१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ पौष २१ मंगलबार १०:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वृद्धालाई निकालियो ज्येष्ठ नागरिक आश्रमबाट

Read Time : < 1 मिनेट
२०७७ पौष २१ मंगलबार १०:३३:००

म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालिएको घटना बाहिर आएको छ । लामो समयदेखि आश्रममा बस्दै आएकी पर्वतको जलजला गाउँपालिका– ७ की ७९ वर्षीया पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो । 

आश्रमबाट निकालिएपछि विगत एक सातादेखि गलेश्वरमा चिनेजानेकाको शरणमा पुगेकी पौडेलले सोमबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई मौखिक गुनासो गरेकी छिन् । आश्रममा आफू बस्दै आएको कोठाबाट आश्रम व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर केसीको निर्देशनमा समितिका केही व्यक्तिले निकालेको वृद्धाले प्रजिअसमक्ष गुनासो पोखिन् । 
 
‘म बिरामी भएर थलिएकी छु, उहाँहरूले आश्रमबाट पटकपटक निक्लिएर जा भनेर दबाब दिनुभयो, म कहाँ जाने, कुनै ठाउँ थिएन, केही दिन चिनेजानेकाको शरणमा परेँ, अति भएपछि न्याय पाउँछु कि भनेर हजुरसमक्ष आएकी हुँ,’ प्रजिअसमक्ष पौडेलले रुँदै भनिन् । आफन्त र संरक्षकसमेत नभएकी पौडेलले गलेश्वर ज्येष्ठ नागरिक आश्रममा बस्ने र निःशुल्क खाने गर्दै आएकी थिइन् । 
 
केही समयदेखि बिरामी भएपछि शरीर काँप्ने समस्याले आश्रममै आराम गरेर बस्दै आए पनि त्यहाँ कार्यरत केही कर्मचारीले अध्यक्षले आश्रममा नराख्न भनेको र निस्कन बारम्बार दबाब दिएपछि आफूलाई आश्रमबाट निकालिएको पौडेलको गुनासो छ । वृद्धा पौडेलको गुनासो सुनेलगत्तै प्रजिअ अधिकारीले आश्रमका अध्यक्ष केसीलाई फोन सम्पर्क गरेका थियो ।

सो क्रममा प्रजिअ अधिकारीले अध्यक्ष केसीलाई कुनै पनि बहानामा वृद्धालाई आश्रमबाट निकाल्नेजस्तो गैरजिम्मेवार काम नगर्न सचेत गराउँदै निष्कासन गरिएकी वृद्धालाई तत्काल उचित बसोवासको प्रबन्ध मिलाउन निर्देशन दिएका थिए । रासस