१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o५:४७:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

खुफिया र सेनाप्रमुखपछि  भारतीय विदेशसचिवको भ्रमण

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o५:४७:oo

खुफिया र सेनाप्रमुखको भ्रमणपछि भारतका विदेशसचिव हर्षबर्धन शृंगला दुईदिने औपचारिक भ्रमणमा बिहीबार काठमाडौं आउँदै छन् । नेपाल र भारतबीच कूटनीतिक तहमा संवाद ठप्प भएका वेला गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल र सेनाध्यक्ष मनोजमुकुन्द नरभणेपछि विदेशसचिव शृंगलाको भ्रमण तय भएको हो । 

एक वर्षपछि दुई देशबीचको संवाद सुरक्षा र खुफिया एजेन्सीको तहबाट सुरु भई बल्ल औपचारिक कूटनीतिक च्यानलबाट सम्बन्ध अघि बढ्न खोजेको छ । कार्यभार सम्हालेको ११ महिनापछि भारतीय विदेशसचिवको यो परिचयात्मक भ्रमण हो । 

विदेशसचिव भएलगत्तै छिमेकी देशहरूको भ्रमणमा जाने परम्परा रहेकोमा दुई देशबीचको नक्सा विवाद एवं कोभिड– १९ महामारीका कारण विदेशसचिवको भ्रमण तय हुन झन्डै एक वर्ष लागेको हो । गत वर्ष भारतले कालापानी समेटेर पहिलोपटक नयाँ नक्सा जारी गरेपछि नेपालले कूटनीतिक रूपमा विरोधपत्र पठाएर वार्ताका लागि प्रस्ताव गरेको थियो । त्यसयता नेपालले निरन्तर वार्ताका लागि आग्रह गर्दै आए पनि भारतीय विदेशसचिवको भ्रमण हुन सकेको थिएन । 

नेपाल र भारतका परराष्ट्र मन्त्रालयले सोमबार एकै समयमा विज्ञप्तिमार्फत विदेशसचिव शृंगलाको नेपाल भ्रमण मिति सार्वजनिक गरेका हुन् । विदेशसचिव शृंगलाको टोलीमा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान मामिला हेर्ने सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, भारतीय दूतावासका अधिकारीहरू हुनेछन् । 

परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशसचिव शृंगलाले बिहीबार नेपाली समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालसँग औपचारिक प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्दै छन् । वार्तामा परराष्ट्रसचिव पौड्याल, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव यज्ञबहादुर हमालसहितका अधिकारी हुनेछन् । 

परराष्ट्रसचिव पौड्यालको निमन्त्रणामा आउन लागेका शृंगलाले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

द्विपक्षीय वार्तामा नेपाल र भारतबीच सहयोगका बृहत् क्षेत्रहरूमा छलफल हुने परराष्ट्रले जनाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यो भ्रमण दुई मित्रवत् छिमेकीहरूबीच उच्चस्तरीय भ्रमणहरूको नियमित आदानप्रदान हो ।’ भारतीय विदेशसचिव शृंगलाले नेपाल सरकारलाई कोभिड– १९ सँग सम्बन्धित सहयोग हस्तान्तरण गर्ने कार्यक्रम छ । दुवै देशले विज्ञप्तिमा सीमा समस्याबारे छलफल हुने वा नहुने केही खुलाएका छैनन् । 

कूटनीतिक स्रोतका अनुसार भारतीय विदेशसचिव शृंगलाको परिचयात्मक भ्रमण भएका कारण सीमासम्बन्धी औपचारिक संयन्त्रको आगामी बैठकमा मात्रै सीमाका विषयमा छलफल हुनेछ । मंसिर अन्तिम साता हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकले दिने निर्देशनका आधारमा सचिवस्तरीय संयन्त्रको बैठक बस्नेछ । ‘अहिले विदेशसचिव शृंगलाको भ्रमण सद्भावना खालको र परिचयात्मक भ्रमण हो, यो भ्रमणबाटै धेरै आशा गर्न सकिँदैन । तर, औपचारिक तहमा संवाद प्रारम्भ हुनु नै अहिलेको उपलब्धि मान्नुपर्छ,’ एक उच्च कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने । 

दुवै देशका प्रधानमन्त्रीहरुले कालापानी र सुस्ताको समस्या समाधानको उपाय सुझाउन परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई जिम्मा दिएका छन् । विगतमा सन् १९५० को सन्धीबारे सुझाब दिन सचिवस्तरीय संयन्त्रलाई जिम्मा लगाए पनि बैठक जम्मा एकपटक बसेको छ । १९५० को सन्धी लगायतका बिषयमा छलफल गर्न २०५४ भदौ २ देखि ५ सम्म पहिलोपटक परराष्ट्र सचिस्तरीय संयन्त्रको बैठक बसेको थियो । बैठकमा नेपालतर्फबाट परराष्ट्र सचिव कुमार ज्ञवाली तथा भारततर्फ विदेश सचिव के रघुनाथनले नेतृत्व गरेका थिए । 

के भन्छन् पूर्वराजदूत ?

भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले दुई देशबीच सम्बन्ध सही ट्रयाकमा जान लागेको तर, नेपालले मर्यादितरुपमा भारतसँग खुलेर छलफल गर्नुपर्ने बताए । पूर्वराजदूत उपाध्यायले नयाँ पत्रिकासँग भने, ‘गुप्तचर र सैन्य कूटनीति हुँदै विदेश सचिवस्तरमा भ्रमण हुँदैछ, सम्बन्ध सही मार्गमा आएको छ । नेपालले आफ्ना सरोकार र चासो स्पष्टरुपमा भारतसँग राख्नुपर्छ ।’  उपाध्यायले नेपाल र भारतबीच पछिल्ल दिनमा ‘कुरा’ मात्र धेरै भएको तर परिणाम नआएको तर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् । ‘नक्सा प्रकरणमा मुलुक एक ठाउँमा उभिएको थियो, तर सरकारले पहल लिन सकेन’ उपाध्यायले भने, ‘विगतमा जे भए पनि अब सम्बन्ध सही दिशामा लैजाने गरि छलफल गर्नुपर्छ । यो अवसरलाई त्यस अर्थमा सदुपयोग गर्नुपर्छ ।’ 

नेपालका लागि पूर्व भारतीय राजदूत रणजीत रायले विदेश सचिबको भ्रमणमा नेपालसँग  सीमा समस्या, इपिजीको प्रतिबेदन लगायत सबै बिषयमा छलफल गर्नुपर्ने बताए । विवेकानन्द अन्तराष्ट्रिय फाउण्डेशन र एआइडीआइएद्वारा सोमबार आयोजित सेमिनारमा रायले भने, ‘ सेनाप्रमुख नरवणेको भ्रमण सफल र सकारात्मक रह्यो ।

अब दुई देशबीच जनतालाई फाइदा पुग्ने गरि ठोस सम्झौता हुनु जरुरी छ । पञ्चेश्वर परियोजनाको डीपीआरसँग सम्बन्धित दुईवटा बिषयलाई टुंग्याउनुपर्छ । ’ उनले विदेश सचिवस्तरीय बैठकमा यसको पञ्चेश्वरको टुंगो लगाउनुपर्ने तथा चाँडै नै दिल्लीमा बस्ने परराष्ट्र मन्त्रीस्तीय बैठकले ठोस निर्णय गर्नुपर्ने पनि सुझाब दिए । दुई देशबीच राजनीतिक सहकार्यमामात्र नभएर आर्थिक सहकार्यमा अघि बढ्नुपर्ने रायको सुझाब थियो ।

‘मैले बुझेसम्म नेपाली पक्ष परराष्ट्र सचिवस्तरमा कालापानीको बिषयमा कुरा गर्न चाहन्छ, इपिजी प्रतिबेदनबारे कुराकानी गर्न चाहन्छ’ रायले भने, ‘ दुई वर्ष भइसक्यो, प्रतिबेदन बुझाइएको छैन । भारतलाई अप्ठेरो छ भने विदेश सचिबस्तरीय बैठकमा स्पष्टरुपमा राख्नुपर्छ । नेपाल १९५० को सन्धीमा छलफल गर्न चाहन्छ, भारत स्पष्ट हुनुपर्छ किनभने प्रधानमन्त्री मोदीले नै सार्वजनिकरुपमा सन्धीबारे प्रस्ताब ल्याउन भनेका हुन् । ’  ‘विगतमा हामीले नेपालसँग संवाद शुरु गर्नुभन्दा अगाडि नेपालमा राजनीतिक सहमतिका लागि प्रतिक्षा गरेका थियौँ । त्यो परिस्थिति अहिले छैन । द्धिपक्षीय सहकार्य महत्वपूर्ण छ ।’

आर्मी चिफको भ्रमण, विदेश सचिबको अबको भ्रमण अनि दिल्लीमा हुन लागेको नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक हेर्दा द्धिपक्षीय सम्बन्ध पुनः सही मार्गमा फर्केको छ । यो सकारात्मक विकासक्रम हो द्धिपक्षीय सम्बन्धमा । रायले भारत र चीनबीच अहिले सैन्यरुपमा सम्बन्ध अप्ठेरो परिरहेका बेला नेपालले चीनका रक्षामन्त्रीलाई बोलाएर भारतको सुरक्षा संबेदनशीलतालाई चासो नदिएको पनि आरोप लगाए । 

ad
ad