मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ पौष २९ बुधबार ०९:२०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लिदीका पहिरोपीडितको गुनासो : चीनले दिएको टेन्ट र न्यानो कपडा स्टोरमा थन्क्याइयो

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ पौष २९ बुधबार ०९:२०:००

भोटेसेलाङको सेपिलो जमिन बाँसखर्क, जहाँ लिदीका पहिरोपीडित ६ महिनादेखि आफ्नो थातथलो छोडेर सरकारी सहयोगको प्रतीक्षामा बसिरहेका छन् । तर, उनीहरूले स्थायी बस्तीको व्यवस्थापन त परको कुरो, छिमेकी देश चीनले दिएको सहयोगसमेत पाएका छैनन् । उनीहरूका लागि चीन सरकारले दिएको टेन्ट र न्यानो कपडा गाउँपालिकाको स्टोरमा थन्क्याएर राखिएको छ ।

लेकाली भेगमा मंसिर अन्तिमदेखि नै हिउँ र तुसारो पर्न थाल्छ । पुस महिना पूरै जाडोले कठ्यांग्रिएर बिताएका लिदीवासीलाई रुघाखोकीले सताएको छ । मित्रराष्ट्र चीनले सभामुख अग्निप्रसाद सापकोटामार्फत ३ पुसमा बाढीपहिरोपीडितका लागि टेन्ट र ओढ्ने कपडा दिएको थियो । चीनले दिएको सहयोग बर्खामा प्राकृतिक विपत्तिले सताएको चार स्थानीय तह भोटेकोसी, बाह्रबिसे, जुगल र चौतारा साँगाचोकगढीलाई प्रदान गरिएको थियो । 

जुगल गाउँपालिकालाई ८० थान बाक्लो टेन्ट र ७० थान ओढ्ने न्यानो कपडा पठाइएको थियो । टेन्ट बाक्लो र विशेष खालको भएकाले पुस–माघको तुसारोमा पनि बस्न सहज हुन्छ । जाडोले थर्थरी कामेर पीडित स्थानीय बिरामी पर्दासमेत टेन्ट र ओढ्ने आजसम्म बाँसखर्क पुगेको छैन । ‘जाडोले बिरामी पर्दा कसैले हेरेनन्,’ पीडित साहिला दोङले भने ।

चीन सरकारले दिएको सहयोग नपाएको उनले सुनाए । जिल्ला प्रशासन कार्यालयले ६ महिनाअघि दिएको पुरानो टेन्टमा पीडितको दिनरात जाग्राम बसेर बितिरहेको छ । पुरानो चिनियाँ टेन्ट भूकम्पको वेला प्राप्त भएका थिए । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ ओली नेकपाको केन्द्रीय सदस्यसमेत हुन् ।

पार्टी विभाजनपछि राजनीतिक कार्यक्रममा व्यस्त हुने गरेकाले उक्त सहयोग पीडितसम्म नपुगेको स्थानीय बताउँछन् । अन्य तीन स्थानीय तहले अत्यावश्यक पीडितलाई वितरण गरेर बाँकी सामग्री आपत्कालीन समयका लागि भन्दै स्टोर गरिएको जनाएका छन् ।