मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ३० मंगलबार १९:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक परिषद्को बैठकमा किन गएनन् सभामुख ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ३० मंगलबार १९:०१:००

सभामुख अग्नि सापकोटा संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुनुको कारण उनको सचिवालयले स्पष्ट पारेको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले प्रेस नोट जारी गर्दै २८ र ३० मंसिरको परिषद् बैठकमा उपस्थित नहुनुको कारण स्पष्ट पारेका हुन् । 

न्यौपानेले जारी गरेको प्रेस नोटमा भनिएको छ-
मंसिर २८ गते संघीय संसद् सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत बिहान ८:३० बजे संघीय संसद्, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयं सभामुखले अध्यक्षता गर्नुभएकोले उपस्थित हुन नसक्नुभएको यसअघि नै जानकारी गराइसकिएको छ । स्मरण रहोस्, त्यस दिन बिहान ९ बजे परिषद् बैठकमा उपस्थितिका लागि पत्राचार गरिएको थियो ।

जहाँसम्म आज (मंसिर ३० गते) को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनुभएको थियो । राज्य सञ्चालनमा दीर्घकालनीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषद्का सदस्यहरूबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ ।  

नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथक्कीकरण र सन्तुलनको सिद्धान्तलाई यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ । राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधिसभाको विपक्षी दलको नेतासमेत सहभागी रहने संवैधानिक परिषद्को बैठकले लिने निर्णयले दूरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात् गर्नुभएको छ ।     

उहाँले संसद्लाई जीवन्त र जनमुखी बनाउने सूत्र वाक्यलाई हृदयंगम गरी जननिर्वाचित सर्वाेच्च निकाय संघीय संसद्को गरिमालाई माथि उठाउने विषयलाई सदैव जोड दिँदै आउनुभएको छ । जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, संघीय संसद् प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि उहाँले निष्पक्ष र तटस्थ रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनुभएको अवगत नै छ । 

उहाँ संघीय संसद्को गरिमा कायम राख्दै संवैधानिक परिषद्को मर्यादा र जिम्मेवारीप्रति सदैव सचेत हुनुहुन्छ ।