Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका वासिङ्टन
२०७७ पौष ८ बुधबार १४:२८:००
Read Time : > 2 मिनेट
फिचर

ह्वाइटहाउस छाडेपछि ट्रम्पको योजना : निर्वाचनमा संकलित रकम व्यवस्थापन गर्नेदेखि श्रीमती फकाउनेसम्म

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
२०७७ पौष ८ बुधबार १४:२८:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल अब एक महिना पनि छैन । आगामी २० जनवरी २०२१ मा ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपतिको जिम्मेवारी हस्तान्तरण गर्नेछन् । त्यसपछि ट्रम्प विश्वकै शक्तिशाली प्रशासनिक भवन ह्वाइटहाउसबाट बाहिरिनेछन् । हाल उनको परिवार वासिङ्टनस्थित राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा छ ।

ह्वाइटहाउसबाट बर्हिगमन भएपछि ट्रम्प के गर्छन् भन्ने प्रश्न आमनागरिकमा उब्जिरहेको छ । यद्यपि, ट्रम्पले यसबारेमा केही पनि सूचना सार्वजनिक गरेका छैनन् । हुन त ट्रम्प अझै चार वर्ष ह्वाइटहाउसमै बस्न चाहन्थे । ती चार वर्षमा के गर्ने भनेरसमेत ट्रम्पले योजना बनाइसकेका थिए । 

गत नोभेम्बरमा सम्पन्न ४६औँ राष्ट्रपति निर्वाचनमा अप्रत्याशित रूपमा जो बाइडेनसँग पराजित भएपछि ट्रम्पका ती सबै सपना टुटे । ह्वाइटहाउसबाट विश्वमै पुनः राज गर्ने तथा आफ्नो व्यापार अगाडि बढाउने उनको योजना भताभुंग भयो । यसपछि अब ट्रम्प पुनः आफ्नो व्यापारमै फर्कने धेरैको आकलन छ । एक कुशल व्यापारी तथा उद्योगपति ट्रम्पले निर्वाचनको क्रममा एक हजार आठ सय २५ करोड रुपैयाँ निर्वाचन फन्डबाट संकलन गरेका थिए । यसमध्ये चार सय करोड रुपैयाँ नयाँ पोलिटिकल रणनीतिका लागि छ्टयाएका थिए ।

ह्वाइटहाउस छोड्नुअघिको एक महिनामा उनले निर्वाचनमा संकलन गरेको रकम व्यवस्थापन गर्ने अमेरिकी एजेन्सीहरूले दाबी छ । आफूसँग सञ्चय रहेको रकम पार्टीका विभिन्न कार्यक्रममा खर्चने छन् । विपक्षी दलका सदस्यहरूलाई उस्काउन यो रकम उपयोग गर्ने ट्रम्पका नजिकका साथीहरूले जानकारी दिएका छन् । ह्वाइटहाउसमा चार वर्ष बिताउँदा इमान्दारीपूर्वक काम गरेका तथा आफूलाई प्रभावित पारेका व्यक्तिलाई ट्रम्पले उपहार र रकम दिने योजना बनाएका छन् । 

साथै कानुन रूपमा बाँकी रहेका बिल भुक्तानी गर्नेछन् । अमेरिकन एजेन्सीहरूकै अनुसार ट्रम्पले चार वर्षपछि हुने राष्ट्रपतिको निर्वाचनको तयारी अहिलेदेखि नै गर्नेछन् । ट्रम्पले दोस्रोपटक अमेरिकाको राष्ट्रपति हुने चाहना पूरा गर्न नै आर्थिक पक्ष बलियो बनाएका छन् । यस कार्यमा उनलाई पार्टीकै जोन म्याकलिनले सहयोग गर्नेछन् ।

ट्रम्पको छुच्चो बोली तथा सीधै गाली गर्ने बानीले आफ्नै पार्टी रिपब्लिकनका धेरै सदस्य उनीसँग रिसाएका छन् । यसकारण नै यो चार वर्षमा ट्रम्पले पार्टीमा खासै सुधार ल्याउन सकेनन् । तर, पार्टीमा केही समस्या नहोस् भनेर ट्रम्पले कोषमा राम्रो रकम जम्मा गरेका छन् । अब ट्रम्पको प्रयास नै पार्टीलाई बलियो बनाएर चार वर्षपछिको निर्वाचनमा बलियो दाबेदारी दिनु हो । सन् ०२४ मा ह्वाइटहाउसमा रिपब्लिकन पार्टीको झण्डा गाड्नु नै उनको अर्को प्रमुख योजना छ । 

फोब्र्स पत्रिकाका अनुसार गत सेप्टम्बरसम्म ट्रम्पसँग चार हजार चार सय करोड रुपैयाँ थियो । उनले आफ्नो ट्रम्प एम्पाएर विश्वभरि नै फैलाएका छन् । उनले धेरैजसो राष्ट्रमा विश्वस्तरीय तारे होटेल खोलेका छन् । अब ती होटेलबाट पुनः एकपटक राम्रो आम्दानी गर्ने उनको योजना रहेको अमेरिकन एजेन्सीहरूले उल्लेख गरेका छन् । उनीसँग अमेरिकाको मियामीमा विश्वस्तरीय गल्फ कोर्स छ । फ्लोरिडामा मार ए लागो क्लबको व्यवस्थापन उनकै कम्पनीले गर्दै आएको छ । 

ह्वाइटहाउसबाट निस्किएपछि उनको मुख्य ध्यान नै पार्टी र व्यापारमा हुनेछ । यसबीचमा सबैभन्दा ठूलो समस्या सुल्झाउनुपर्ने विषय नै श्रीमती मेलनियासँगको सम्बन्ध सुधार हुनेछ । चार वर्ष ह्वाइटहाउसको प्रशासनिक काममा व्यस्त भएकाले ट्रम्पले आफ्नो वैवाहिक सम्बन्ध सुधार गर्न नसकेको एजेन्सीहरूको भनाइ छ । मेलानियाले ट्रम्पसँगको वैवाहिक सम्बन्ध तोड्नेसम्मको घोषणा गरेकी छिन् । राष्ट्रपति निर्वाचनमा जो बाइडेनसँग पराजित भएको तेस्रो दिनमै उनले ट्रम्पसँग डिभोर्स लिने बताएकी थिइन् । 

द वासिङ्टन पोस्टले २४ वर्ष कान्छी श्रीमतीसँग डिभोर्स लिने वा सम्बन्ध अगाडि बढाउने भन्ने ट्रम्पको प्रमुख कार्य हुने जनाएको छ । ट्रम्पले श्रीमती मेलानियालाई डिभोर्स नलिन फकाइरहेका छन् । तर, मेलानिया भने ट्रम्पको व्यवहारबाट दिक्क भएर डिभोर्सबाहेक अन्य विकल्प नभएको बताउने समाचारमा उल्लेख छ । 
–एजेन्सीको सहयोगमा