१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी
२o८१ बैशाख २० बिहीबार १२:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
फिचर

अमेरिकाले पनि फाइजर–बायोन्टेक भ्याक्सिनलाई मान्यता दियो, ‘भ्याक्सिनेसन’ यसै सातादेखि

Read Time : > 2 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:o४:oo

अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोन्टेकले कोरोना भाइरस (कोभिड १९) विरुद्ध निर्माण गरेको भ्याक्सिनलाई अमेरिकाले पनि प्रयोगका लागि अनुमति दिएको छ । यससम्बन्धी निर्णय गर्ने खाद्य र औषधिसम्बन्धी प्रशासन (एफडिए) ले शुक्रबार भ्याक्सिनलाई देशभित्र आपत्कालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो ।

अरू देशले भ्याक्सिन प्रयोग गर्नसमेत थालेपछि अमेरिकामाथि भ्याक्सिनलाई मान्यता दिन दबाब परेको थियो । एफडिएलाई राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको कार्यालयले भ्याक्सिन आपत्कालीन प्रयोगका लागि अनुमति दिन दबाब दिएका थियो । 

अमेरिकी मिडियाले जनाएअनुसार राष्ट्रपति कार्यालयले एफडिएका प्रमुख स्टेफेन हानलाई सो भ्याक्सिनलाई मान्यता दिन वा पद छाड्न भनेका थिए । प्रमुख हान आफैँले भने सो कुरामा सत्यता नरहेको जनाएको छ ।

राष्ट्रपति ट्रम्पले चाँडै नै अमेरिकामा पनि आमनागरिकका लागि भ्याक्सिन लगाउन सुरु गरिने जनाएका छन् । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट दुई लाख ९२ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

स्वास्थ्य र मानव सेवासम्बन्धी सचिव एलेक्स अजरले अमेरिकामा चाँडै नै सर्वसाधारणका लागि भ्याक्सिन लगाउन सुरु गर्नेबारे फाइजरसँग छलफल गर्ने बताएका छन् । उनका अनुसार सोमबार वा मंगलबारबाटै सर्वसाधारणका लागि भ्याक्सिन लगाउन सुरु गरिने तयारी अमेरिकाको छ । यो भ्याक्सिनलाई बेलायत, क्यानडा, बहराइन र साउदी अरेबियाले आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । बेलायतले त सर्वसाधारणका लागि समेत भ्याक्सिन लगाउन सुरु गरिसकेको छ । 

अमेरिकामा गएको बुधबार मात्रै कोरोना भाइरस संक्रमणबाट तीन हजारभन्दा बढीको मृत्यु भएको थियो । यो विश्वको कुनै पनि देशमा अहिलेसम्म एकै दिनमा भएको सर्वाधिक मृत्यु संख्या हो । 

एफडिएले के भनेको छ ?
बिहीबार मात्रै विज्ञहरूको समूहले एफडिएलाई सो भ्याक्सिन आपत्कालीन प्रयोगका लागि मान्यता दिन सुझाब दिएको थियो । २३ जना विज्ञहरू रहेको समूहले भ्याक्सिन प्रयोगले कोरोना भाइरस महामारीले पारेको क्षति कम गर्न मद्दत गर्ने निष्कर्ष निकालेको थियो ।

‘बिहीबारको विज्ञहरूको टोलीको बैठकमा व्यापक र सकारात्मक छलफल भएको छ । विज्ञहरूको छलफलपछिको सुझावअनुसार फाइजर भ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइनेबारे चाँडै निर्णय हुनेबारे सबैलाई जानकारी गराइएको छ’, एफडिएले विज्ञप्तिमा भनेको छ । फाइजर भ्यासिनलाई आपत्कालीन प्रयोगका लागि मान्यता दिइएको बारे एफडिएले सबै राज्य र त्यसअन्तर्गत भ्याक्सिन वितरण गर्ने निकायलाई समेत जानकारी गराइएको जनाएको छ ।

राष्ट्रपति कार्यालयको ताकेता
राष्ट्रपति ट्रम्पले शुक्रबार ट्विटरमा एफडिएको कडा आलोचना गरेका थिए । उनले आफ्नो ट्विट्मा एफडिए पुरानो र निकै सुस्त भएको आरोप लगाएका थिए । उनले ट्विट्मै थप लेखेका छन्, ‘डा. हान अब भ्याक्सिनलाई बाहिर आउन देऊ, कुनै गेम खेल्न छाड र जीवन बचाउने योगदान गर ।’ 

वासिङ्टन पोस्टका अनुसार ह्वाइट हाउसका कार्यालय प्रमुख मार्क मिडोजले एफडिएका प्रमुख हानलाई भ्याक्सिनलाई मान्यता नदिए राजिनामा बुझाउन निर्देशन दिएका थिए । वासिङ्टन पोस्टले उक्त समाचारमा तीनवटा स्रोत उद्धृत गरेको छ ।

डा. हानले भने उक्त समाचार झुठो भएको बयान दिएका छन् । यो वादविवादमा अर्काे कार्यकालका लागि राष्ट्रपति निर्वाचित जो बाइदेन पनि सहभागी भएका छन् । उनले भ्याक्सिलाई रोक्नेबारे कसैले राजनीति नगरेको बताएका छन् ।

अब के हुन्छ ?
आपत्कालीन प्रयोगका लागि मान्यता प्राप्त गरेसँगै सर्वसाधारणको प्रयोगका लागि पनि चाँडै उपलब्ध गराउने तयारी गरिएको छ । अमेरिकाको सबै राज्यमा भ्याक्सिन वितरण गर्ने कार्यक्रम ‘अपरेसन वार्प स्पिड’ तय गरिएको छ । आपत्कालीन प्रयोगका लागि मान्यता दिएसँगै एफडिएले त्यसबारे ‘अपरेसन वार्प स्पिड’लाई जानकारी गराइसकेको छ । 
त्यससँगै ‘अपरेसन वार्प स्पिड’ले २४ घन्टाभित्रै भ्यासिनको ढुवानी सुरु गरिने जनाएको छ । सचिव अजरले भ्याक्सिनलाई आवश्यक ठाउँमा पुर्‍याउनेबारे फाइजरसँग कुरा गर्ने र सोमबार वा मंगलबारबाट जोखिममा रहेका व्यक्तिमा लगाउन सुरु गरिने जनाएको छ ।

फाइजरले अमेरिकाका लागि डिसेम्बरको अन्त्यसम्म ६४ लाख डोज भ्याक्सिन उपलब्ध गराउने तयारी गरेको जनाएको  छ । यो भ्याक्सिन पनि दुई चरणमा लगाउनु पर्नेछ । पहिलो डोज लगाएको २१ दिनपछि दोस्रो डोज लगाइनेछ । 

अमेरिकाले फाइजरले पहिलो चरणमा उपलब्ध गराउने भनेको ६४ लाख डोज भ्याक्सिनले ३० लाख जनसंख्यालाई पुग्ने जनाएको छ । बाँकी व्यक्तिका लागि थप भ्याक्सिन उपलब्ध हुनेछन् । अमेरिकाको जनसंख्या तीस करोडभन्दा बढी छ । 

अमेरिकी राज्यहरूले पनि पहिलो चरणमा स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई प्राथमिकतामा राखेर भ्याक्सिन वितरण गर्ने तयारी गरिरहेका छन् । 

ad
ad