मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष २० सोमबार २०:१४:००
Read Time : > 5 मिनेट
फिचर

बलिउडले २०२० मा गुमाएका हस्ती

Read Time : > 5 मिनेट
२०७७ पौष २० सोमबार २०:१४:००

सन् २०२० मा कोरोना भाइरसले सबै क्षेत्रमा असर ग¥यो । हलिउडपछि सबैभन्दा धेरै आर्थिक कारोबार हुने बलिउड क्षेत्र पनि कोरोनाबाट प्रभावित बन्यो । ठूला लगानीका सिनेमा रिलिज नै भएनन् । कोरोनाले अस्तव्यस्त बनिरहेको बलिउडमा सोहीबीच केही चर्चित हस्तीहरूले पनि संसार छाडे । यसले बलिउडलाई झनै स्तब्ध तुल्यायो । 

इरफान खान
पद्म श्री सम्मानद्वारा विभूषित अभिनेता इरफान खान बलिउड उद्योगका निकै राम्रा कलाकरमध्ये थिए । सन् १९९८ मा इरफानले ‘सलाम बम्बे’बाट बलिउडको यात्रा सुरु गरेका थए । बलिउड तथा हलिउडमा समेत स्थापित हुने थोरै भारतीय कलाकारमध्ये उनी पनि हुन् । युवा कलाकार इरफानको अभिनयबाट प्रभावित नहुने सायदै कोही होलान् । स्टेज, बलिउड तथा हलिउडमा राम्रो पकड जमाएका इरफानलाई सन् २०१८ सालमा एउटा रोग लाग्यो । यही रोगले इरफानको इहलीला समाप्त पा¥यो । 

उनलाई न्युरोएन्डोकिन ट्युमर भएको थियो । यो ट्युमर थोरै मानिसलाई मात्रै लाग्छ । इरफानले करिब एक वर्ष लन्डनमै बसेर पनि उपचार गरे । त्यहाँबाट फर्केपछि उनले ‘अंग्रेजी मिडियम’ सिनेमामा काम गरे । अप्रिल २०२० मा कोलन इन्फेक्सनका कारण उनलाई अस्पताल भर्ना गरियो । अस्पताल भर्ना भएको दोस्रो दिन अर्थात २९ अप्रिलमै निधन भयो ।  चार दिनअघि मात्र इरफानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो । 

ऋषि कपुर
२९ अप्रिलमा अभिनेता इरफानको निधनको समाचारले स्तब्ध भएकोे बलिउडले भोलिपल्टै अर्को अप्रत्याशित खबर सुन्नुपऱ्याे । चर्चित अभिनेता ऋषि कपुरको ३० अप्रिल २०२० मा क्यान्सर रोगबाट निधन भयो । सन् २०१८ मा ऋषि कपुरलाई ल्युमेमिया डिटेक्ट रोग लागेको थियो । दुई वर्ष न्युयोर्कमा उपचार गरी फर्केका ऋषि कपुरले त्यसपछि स्वास्थ्य राम्रो भएको बताएका थिए । 

२९ अप्रिलमा हल्का श्वास–प्रश्वासमा समस्या आएपछि उनलाई तत्कालै अस्पतालमा भर्ना गरिएको थियो । ६७ वर्षको उमेरमा उनको निधन भयो । बलिउडमा रोमान्टिक हिरोको भूमिका र सिनेमा स्थापित गराउनमा ऋषि कपुरको भूमिका अहं मानिन्छ । सन् १९७३ मा ‘बबी’ सिनेमाबाट बलिउडमा पाइला राखेका ऋषि कपुरले सन् ०१२ मा नकारात्मक भूमिकाका रूपमा ‘अग्निपथ’मा खेलेका थिए । आफ्नो पहिलो सिनेमा ‘बबी’बाट उनले ‘फिल्म फेयर अवार्ड’समेत जितेका थिए । 

वाजिद खान
१ जुन २०२० मा चर्चित संगीतकार वाजिद खानको हृदयाघातबाट निधन भयो । ४८ वर्षीय वाजिदले सलमान खानको धेरै हिट फिल्ममा संगीत भरेका छन् । सन् १९९८ मा सलमान खानद्वारा अभिनीत ‘प्यार किया तो डरना क्या’बाट वाजिदले बलिउडमा सांगीतिक यात्रा गरेका थिए । ठूलो दाजु साजिद खानसँग मिलेर उनले सोनु निगमको म्युजिक एल्बम ‘दिवाना’मा समेत काम गरेका थिए । साजिद–वाजिदले संयुक्त रूपमा तेरे नाम, दबंग, राउडी राठौर र एक था टाइगरमा काम गरेका थिए । 

सुशान्तसिंह राजपुत
गत वर्ष नै बलिउडका उदीयमान अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका थिए । बलिउडमा शाहरुख खानपछि टेलिभिजनबाट ठूलो पर्दामा स्थापित हुने कलाकारमा सुशान्तसिंह पनि पर्छन् । युवा समर्थक माझ अति नै लोकप्रिय भइसकेका सुशान्तसिंह आफ्नै अपार्टमेन्टमा झुन्डिएको अवस्थामा फेला परे । 

सुशान्तसिंहको निधनपछि बलिउडमा एउटा प्रश्न उठ्यो, ‘नातावादले बलिउड घेरिएको छ ।’ बलिउडमा तीन खानबाहेक अरूलाई स्थापित नै गराउन नदिने र नाता परेका कलाकारलाई ठूलो बजेटको फ्लिम दिनेजस्ता घटना बाहिर यसपछि बाहिरिए । धेरैजसो पीडित कलाकारहरूले यस मुद्दामा आवाज उठाए । 

१४ जुन २०२० मा ३४ वर्षको उमरेमै आत्महत्या गरेका सुशान्तसिंहकी सानी बहिनीले दाजुको आत्महत्या नभएर हत्या भएको रिपोर्ट गरिन् । यो रिपोर्टसँगै बलिउडमा अर्को सनसनी फैलियो । मुम्बई प्रहरीले यसको प्रारम्भिक अनुसन्धान गऱ्याे । त्यसपछि यो मुद्दा सिबिआईसमक्ष पुग्यो । अनुसन्धानमा सुशान्तले लामो समयदेखि लागुऔषध सेवन गरेको देखिएको थियो । सुशान्तकै निधनपछि बलिउडमा लागुऔषध सेवनको मुद्दा फेरि उठेको छ । एम्सले सुशान्तको निधन आत्महत्या नै भनेको छ । सुशान्तले अभियन गरेको ‘छिछोरे’ आत्महत्या नै अन्तिम विकल्प नभएको सन्देश दिने सिनेमा थियो । यस्तो सन्देश दिने सिनेमामा अभिनय गरेका सुशान्तले बलिउडमा भविष्य अँध्यारो देखेपछि आत्महत्या रोजेको हुन सक्ने धेरैको अनुमान छ । बलिउडमा ‘एमएस धोनी द अनटोल्ड स्टोरी’बाट उनी स्थापित भएका हुन् । सुशान्तको मृत्युपछि ‘दिल बेचार’ रिलिज भएको थियो । युवा पुस्तामा खुवै मन पराएका नायक सुशान्तको अन्तिम सिनेमा पनि सबैले मन पराए ।

सरोज खान
बलिउड फ्लिम उद्योगमा सरोज खानलाई पहिलो महिला कोरियोग्राफरका रूपमा चिनिन्छ । ३ जुलाई २०२० मा हट हृदयाघातका कारण सरोजको निधन भएको थियो । उनको निधनसँगै बलिउडमा एक बहुप्रतिभाशाली कोरियोग्राफरको अभाव खड्किएको महसुस गरिएको छ । ७२ वर्षीया सरोजले केवल तीन वर्षको उमेरमै बलिउडमा बालकलाकारको रूपमा प्रवेश पाएकी थिइन् । ६८ वर्षको बलिउडयात्रामा उनले चर्चित नायक तथा नायिकासँग काम गरिन् ।

यसक्रममा माधुरी दीक्षित, श्रीदेवी, ऐश्वर्या राय बच्चन, करिना कपुर, सलमान खान तथा शाहरुख खानलाई सिनेमामा उनले नचाइन् । माधुरीले बलिउड उद्योगमा सरोजलाई नृत्य विधामा पहिलो गुरु नै मान्छिन् । बलिउडमा सरोजलाई सम्मानका साथ ‘मास्टरजी’ भन्ने गरिन्छ । सरोजले यही पेसाबाट तीनपटक राष्ट्रिय पुरस्कार लिइन् । 

एसपी बालासुब्रमन्यम
कोरोना भाइरस संक्रमणबाट दक्षिण भारत तथा बलिउडकै स्थापित गायक एसपी बालसुब्रमन्यमको निधन २० सेप्टेम्बर २०२० मा भयो । अस्पतालमा उपचार गर्नुअघिसम्म पनि उनले आफूलाई केही नभएको र छिटै काममा फर्कने आश्वासन दिएका थिए । तर, कोरोना भाइरसले निकै च्यापिसकेका कारण उनी पुनः काममा फर्कन पाएनन् । 

संगीतिक क्षेत्रमा फरक स्थान बनाएका बालासुब्रमन्यमले ४० हजारभन्दा बढी गीत गाएका छन् । उनले तमिल, तेलेगु, कन्नड र हिन्दी भाषामा मिठो स्वर दिएका छन् । 

कुनै समय सलमान खानले अभिनय गरेका अधिकांश सिनेमामा बालासुब्रमन्यकै स्वर हुने गथ्र्यो । बलिउडमा सलमानलाई उनको स्वर निकै सुहाएको मानिन्छ । बालासुब्रमन्यमले ६ पटक राष्ट्रिय पुरस्कार जितेका छन् । मैने प्यार किया र हम आपके है कौनका सुपरहिट गीतमा उनकै स्वर थियो । 

जगदीप जाफरी
बलिउडको सुपरहिट सिनेमा ‘सोले’ सायदै कसैले भुलेका होलान् । यस सिनेमालाई मास्टर पिस पनि भनिन्छ । सोलेमा सबै कलाकारले एक से एक काम गरेका थिए । यस सिनेमामा ‘सुरमा भुपाली’ क्यारेक्टर निर्वाह गरेका जगदीप जाफरीको पनि गत वर्ष नै निधन भयो । हास्य विधामा प्रख्यात यी कलाकारको ८ जुलाई २०२० मा निधन भएको थियो । ७० वर्षसम्म बलिउडमा जादुमयी हास्य कलाकारिता देखाएका जगदीपले चार सय सिनेमामा अभिनय गरेका छन् । 

पण्डित जसराज
संगीत क्षेत्रमा मेवात घरानासँग नाता राख्ने महसुर गायक पण्डित जसराजको निधन अमेरिकामा १७ अगस्ट २०२० मा भएको थियो । पद्म भूषणबाट सम्मानित जसराजको निधन हृदयाघातबाट भएको थियो । ९० वर्षसम्म पनि उनी संगीत क्षेत्रमै सक्रिय थिए । उनको एउटा बानी यस्तो थियो, ६ महिना अमेरिका र ६ महिना भारतमा बस्ने । 
लकडाउनको समयमा अमेरिका पुगेका थिए । यही वेला उनको निधन भयो । निधनपछि उनको शव मुम्बई ल्याउन धेरै समय लागेको थियो । भारत सरकारले पण्डित जसराजलाई २१ तोपको सलामी दिँदै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरेको थियो । सानै उमेरमा राष्ट्रिय संगीत क्षेत्रमा लोभिएका जसराजले जीवनभर नै यसलाई पछ्याए । 

राहत इन्दौरी
कोरोना भाइरसका कारण उर्दू कवि तथा बलिउडका गीतकार राहत इन्दौरीको निधन ११ अगस्ट २०२० मा भयो । नूतन स्कुलबाट शिक्षित राहतले बरकतुल्लाह विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थिए । उनले करिअरमा ४०–५० वर्ष कवि सम्मेलनमै उर्दू कविता सुनाए । युवा, वयस्क तथा पाका उमेरअनुसार कविता भन्ने र लेख्न रुचाउने राहतले मर्डर, याराना, मुन्नाभाइ एमबिबिएस, मिसन कस्मिरजस्तो फ्लिममा गीत लेखेका थिए । 

वासु चटर्जी
९२ वर्षको उमेरमा चर्चित निर्देशक वासु चटर्जीले ४ जुन २०२० मा अन्तिम सास लिए । दुईपटक राष्ट्रिय पुरस्कार विजेता वासुले ७० र ८० को दशकमा बलिउडमा मध्यमवर्गीय आधारित थुप्रै चलचित्र बनाएका थिए । जसमा रजनी गन्धा, पियाका घर, चितचोर, चमेलीकी सादी र अपने परायेजस्ता फ्लिम समावेश छन् । 

कुमकुम
५० र ६० को दशकमा कुमकुमको अभिनयबाट सबै प्रभावित भएका थिए । बलिउडका राम्रा निर्देशकमध्येका एक गुरु दत्तले कुमकुमलाई यस क्षेत्रमा ल्याएका थिए । २८ जुलाई २०२० मा कुमकुमको निधन ८६ वर्षको उमेरमा मुम्बईमा भयो । कुमकुमको निधनको समाचार जगदीप जाफरीका कान्छो छोरा नावेदले सामाजिक सञ्जालमार्फत दिएका थिए । 

फराज खान
९० को दशकको सुपरहिट सिनेमा ‘मैने प्यार किया’मा अभिनेता फराज खानलाई मुख्य भूमिका निर्वाह दिने पक्का भएको थियो । तर, सुटिङको क्रममा उनी निकै बिरामी भए । त्यसपछि सलमान खानलाई उनको स्थानमा राखिएको थियो । जसले सलमानको करिअरमै टर्निङ प्वाइन्टको रूपमा काम ग¥यो । फराजले पछि विक्रम भट्टको निर्देशनमा बनेको ‘फरेब’मा अवसर पाए । यसै फ्लिमबाट उनले बलिउडको यात्रा सुरु गरे । 

फराजले रानी मुखर्जीसँग ‘मेहन्दी’मा काम गरेका थिए । लगातार सात सिनेमामा नायकका रूपमा फ्लप भएपछि फराज बिस्तारै बलिउडबाट पाखा लागे । त्यसपछि उनले आफ्नो करिअर टिभी सिरियलमा सुरु गरे । अगस्ट २०२० मा उपचारकै क्रममा उनको निधन भयो । 
–एजेन्सीको सहयोगमा