भ्याक्सिन लगाउनै मान्दैनन् अमेरिकी वृद्धवृद्धा

बिहिबार, २ पुष, २०७७
डिजिटल संस्करण

अमेरिकामा फाइजर भ्याक्सिन लगाउन सुरु भइसकेको छ । केही दिनपछि नै मोडर्ना भ्याक्सिन पनि प्रयोगमा आउने निश्चित भएको छ । हुन त यो भ्याक्सिन परीक्षणको अन्तिम चरणमा भए पनि अमेरिकामा प्रयोगका लागि अनुमति माग गरिसकेको छ । यसको सफलता प्रतिशत ९४ प्रतिशत रहेको छ । यी दुवै भ्याक्सिन कम्पनीले संक्रमित व्यक्ति निको हुने प्रतिशत राम्रो भएको दाबी गर्दै आएका छन् । 

अमेरिकामा पहिलो चरणमा पाका उमेरका व्यक्तिले भ्याक्सिन लगाइरहेका छन् । तर, ती पाका व्यक्तिहरूले सहजै भ्याक्सिन लगाउन अनुमति नदिने गरेको समाचारहरू सार्वजनिक भएको छ । भ्याक्सिनबारे धेरै सम्झाएपछि मात्र उनीहरू तयार हुने गरेका छन् । ती पाका व्यक्ति भ्याक्सिनको प्रयोगपछि साइडइफेक्ट हुने डरले आनाकानी गरिरहेका हुन् । यो विषय अमेरिकी स्वास्थ्य विभागलाई चुनौती बनिरहेको छ । 

हुन त स्वास्थ्य विभागकै एक सदस्यले समेत भ्याक्सिन प्रयोग सम्बन्धमा विपक्षीमा मतदान गरेका थिए । सल्लाहकार समितिकै ती सदस्यले भ्याक्सिनविरुद्ध मतदान गरेको खुलासा भएपछि बढ्यौली उमेरका व्यक्तिले खोप लिन इच्छा नदेखाउनु स्वाभाविक भएको अमेरिकन एजेन्सीहरूले जनाएका छन् । सल्लाहकार समितिका सदस्य डा. हेलेन किपले आपतकालीन अवस्थामा रहेकालाई मात्रै भ्याक्सिन लगाउने अनुमति पाएको बताएका छन् । चाँडै नै भ्याक्सिनप्रतिको अविश्वास समाप्त हुने उनले जनाएका छन् । ‘सबै किसिमको परीक्षणपछि आपतकालीन अवस्थाका लागि भ्याक्सिन प्रयोगमा ल्याउने अनुमति पाएका हौँ,’ डाक्टर हेलेनले भने, ‘पाका उमेरका व्यक्तिमाथि यसको असर हुन्छ वा हुँदैन भन्ने प्रश्न उठिरहेको छ, हामीलाई विश्वास छ, भ्याक्सिनले आफ्नो काम गर्नेछ ।’

अमेरिकी स्वास्थ्य विभागअन्तर्गतको सल्लाहकार समितिले भ्याक्सिनको खोप शतप्रतिश सुरक्षित रहेको जनाएको छ । यसबाट कोही पनि डराउनुपर्ने अवस्था नरहेको उनीको भनाइ छ । अमेरिकामा फाइजर भ्याक्सिनलाई आपतकालीन अवस्थामा प्रयोगमा ल्याउन अनुमति दिएसँगै धेरैले यसको क्षमताबारे आशंका गरेका छन् । आधाजसो जनसंख्याले विश्वस्तरीय नभएका भ्याक्सिन लगाउन नहुने मत राखेका छन् । 

४७ प्रतिशत भ्याक्सिनको पक्षमा
भर्जिनिया कमनवेल्थ विश्वविद्यालयको एक सर्वेक्षणमा ४६.९ प्रतिशतले मात्र भ्याक्सिन लगाउन हुने मत राखेका छन् । यसबाहेक ५३ प्रतिशतले भ्याक्सिनप्रति अविश्वास देखाएको विश्वविद्यालयले जनाएको छ । 

यता मोडर्ना कम्पनीलाई अनुमति दिने तयारी लगभग पूरा भएको फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेसन (एफडिए)ले जनाएको छ । शुक्रबारसम्म मोडर्ना भ्याक्सिनले अनुमति पाइसक्ने र आपतकालीन अवस्थामै यसको खोप लगाइनेछ । 

एफडिएले मोडर्ना भ्याक्सिन ३० हजार व्यक्तिमाथि प्रयोग भएको जानकारी दिएको छ । परीक्षणको क्रममा यसले ९४.१ प्रतिशत काम गरेको देखिएको विभागको भनाइ छ । यो परीक्षणको वेलामा भ्याक्सिन प्रयोगकर्तामा बिरामी हुने, टाउको दुख्ने, शरीर भारी हुने तथा रुघा लाग्नेजस्तो समस्या आएको थिए । तर, कम्पनीले यो सामान्य साइडइफेक्ट भएको जनाएको छ । यसबाट केही डर मान्नु नपर्ने उनीहरूले विश्वास दिलाएका छन् । 

युरोपमा २१ डिसेम्बरमा बैठक 
कोरोना भाइरस प्रभावित महादेशमध्ये युरोप पनि प्रमुख हो । यहाँ अझै पनि संक्रमित धेरै नै छन् । युरोपियन युनियनले फाइजर र बायोन्टेक कम्पनीद्वारा उत्पादित भ्याक्सिनलाई अनुमित दिन २१ डिसेम्बरमा बैठक डाकेको छ ।

युनियनमा आबद्ध २७ राष्ट्रले फाइजर र बायोन्टेकबाट प्राप्त अर्डर आएपछि नै बैठक बोलाएको हो । जर्मनीका स्वास्थ्यमन्त्रीले छिटो बैठक बोलाउन आग्रह गरेका थिए । उनले अनुमति छिटो हँुदा नागरिकले भ्याक्सिन प्राप्त गर्न सक्ने बताए । अहिले फाइजर भ्याक्सिनले बेलायत, अमेरिका र क्यानडामा अनुमति पाइसकेको छ ।

मोडर्नामा साइबर आक्रमण 
अमेरिकामा बनिरहेको मोडर्ना भ्याक्सिनको डाटा चोरी भएको छ । केही समूहले साइबर आक्रमण गर्दै कम्पनीको महत्वपूर्ण डाटा निकालेको जनाएको छ ।

युरोपियन मेडिसिन एजेन्सी (इएमए) का अनुसार चोरी भएका सबै डाटा अनुमति लिनुअगाडिको हो । इएमएको भनाइ उद्धृत गर्दै दी गार्जियनले उल्लेख गरेको छ, ‘सरकारसमक्ष सबै डकुमेन्टेसन पठाउने क्रममै साइबर आक्रामण भएको हो ।’ 
–एजेन्सीको सहयोगमा
 

सुझावित समाचार