मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २५ बिहीबार ०६:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

साझा र विवेकशीलबीच पुनः एकता : एकीकृत पार्टीको अध्यक्ष रवीन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २५ बिहीबार ०६:०६:००

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी

साझा पार्टी र विवेकशील नेपाली दलबीच पार्टी एकता भएको छ । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ । दुई पार्टीले बुधबार दिउँसो अनलाइन कार्यक्रममार्फत एकीकरणको घोषणा गरेका हुन् । एकीकृत पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे रहने गरी पार्टी एकता भएको छ । 

पार्टीको लोगो र चुनावचिह्न तराजु हुनेछ । बखुन्डोलस्थित साझा पार्टीको कार्यालयमा दुवै पार्टीका वार्ता टोलीका सदस्यहरू मात्रैको उपस्थितिमा साझा पार्टीका संयोजक मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष पाण्डेले एकीकरण घोषणापत्रमा हस्ताक्षर गरेका थिए । 

एकीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५–६५ जना सदस्य गरी कुल एक सय ३० जना हुने र केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट बराबरीको संख्या १३–१३ जना सदस्य रहेको केन्द्रीय सचिवालय गठन गर्ने उनीहरूबीच सहमति छ । 

पार्टीले दुवै पार्टीहरूका मातहतका हाल रहेका सम्पूर्ण संरचना गठन, पुनर्गठन र समायोजनका काम दुई महिनाभित्र पूरा गर्ने जनाएको छ । यस्तै, आगामी ६ महिनाभित्र पार्टीको एकता महाधिवेशन सम्पन्न गर्ने घोषणापत्रमा उल्लेख छ । 

पहिले पनि दुई पार्टीका रूपमा रहेका विवेकशील र साझा एकीकरणमार्फत एउटै दल भए पनि बीचमा विभाजित थिए । दुई पार्टीबीच एकीकरण गर्ने विषयमा विवेकशीलमा त मतदानसमेत भएको थियो । साझाले भने केन्द्रीय समिति बैठकबाट अनुमोदन गराएर एकीकरणको निर्णय गरेको हो । 

दुई पार्टीबीच ११ साउन ०७४ मा एकता भएको थियो भने विभिन्न व्यावहारिक कमजोरी देखाउँदै २७ पुस ०७५ मा विभाजित भएका थिए । पार्टी विभाजनले वैकल्पिक राजनीति, यसको वैचारिक, राजनीतिक अपेक्षा र एक उन्नत पार्टी स्थापना गर्ने साझा लक्ष्यलाई समेत असर गरेको घोषणापत्रमा छ । 

एकीकृत पार्टीका अन्य सबै काम–कारबाही दुवै दलका संवाद समितिले तयार पारेको संयुक्त प्रतिवेदनले दिशानिर्देश गरेअनुरूप हुने जनाइएको छ । पार्टीको पहिलो महाधिवेशनअगाडि कुनै बाधा–अड्चन आएमा त्यसको अन्तिम व्याख्या र निरुपण एकीकृत पार्टीको केन्द्रीय समितिले गर्ने घोषणापत्रमा छ । घोषणापत्रमा साझाका समीक्षा बाँस्कोटा, केशव दाहाल र किरणकृष्ण श्रेष्ठ तथा विवेकशीलका निर्देश सिलवाल, रञ्जु दर्शना र रमेश पौड्यालले हस्ताक्षर गरेका छन् ।