१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

बर्धन गाउँमा ठाडोभाका गीतको छायांकन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:२o:oo

लमजुङको मध्यनेपाल नगरपालिका–१० बर्धन गाउँमा लोपोन्मुख ठाडोभाकाको छायांकन गरिएको छ । जुन ठाडोभाकाका सर्जक देउबहादुर दुराको जन्मगाउँ हो । ऐतिहासिक थलो र व्यक्तित्वको स्मरण एवं सम्मानका लागि ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक बुद्धिमान दुरा धम्पुको पहलमा गीतको छायाँकन गरिएको हो ।

देउबहादुरले आजभन्दा एक सय वर्षअघि ठाडोभाका गीतको सिर्जना गरेको बूढापाकाहरू बताउँछन् । बर्धन गाउँ र तुर्लुङकोटको लेकमा गोठालो, खेतालो हुन जाँदा र साँझ–बिहानको समयमा गुनगुनाउँदै देउबहादुरले ठाडोभाकाको सिर्जना गरेका थिए । 

बर्धन गाउँनजिक करापुटार महादेव मन्दिरमा शिवरात्रिमा लाग्ने दुईदिने मेलामा ठाडोभाका गीत गाउन थालेपछि यसको प्रचार हुन थालेको हो । ठाडोभाकाका गायकसमेत रहेका स्थानीय ७३ वर्षीय जितसुब्बा दुराले भने, ‘ठाडोभाका अत्यन्तै रसले पूर्ण भएको गीत हो, यसमा मायाप्रीतिका कुरा, धर्मसंस्कृति, रामायण, महाभारतदेखि वर्तमानको विकृति विसंगतिका बारेमा पनि गीतमै गाउन सकिन्छ ।’ ठाडोभाकाका सर्जक देउबहादुर दुरा र पञ्चैसुब्बा गुरुङले सात दिन सात रातसम्म यो गीत गाएको आफूले केटाकेटी छँदा सुनेको उनले बताए । 

नमस्ते युनिट पोखराद्वारा छायांकन गरिएको ठाडोभाका गीतमा बुद्धिमान दुरा धम्पु र उनका गायनजोडी सीता दुराले संयुक्त लेखन एवं मुख्य स्वर दिएका छन् । उनीहरूलाई गायनमा साथ दिनेमा पुरुषतर्फ जितसुब्बा दुरा, लालसुब्बा दुरा र हरिबहादुर दुरा छन् । महिलातर्फ सहायक स्वर दिनेहरूमा उमा गुरुङ, हस्तमाया दुरा, प्रतिमा गुरुङ र राधा भण्डारी छन् । 
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले ठाडोभाकाको संरक्षण र प्रवद्र्धनका लागि प्रतिष्ठानले विभिन्न कार्यक्रम गरेको बताए । मध्यनेपाल–१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले लमजुङको पहिचान र गौरवका रूपमा रहेको ठाडोभाकाको संरक्षणका लागि ठाडोभाकाका सर्जक देउबहादुरको नाममा स्मृति भवन निर्माण गरिएको बताए । एक घन्टा ३५ मिनेटको हुने गीतमा निर्देशन छवि सुवेदी र छायांकनको मुख्य भूमिका नमस्ते रेकर्डिङ सेन्टर पोखराले गरेको छ । एक महिनाभित्रै गीत सार्वजनिक गरिनेछ । 

ad
ad