Skip This
केजरिवाल दशककै सबैभन्दा ठूला राजनीतिज्ञ हुन्
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १६ बिहीबार
  • Saturday, 27 July, 2024
रुही तिवारी
२o७७ पौष १६ बिहीबार o९:o९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

केजरिवाल दशककै सबैभन्दा ठूला राजनीतिज्ञ हुन्

Read Time : > 2 मिनेट
रुही तिवारी
नयाँ पत्रिका
२o७७ पौष १६ बिहीबार o९:o९:oo

उथलपुथलपूर्ण दशक समाप्त हुँदै गर्दा अरविन्द केजरिवाल वर्तमान समयका सबैभन्दा महत्वपूर्ण राजनीतिक आख्यान हुन्

गत दशकको सबैभन्दा ठूलो राजनीतिक घटना न नरेन्द्र मोदीको शक्तिशाली उदय हो, न त कंग्रेस पार्टीको पतन नै, न राहुल गान्धीको निरन्तर असफलता हो, न त समाजवादी पार्टी र बसपा वा शिवसेना तथा कंग्रेस–एनसिपीजस्ता घोर शत्रुको अप्रत्याशित मिलन । उथलपुथलपूर्ण यो दशक समाप्त हुँदै गर्दा अरविन्द केजरिवाल यो समयका सबैभन्दा महत्वपूर्ण र बिलकुलै नयाँ राजनीतिक आख्यानका रूपमा उदाएका छन् । भारतीय राजस्व सेवाका अधिकारी हुँदै नागरिक समाजका कार्यकर्ता बनेका केजरिवालको कथा त्यस्तो छ, जुन भारतीय राजनीतिमा यसभन्दा पहिले कहिल्यै पनि सुनिएको थिएन । कुनै राजनीतिक आधार, कुनै निर्वाचन अथवा भूगोलको राजनीतिक अनुभव नहुँदा–नहुँदै पनि र कुनै स्थापित संगठनसँग नजोडिएर पनि केजरिवालले अप्रत्याशित प्रदर्शन गरे ।

पहिलो निर्वाचनमै उनले दिल्लीको मुख्यमन्त्रीको कुर्सी कब्जा गरे । त्यसपछि भएको दुइटा विधानसभा निर्वाचनमा उनको उपस्थिति झनै बलियो भएको छ । आम आदमी पार्टी (आप)का प्रमुख केजरिवालले कुनै कुनै कुइनेटामा कमजोरी पनि गरेका होलान् । उनी कुनै विचारधारा या सुसंगत सिद्धान्तसँग भलै नजोडिएका हुन् र कैयौँपटक हैरान पार्ने खालको अपरिपक्वता र प्रशासनिक अनुभवहीनाको भलै परिचय दिएका हुन्, तर उनी ती नगण्य दुर्लभ नेतामध्ये पर्छन्, जसले नरेन्द्र मोदी र अमित शाहको कालमा पनि आफ्नो धरातल बचाएर राखेका छन् । यो त्यति वेला झनै महत्वपूर्ण हुन जान्छ, जति वेला उनी बिलकुलै नयाँ हुन् भन्ने आभास हुन्छ । आफ्नी सहकर्मी नीरा मजुमदारको शब्दमा भन्ने हो भने केजरिवालको उत्कर्ष रातारात उकेरिएको कुनै चामत्कारिक तस्बिरभन्दा कम छैन ।

यसमा कुनै आशंका व्यक्त गर्नु पर्दैन कि मूलधारको राजनीतिमा पहिले पनि यस्ता कैयौँ गैरराजनीतिक व्यक्तित्वले पाइला टेकिसकेका छन्, जसमा सरकारी अधिकारी पनि सामेल छन् । तर, यिनीहरूमध्ये अधिकांशले पहिलेदेखि नै स्थापित कुनै न कुनै राजनीतिक दलबाट राजनीतिमा पाइला चालेका थिए । तर, कसैले पनि केजरिवालले जस्तो तीव्र सफलता हात पार्न सकेनन् । केजरिवाल भारतीय राजनीतिमा चाउचाउजस्तै हुन्– तत्कालै तयार गर्न सकिने । 

केजरिवालको उदय भारतीय राजनीतिक इतिहासमा पछिल्लो दशककै सबैभन्दा ठूलो सफलताको चाखलाग्दो र आकर्षक कथा हो, यसलाई नदेखेझैँ गर्न मिल्दैन

यो दशक नै एक्सनहरूले भरिपूर्ण रह्यो, जसमा पट्यारलाग्दा क्षण निकै कम देख्न पाइए । यसमा सबैभन्दा ठूलो ऐतिहासिक खालको घटना थियो– राष्ट्रिय मञ्चमा नरेन्द्र मोदीको लहलहाउँदो उदय र भारतीय मतदाताबीच उनको अभूतपूर्व लोकप्रियता । अभूतपूर्व यसकारण कि इन्दिरा गान्धी विनासंकोच सबैभन्दा लोकप्रिय नेता रहिन्, तर उनलाई चुनौती दिने राजनीतिक पार्टीहरू त्यति धेरै थिएनन्, जति आजका समयमा मोदीलाई चुनौती दिनका लागि दलहरू छन् । आफ्नो लेफ्टिनेन्ट अमित शाहका साथ एक–एक गर्दै उनले राज्यहरूमा कब्जा गर्दै गए । उत्तरपूर्वसमेत झन्डै ती सबै क्षेत्रमा भाजपाको झन्डा फहरायो, जहाँ उनको कुनै संगठन थिएन । राजनीतिक रिपोर्टरका रूपमा निर्वाचनको समाचार दिँदै गर्दा मैले के देखेँ भने मोदीलाई मध्यप्रदेशदेखि असम र त्रिपुरासम्म कति लोकप्रियता हासिल छ । आफ्ना गम्भीर कमजोरीका बाबजुद उनी बेदाग भइरहे । भलै त्यो नोटबन्दी नै किन नहोस् । यति मात्र होइन, उनले जनतासँग संवाद गर्ने, व्यक्ति केन्द्रित राजनीतिक युगको सूत्रपात गरिदिए । 

यस दशकमा मोदीको उत्कर्षसँगै र सायद त्यसका कारण पनि कंग्रेसको पतन झनै तीव्रतासाथ भएको छ । युपिए–२ का समयमा सुरु भएको यो पतन शृंखला अझै पनि जारी नै छ । कंग्रेसको नेतृत्व पतन यति गम्भीर छ कि त्यहाँ आशाको कुनै किरण नै देखिँदैन । सन् २००४ मा औपचारिक रूपमा राजनीतिमा कदम राखेका राहुल गान्धी पार्टीमा उनले खेलेको भूमिकाका कारण कम अन्य कारणले समाचारमा आइरहे । सन् २०१४ को निर्वाचनमा कंग्रेस जम्मा ४४ सिटमा खुम्चिनु आफैँमा एउटा ऐतिहासिक घटना र यस दशकको उल्लेख्य राजनीतिक परिघटना थियो । यो दशक गठबन्धनको राजनीतिलाई अघि बढाउने मामिलामा एक–अर्काको घोर विरोधीसँग पनि हात मिलाउने दशकका रूपमा दर्ज रहनेछ । र, यो गठबन्धन मुख्यतः मोदी–शाहको सामना गर्नका लागि उभिएको थियो । यसका साथै वाम दलको पतन पनि एउटा ठूलो राजनीतिक परिदृश्य हो । सन् २०११ मा ममता बनर्जीको तृणमुल कंग्रेसले वाम दलको गढ मानिएको पश्चिम बंगालमा कब्जा जमायो भने सन् २०१७ मा त्रिपुरामा भाजपाले कम्युनिस्टलाई सत्ताबाट बेदखल गरिदियो । यति हुँदाहुँदै पनि केजरिवालको निर्माण जुन तत्वले भएको छ, पक्कै पनि त्यसले उनलाई कमजोर बनाइदिएको छ । तर, पनि केजरिवालको उदय भारतीय राजनीतिक इतिहासमा पछिल्लो दशककै सबैभन्दा ठूलो सफलताको चाखलाग्दो र आकर्षक कथा हो, यसलाई नदेखेझँै गर्न मिल्दैन ।

(तिवारी द प्रिन्टकी सह–सम्पादक हुन्)
द प्रिन्टबाट