मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७७ पौष २८ मंगलबार १३:५०:००
Read Time : > 3 मिनेट
फिचर

वुहानका कोरोना संक्रमितमा निको भएको ६ महिनापछिसम्म असर : अध्ययन

Read Time : > 3 मिनेट
एजेन्सी
२०७७ पौष २८ मंगलबार १३:५०:००

कोरोना भाइरस (कोभिड– १९) संक्रमणपछि अस्पताल भर्ना भएका धेरै बिरामीले अझै पनि अनेक समस्या व्यहोर्नुपरेको बताएका छन् । उनीहरूले थकान महसुस हुनु, निद्रा नलाग्नेजस्ता समस्या हुने गरेको बताएका छन् । यस्ता समस्या कोरोना संक्रमण निको भएको ६ महिनापछिसम्म पनि देखिएको एक अध्ययनले देखाएको छ ।

यो अध्ययन कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको वुहान सहरमा गरिएको हो । कोरोना भाइरस संक्रमण देखिएको र निको भएर घर फर्किएका १७ सय बिरामीमा गरिएको अनुसन्धानमा ७६ प्रतिशतले निको भएको महिनौँसम्म पनि विभिन्न स्वास्थ्य समस्या देखिएको जवाफ दिएका छन् ।

अध्ययनले संक्रमण निको भइसकेपछि पनि यसले लामो समयसम्म असर देखिन सक्ने तथ्य देखाएको छ । कोरोना भाइरसबाट हालसम्म विश्वभरि ९० मिलियन मान्छे संक्रमित भइसकेका छन् । यी व्यक्तिहरूमध्ये धेरैमा लामो समयसम्म यस्ता समस्या देखिन सक्छ । 

कोरोना भाइरसबारे गरिएको अहिलेसम्मकै ठूलो यो अध्ययन शुक्रबार द लान्सेन्ट मेडिकल जर्मलमा प्रकाशित भएको हो । अध्ययनमा समेटिएका व्यक्तिहरूमध्ये ६३ प्रतिशतमा थकान महसुस हुने समस्या देखिएको छ भने २६ प्रतिशतमा निदाउन समस्या हुने देखिएको छ । 

यो अध्ययन अनुसन्धानले संक्रमणले अरू मानसिक समस्यासमेत थप्न सक्ने देखाएको छ । अध्ययनमा एन्जाइटी र डिप्रेसनजस्ता मानसिक समस्या देखिन सक्ने औँल्याएको छ । अध्ययनमा सहभागी १७ सयमध्ये २३ प्रतिशतले एन्जाइटी र डिप्रेसनजस्ता मानसिक समस्या लामो समयसम्म देखिएको जनाएका छन् । 

अनुसन्धानकर्ताहरूका अनुसार संक्रमणका कारण लामो समयसम्म बिरामी भएकाहरूमा फोक्सो खराब हुने सम्भावना देखिएको छ । ‘कोभिड– १९ नयाँ रोग भएकाले यसले लामो समयसम्म पार्ने असरबारे हामी भर्खरै जान्दै छौँ,’ अनुसन्धान टोलीको नेतृत्व गरेका चाइना–जापान फ्रेन्डसिप हस्पिटल र क्यापिटल मेडिकल युनिभर्सिटीका डा. बिन काओले भनेका छन्, ‘हाम्रो अनुसन्धानले संक्रमित बिरामीले निको भएर अस्पताल छाडिसकेपछि पनि भाइरसको कुनै न कुनै असरसँगै जीवन जिउनुपरेको छ । यसले संक्रमण निको भइसकेपछि पनि उनीहरूको ख्याल गर्न आवश्यक देखाएको छ । संक्रमणबाट गम्भीर बिरामी परेर पनि निको भएकाहरूलाई अझ धेरै हेरचाह गर्न आवश्यक पर्छ । थप धेरै जानकारीका लागि अझ ठूलो स्तरमा यस्तो अनुसन्धान गर्न आवश्यक देखिएकोे छ ।’

कोभिड– १९ ले लामो अवधिसम्म पार्ने स्वास्थ्य असर 
कोरोना भाइरस संक्रमित भएको व्यक्तिमा लामो अवधिका लागि कस्तो किसिको असर पार्न सक्छ भन्ने विषयमा अनुसन्धानकर्ताहरूले खोज गरिरहेका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले थकान, सास छिटो हुनु, खोकी, जोर्नी दुख्नु र छाती दुख्नुलाई संक्रमणपछि लामो अवधिसम्म देखिने असरको रूपमा सूचीकृत गरेको छ । यस्तै, सोच्न र कुनै कुरामा ध्यान लगाउन मुस्किल हुनेजस्ता समस्या पनि देखिएका छन् ।

‘धेरै मान्छे जो संक्रमणमुक्त हुन्छन् र सामान्य अवस्थामा फर्कने प्रयास गर्छन्, केहीमा त्यसको प्रभाव देखिन्छ । यस्ता प्रभाव केही साता वा महिनौँसम्म देखिन सक्छ । अस्पताल भर्ना नभएका संक्रमित व्यक्तिमा पनि यस्ताखाले समस्या देखिन सक्छ,’ सिडिसीले जनाएको छ ।

गत अगस्टमा ब्रिटिस मेडिकल जर्नलमा छापिएको एउटा अनुसन्धान रिपोर्टमा १० प्रतिशत व्यक्तिमा निको भइसकेपछि पनि यस्ता खालका समस्या देखिन सक्ने जनाइएको थियो । यस्ता लक्षण १२ सातासम्म रहन सक्छ ।

यद्यपि, चीनमा गरिएको पछिल्लो अध्ययन गत अगस्टमा ब्रिटिस मेडिकल जर्नलमा छापिएकोभन्दा पनि ठूलो हो । अस्पतालबाट निको भएर घर फर्किएकाहरूमा लामो समय गरिएको अनुसन्धान हो । अध्ययनमा सहभागी सबै बिरामी गत ७ जनवरीदेखि २९ मे २०२० मा अस्पतालबाट घर फर्किएका हुन् । उनीहरू सबैको उहानस्थित जिन्विन्तान अस्पतालमा उपचार भएको थियो । जहाँ पहिलोपटक कोरोना भाइरस देखिएको थियो र पहिलो संक्रमितको उपचार गरिएको थियो ।

समग्रमा यो अध्ययनमा उक्त अवधिमा अस्पतालबाट डिस्चार्ज भएका बिरामीमध्ये ७० प्रतिशत सहभागी भएका छन् । मृत्यु भएका, अनुसन्धानमा सहभागी हुन नचाहने र कमजोर स्वास्थ्य अवस्थामा रहेकाहरू यो अध्ययनमा समावेश भएका छैनन् ।

अनुसन्धानमा सहभागी सबै व्यक्तिलाई विभिन्न चरणमा प्रश्नमार्फत कोभिड– १९ को असरबारे सोधिएको थियो । उनीहरूको शारीरिक परीक्षण गरिएको थियो । उनीहरूलाई ६ मिनेट हिँड्न लगाएर परीक्षण गरिएको थियो । साथै, उनीहरूको ब्लड टेस्ट पनि गरिएको थियो ।

दुर्भाग्यवश १३ प्रतिशतमा मिर्गाैलासम्बन्धी पनि समस्या देखिएको छ । कोरोना भाइरस संक्रमण देखिनुभन्दा पहिले मिर्गाैलासम्बन्धी खासै समस्या नभएका उनीहरूमा अहिले देखिएको छ ।

चीनमा संक्रमण फेरि फैलँदै
वुहानमा केही समय धेरै छिटो संक्रमण फैलियो । चीनले त्यति नै छिटो संक्रमण नियन्त्रणमा लियो । देशको अरू क्षेत्रमा पनि चीनले भाइरसलाई फैलन दिएन । तर, पछिल्लो समय उत्तरी प्रान्त हुबेईमा भने संक्रमण बढ्दो अवस्थामा देखिन थालेको छ । चिनियाँ नयाँ वर्ष लुनार सुरु हुनै लाग्दा राजधानी बेइजिङलाई घेर्ने यो प्राप्तमा देखिएको संक्रमणले चीनलाई तनाव थपेको छ ।

हुबेईमा गत साता मात्रै ठूलो संख्यामा परीक्षण गरिएको थियो । त्यहाँ एकैपटक १३ मिलियन मान्छेमा संक्रमण परीक्षण गरिएको थियो, जसमा तीन सय ६४ व्यक्तिमा संक्रमण देखिएको थियो । उनीहरूलाई आइसोलेसनमा राखिएको छ । 

हुबेईको राजधानी तथा अहिलेको इपिसेन्टर सिजिएझुयाङसहित सिङटाईमा गत साता लकडाउन घोषणा गरिएको थियो । स्थानीयलाई सहरबाट बाहिर जान निषेध गरिएको थियो । सडक सञ्जाल बन्द गरिएको थियो । रेल र हवाई सेवा बन्द गरिएको थियो ।

सहरभित्र सार्वजनिक यातायात र विद्यालय बन्द गरिएका थिए । स्थानीय सबैलाई घरभित्र बस्न भनिएको थियो । आइतबार मात्रै हुबेई प्रान्तमा स्थानीय तहबाट सरेको नयाँ ८२ संक्रमण भेटिएको थियो । त्यसमध्ये ७७ राजधानी सिजिएझुयाङ र पाँच झिन्ताईमा भेटिएको थियो ।

उत्तरी चीनमा समुदायस्तरमा पनि धेरै संक्रमण भेटिएका छन् । राजधानी बेइजिङ र लिअनिङ र हेइलोङजियाङलगायत प्रान्तमा पनि संक्रमण देखिएका छन् ।