१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ६ मंगलबार ०६:०८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

नेपालमा पनि देखियो नयाँ प्रजातिको कोरोना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ६ मंगलबार ०६:०८:००

बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस

बेलायतमा देखिएको कोभिड–१९ को नयाँ प्रजाति युके ‘भेरियन्ट’ नेपालमा पनि देखिएको छ । बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस देखिएको हो । बेलायतबाट १ पुसमा नेपाल आएका दुई सय ७७ जनामध्ये ६ जनामा गरिएको कोरोना परीक्षणमा पजिटिभ भए पनि ‘स्पाइक’जिन नेगेटिभ देखिएको थियो ।

पिसिआरले ‘स्पाइक’ जिन फेला नपारेको तीन नमुना हङकङ पठाइएको थियो । उनीहरूमा भाइरसको जिनेटिक (आनुवांशिक) सिक्वेन्सिङ गर्दा बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस युके ‘भेरियन्ट’ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

उनीहरूमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा कोरोना नेगेटिभ भइसकेको छ भने ६७ वर्षीय पुरुषमा कोरोना पजिटिभ भए पनि कुनै लक्षण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसको अध्यनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले २७ पुसमा तीनजनाको नमुना विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ पठाइएको थियो । हङकङस्थित प्रयोगशालाले ५ माघमा इमेल गर्दै तीनजनामै युके ‘भेरियन्ट’ भाइरस भएको जनाएको हो । 

सरुवारोगविज्ञ डा. शेरबहादुर पुनका अनुसार पिसिआरमा प्रयोग हुँदै आइरहेको रिएजेन्ट (प्राइमर)ले युके ‘भेरियन्ट’को ‘स्पाइक’ जिनमा मिस म्याच हुँदा कोरोना भाइरस संक्रमित भएको व्यक्तिको नमुनामा ‘स्पाइक’ जिन अर्थात् नयाँ भाइरस देखिँदैन । नेपालमा हाल प्रयोग भइरहेका रिएजेन्टले पुरानो भाइरस पक्रने, तर नयाँ ‘भेरियन्ट’ पत्ता लगाउन ‘स्पाइक’ जिन पक्रन नसकेको चिकित्सकहरूले बताएका छन् । 

कोभिड चिकित्सक डा. अनुप बास्तोला नयाँ भाइरस देखापर्नुलाई नौलो कुरा मान्दैनन् । उनी भन्छन्, ‘युके भेरियन्टले विगतको भाइरसले भन्दा बढी सिकिस्त बनाउँछ भन्ने होइन, यो तीव्र गतिमा फैलने संक्रामक भाइरस हो । अहिले युके भेरियन्ट मात्रै होइन, साउथ अफ्रिकन भेरियन्ट र ब्राजिल भेरियन्टसमेत देखिएका छन् । नयाँ कोरोना भाइरस देखिँदैमा आत्तिनुपर्ने स्थिति होइन ।’