१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २७ सोमबार १६:२३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोनाको खोप खरिद पारदर्शी र वितरण न्यायपूर्ण हुन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २७ सोमबार १६:२३:००

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने भन्दै आश्वस्त पार्न खोजेका छन् । 

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका हुन् । 

खरिद र वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको बताए । 

खोप आयात भएको सात दिनभित्रमा वितरण सुरु भइसक्ने पनि उनको भनाइ छ । 

खोप कार्यक्रमका लागि अहिले सञ्चालनमा रहेका करिब १६ हजार खोप केन्द्रहरूलाई परिचालन गरिने उनले बताए । 

यस्तै पाँच हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरिने पनि उनले जानकारी दिए । 

उनले भने, ‘खोप आउँछ । निश्चित रूपले हामी समयमै लगाउँछौँ र यो अभियानको रूपमा जान्छ । न्यायपूर्ण ढंगले यसको वितरण हुन्छ । त्यसका अरू तयारीहरू भइसकेको अवस्था छ । करिब १६ हजार खोप केन्द्रहरू सञ्चालनमा रहेका छन्, तिनलाई परिचालन गरिनेछ । यस कार्यक्रममा खट्नका लागि करिब पाँच हजार कर्मचारी छन् र ५२ हजार महिला स्वंयसेविका परिचालन गर्ने अवस्था हामीसँग छ । भण्डारण हामीसँग पुग्दो छ । ढुवानीका लागि पनि सुनिश्चित अवस्थामा पुऱ्याइसकेका छौँ ।’

खोपको प्राप्ति अन्य व्यावसायिक वस्तुको प्राप्तिजस्तो नभई राजनीतिक वस्तुको रूपमा देखापरेकाले आपूर्तिमा समस्या भएको पनि बताए । तैपनि सरकारले खोप आयातका लागि राजनीतिक पहल गरिरहेको उनको भनाइ छ । 

निजी क्षेत्रलाई पनि खरिद प्रक्रियाबाट टाढा राख्न नचाहेको मन्त्री त्रिपाठीले स्पष्ट पारे । पहिले सरकार–सरकारबीच खरिद प्रक्रिया अगाडि बढाउने र त्यसपछि निजी क्षेत्रबाट समेत ल्याउन पहल गर्ने बताए । 

खोपको वितरण सबैभन्दा पहिला मुख्य जोखिममा रहेका स्वास्थ्यकर्मीलगायत अग्रपंक्तिमा रहेका व्यक्तिलाई, ५५ वर्ष उमेरमाथिका र दीर्घरोगीहरूका लागि उपलब्ध गराइने उनले जानकारी दिए ।

उनले भने, ‘मुख्य जोखिममा रहेका जनसंख्या तीन प्रतिशत स्वास्थ्यकर्मीलगायत अग्रपंक्तिमा कार्यरत व्यक्तिहरूलाई, ५५ वर्ष उमेरमाथिका र दीर्घरोगीहरूको लागि र अर्को २० प्रतिशत जनसंख्यामा यस विषयमा तथ्यांक संकलन गर्ने कुरा केही पूरा भएको छ भने केही लिने प्रक्रियामा छौँ । कानुनी जटिलता समाप्त भइसकेको अवस्था छ । आर्थिक रूपले अर्थ मन्त्रालयले रकम सुनिश्चित गरिसकेको अवस्था छ ।’

नेपालमा छिमेकी राष्ट्रमा भन्दा धेरै पछाडि खोप लगाउनुपर्ने अवस्था नआउने पनि मन्त्री त्रिपाठीले दाबी गरे । 

खोपको खरिद प्रक्रियामा जे–जति आशंका देखिएका छन् त्यसलाई झुटो साबित गर्ने पनि उनको भनाइ छ । 

रुस, भारत र युएईका राजदूतहरूसँग खोप ल्याउने सम्बन्धमा कुरा गरिसकेको र खोप उत्पादन गर्ने अन्य मुलुकहरूसँग पनि राजनीतिक पहल भइरहेको उनले बताए ।