मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर १८ बिहीबार १२:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उत्तर–दक्षिण राजमार्ग : साढे ६ वर्षसम्म पनि छिचोलिएन डेढ किलाेमिटर चट्टान

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १८ बिहीबार १२:५३:००

कर्णाली करिडोरअन्तर्गत उत्तर–दक्षिण राजमार्ग जोड्ने नाम्खा गाउँपालिका– २ मा पर्ने च्याछरा भिरको कडा चट्टान काटेर सडकको ट्रयाक खोल्ने कार्य ठेकेदारको लापरबाहीको कारण अलपत्र परेको छ । 

हिल्सा–सिमकोट योजनासँग ०७२ सालमा सम्झौता भई ०७५ सालमै निर्माण सम्पन्न हुने भनिएको च्याछराखण्ड साढे ६ वर्षसम्म पनि ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । 

निर्माणको जिम्मा पाएकाे श्री जयन्ती एडी जेभीले सम्झौता गरेको साढे ६ वर्षसम्म पनि निर्माण कार्य अलपत्र पारेपछि स्थानीयहरूलाई आवतजावतमा अति समस्या भएको छ । 

ठेकेदारले सडक निर्माणकार्य ढिलो गरेपछि स्थानीयवासीहरूलाई आवतजावत गर्न निकै समस्या भएको नाम्खा गाउँपालिका– ४ याल्वाङका स्थानीय छेपाल दोर्जी लामाले दुखेसो गरे ।

च्याछहराखण्डको सडक निर्माणकार्य लामो समयदेखि ठेकेदारले अलपत्र पारेपछि नाम्खा गाउँपालिका आवतजावत गर्ने समस्या भएको लामाले बताए ।

ठेकेदारले विभिन्न किसिमका बहानाबाजी गरेर कहिले हिउँ पर्ने, कहिले प्राविधिक समस्या, कहिले ढुवानी, कहिले मेसिनरी औजार त कहिले कामदारजस्ता समस्या देखाउने गरेर च्याछहराखण्डको भिर छिचोल्ने काम अलपत्र पारेको स्थानीयवासीहरूले आरोप लगाउने गरेका छन् । 

कति बजेट छ ?

च्याछहराखण्डको चट्टान छिचोल्नका लागि कुल ठेक्का लागत रकम चार करोड ९९ लाख भए पनि ठेकेदारले घटिघटाउमा तीन करोड ६४ लाख रुपैयाँमा ठेक्का स्वीकार गरेको जानकारी हिल्सा–सिमकोट आयोजनाले कार्यालयले दिएको छ । 

उक्त कार्यालयले श्री जयन्ती एडी जेभीका प्रतिनिधि तेजबहादुर महतलाई पटकपटक समयमै काम सम्पन्न गराउन जानकारी गराए पनि म्याद थप गराउँदै साढे ६ वर्षसम्म पनि काम सम्पन्न नगरेको जनाएको छ । 

पटकपटक म्याद थप गराई काम गर्नेजस्तो गरी ठेकेदार कम्पनीले दुई करोड २१ लाख रुपैयाँ भुक्तानी लिएको  छ ।

हिल्सा–सिमकोट सडक आयोजनाका निमित  कार्यालय प्रमुख रमेशप्रसाद पाठक भने अगाडिको कुरा आफूलाई थाहा नभएको भन्दै पन्छिन खोजेका छन् । 

उनले अहिले लकडाउनका कारण ढिलाइ भएको भन्दै ठेकेदारको बचाउ गरेका छन् । 

उनले भने, ‘मलाई  अगाडिको कुरा त थाहा भएन, तर अहिले च्याछहराखण्डको काम ढिला हुने कारणहरू लकडाउन, मेसिनरी औजारको अभाव, ढुवानीमा समस्या, इन्धनको खाँचो र कामदार अभावले ढिलाइ भएको हो ।’

हिल्सा–सिमकोट सडक आयोजनालाई दुई भागमा बजेट विनियोजित गरिएको छ ।

सडक निर्माण तथा विस्तारका लागि कुल लागत खर्च एक अर्ब ११ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको छ । 

विभिन्न ठेक्का कम्पनीहरूसँगकाे घटिघटाउमा एक अर्ब सात करोड ३८ लाख रुपैयाँ ठेक्का रकम पुगेको छ । ०७२ देखि ७६ सम्म विभिन्न  ठेकेदार कम्पनीहरूसँग सम्झौता गरिएको छ । 

त्यसका लागि हालसम्म ४३ करोड ५३ लाख रुपैयाँ पैसा भुक्तानी गरिएको छ ।