मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर १३ शनिबार १४:००:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लकडाउनको आठ महिनापछि सुरु भयो पर्वतीय उडान 

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १३ शनिबार १४:००:००

कोभिड– १९ संक्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान आजदेखि सुरु भएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले बन्दाबन्दीको करिब आठ महिनापछि पर्वतीय उडान सुरु गरेको हो । 

कोभिड महामारीबीच बुद्धले पहिलोपटक पर्वतीय उडान सुरु गरेको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि पर्वतीय उडान सञ्चालन गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।

आज पहिलो उडानमा १८ नेपाली यात्रु थिए । पर्वतीय उडानमा विदेशी तथा नेपाली दुवैको आकर्षण रहे पनि अहिले विदेशी पर्यटकको चहलपहल छैन । 

यसअघि बुद्धले अंग्रेजी वर्ष सन् २०२० को मार्च १७ मा अन्तिम पर्वतीय उडान सुरु गरेको थियो । त्यसपछि नेपालमा कोभिड नियन्त्रणका लागि देशभार लागू भएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन । 

असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ बाट अन्तर्राष्ट्रिय नियमित उडान सुरु भएको थियो ।

आन्तरिक पर्यटलाई आकर्षण गर्नेगरी बुद्धले आकर्षक छुट तथा अफरसहित पर्वतीय उडान सञ्चालन गर्ने निर्देशक जोशीले बताए । उनले हरेक शनिबार पर्वतीय उडान सञ्चालन गरिनेछ । 

पर्वतीय उडानका यात्रुले एक टिकट खरिद गर्दा थप एक टिकट निःशुल्कको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । शरद ऋतु दृश्यावलोकन र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । 

अहिले अवस्था सामान्य हुन्थ्यो भने पर्वतीय उडानमा भिड लाग्ने थियो । तर, परिस्थिति प्रतिकूल छ । पर्वतीय उडानमा एयरलाइन्सबीच पनि प्रतिस्पर्धा नै चल्ने गरेको थियो । जहाज तथा हेलिकाेप्टरलेसमेत पर्वतीय उडान गर्थे ।
    
पर्वतीय उडान काठमाडौंबाट आवतजावत गरी एक घन्टाको हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भई गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजंघा हिमालनजिक पुगेर पुनः काठमाडौंमा अवतरण हुन्छ । 

अग्ला हिमालसँगै महाभारत पर्वत शृंखलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायित हुन्छन् ।
    
पर्वतीय उडानका लागि बन्दाबन्दीअघि नेपाली र भारतीयलाई रु. आठ हजार आठ सय २५ र अन्य मुलुकका नागरिकलाई एक सय ९७ अमेरिकी डलर भाडा लाग्ने गरेको थियो । 

बुद्ध एयर, यती एयरलाइन्स र सिम्रिक एयरलाइन्सले पर्वतीय उडान भर्दै आएका छन् । वायुसेवा सञ्चालक संघका अनुसार आन्तरिक उडानका लागि हाल १० हेलिकाेप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।