको लालपुर्जा उपलब्ध गराउनका लागि तीन लाख २० हजार रुपैयाँ घुस लिएको आयोगको दाबी छ । 

यसअघि १ पुसमा मालपोत कार्यालय पर्साका प्रमखुसहितका कर्मचारी जेल चलान भएका थिए । वीरगन्जमा रहेको कमलादेवी राजभण्डारीको पाँच कट्ठा, १५ धुर नौ कन्वामा बनेको घरसहितको जग्गा किर्ते गरी धनीलाई थाहा नै नदिई जग्गा बिक्री गरेको अभियोगमा मालपोत कार्यालयका प्रमुख सुमन झा, मालपोतका कम्प्युटर अपरेटर श्रीनारायण प्रसाद जेल चलान भएका हुन् । ठगी गिरोहका नाइके केवल प्रताप जबरा आपूm राजभण्डारीको छोरा भएको भन्दै नक्कली कागजपत्र पेस गरेर जग्गा आफ्नो नाममा ल्याई अर्काे व्यक्तिलाई बेच्न खोज्दा पक्राउ परेका थिए ।    

यसैगरी, २९ मंसिरमा मालपोत कार्यालय भरतपुर चितवनका लेखा अधिकृत रिट्ठे दर्जी, लेखापाल बलराम सापकोटा तथा नायब सुब्बा मनोजकुमार निरौलाविरुद्ध आयोगले मुद्दा दायर गरेको थियो । दर्जीले चार करोड ५० लाख १३ हजार, सापकोटाले ५८ लख ४३ हजार र निरौलाले चार लाख ७१ हजार राजस्व हिनामिना गरेको आयोगले जनाएको छ । राजस्व जम्मा गरेको नक्कली भौचर पेस गरी रावस्व उनीहरूले आफ्नो खातामा जम्मा गरेका थिए । 

२४ मंसिरमा मालपोत कार्यालय दैलेखका नायब सुब्बा भुवनकेशर खनालविरुद्ध पनि मुद्दा दायर भएको थियो । उनले जग्गा नामसारी गर्दा सहजीकरण गरिदिने भन्दै लेखापढी व्यवसायी धनबहादुर बुढामार्फत पाँच हजार घुस लिएका थिए । आयोगले दुवैजनाविरुद्ध मुद्दा दायर गरेको थियो ।  


भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलको अहिले छानबिन भइरहेका धेरैजसो घटना विगतका भएको बताउँछन् । ‘एक–दुईवटा घटनाका आधारमा मालपोतमा बेथिति छ भन्न मिल्दैन,’ महानिर्देशक पौडेल भन्छन्, ‘मालपोतमा धेरै सुधार भइसकेको छ ।’ 


अख्तियारमा पर्ने उजुरीमा भूमि सुधारसम्बन्धी धेरै हुने गरेका छन् । कर्मचारी र बिचौलियाबीचको नेक्सस नै मालपोत कार्यालयको मुख्य समस्या रहेको आयोगका एक अधिकारी बताउँछन् । 

मालपोतमा पाँच सय दरबन्दी रिक्त 
मालपोत कार्यालयमा पछिल्लो समय कर्मचारीको रोजाइमा पनि छैन । देशभरिका मालपोत कार्यालयमा करिब तीन हजार दुई सय कर्मचारीको दरबन्दी रहेकोमा पाँच सय दरबन्दी रिक्त छन् । 

पाँच सयमध्ये आधाजसो अधिकृत र उपसचिवको दरबन्दी रहेको भू–व्यवस्थापन विभागका महानिर्देशक पौडेलले बताए । ‘असल नियतले काम गर्दा पनि फस्न सक्ने डरले कतिपय कर्मचारी मालपोतमा सरुवा नहुने प्रवृत्ति छ,’ महानिर्देशक पौडेल भन्छन्, ‘तर, पछिल्लो समय हामीले धेरै कर्मचारी ल्याउन सफल भएका छौँ, असल नियतले काम गर्दा पनि गल्ती भएमा त्यसमा विभागले संरक्षण गर्छ ।’ 


सेवाग्राहीको भिड हुने र दबाबमा बसेर काम गुर्नपर्ने भएकाले पनि मालपोतमा कर्मचारीको रुचि घटेको हो । अर्काेतर्फ, सरकारको काम गर्दा कर्मचारीले व्यक्तिगत रूपमा मुद्दा–मामिला लड्नुपर्ने अवस्था रहेको महानिर्देशक पौडेल बताउँछन् । ‘कुनै मालपोत अधिकृतले व्यक्तिको नाममा गएको सार्वजनिक जग्गा सरकारको नाममा ल्याउने निर्णय गर्दा त्यसविरुद्ध मुद्दा पर्छ,’ उनी भन्छन्, ‘त्यसमा कर्मचारीले आफैँ खर्च गरेर मुद्दा लड्नुपर्ने अवस्था छ, यस्ता समस्या समाधानको प्रयास भइरहेका छन् ।’ 

मालपोतविरुद्ध उजुरी पर्नासाथ प्रहरी तथा अख्तियारले पक्राउ गर्ने तथा एक कर्मचारीको गल्तीमा समग्र कर्मचारीलाई तान्ने गलत प्रवृत्ति रहेको मालपोत अधिकृतहरू बताउँछन् ।  

मालपोतको सेवा प्रवाहमा धेरै सुधार आइसकेको छ 
शेषनारायण पौडेल 
महानिर्देशक, भूमि व्यवस्थापन तथा अभिलेख विभाग 

 

एक–दुईवटा घटनालाई लिएर मालपोतमा बदमासी छ भन्न मिल्दैन । पछिल्ला वर्ष मालपोत कार्यालयमा धेरै नै सुधार भइसकेको छ ।  भौतिक पूर्वाधार, प्रविधि र सेवा प्रवाहमा हामीले धेरै सुधार गरिसकेका छौँ । देशभरि रहेका एक सय २६ मालपोत कार्यालयमध्ये एक सय आठवटा कार्यालयमा अनलाइन माध्यमद्वारा सुरु भइसकेको छ । जहाँ जग्गाको कारोबार कम्प्युटरको माध्यमबाट हुन्छ । 

४० वटा कार्यालयमा सिसिटिभी जडान गरेका छौँ । राजस्व संकलनलाई व्यवस्थित बनाएका छौँ । रोक्का तथा फुकुवाको काम पनि कम्प्युटरबाट हुने भएकाले विगतमा जस्तो धेरै समय पनि लाग्दैन । विभिन्न कार्यालयमा भू–सेवा केन्द्र स्थापना भएको छ । जहाँ निवेदनसमेत अनलाइनमार्फत दिने सिस्टम बनाएका छौँ । 

पुस महिनामा मात्र मालपोत कार्यालयले डेढ लाखलाई सेवा दिएर साढे ६ अर्ब राजस्व संकलन गरेको छ । सेवा पहिलेभन्दा धेरै सरलीकृत भएको छ । त्यसैले, एक–दुईवटा घटनालाई लिएर मालपोतमा बदमासी छ भन्न मिल्दैन । 
 

ad
ad