मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ मङ्सिर ८ सोमबार १५:१३:००
Read Time : > 2 मिनेट
फिचर

राष्ट्रपति ट्रम्पलाई कोरोनामुक्त बनाएको औषधि सर्वसाधारणले पनि प्रयोग गर्न पाउने 

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ मङ्सिर ८ सोमबार १५:१३:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरस (कोभिड– १९) संक्रमणबाट निको पार्न दिइएको औषधि सर्वसाधारणलाई पनि प्रयोग गर्न अनुमति दिइएको छ । रेगेनेरोनले निर्माण गरेको उक्त औषधिलाई अमेरिकी प्रशासनले सर्वसाधारणको प्रयोगका लागि पनि अनुमति दिएको हो । 

उक्त औषधि अमेरिकामा भाइरस संक्रमित र अरू रोगबाट थलिएर उच्च जोखिममा रहेका व्यक्तिलाई पनि प्रयोग गर्न अनुमति दिइएको हो । संक्रमित भएर अस्पताल भर्ना भएका वा अक्सिजनको सहायता लिनुपर्ने अवस्थाका बिरामीका लागि यो औषधि प्रयोग गर्न अनुमति दिइएको छैन । यद्यपि, अधिकारीहरूले यसलाई आपतकालीन समयका लागि मात्रै अनुमति दिइएको भनेका छन् । अमेरिकामा कोरोना भाइरस संक्रमणको संख्या निरन्तर बढिरहेको समयमा उक्त औषधि प्रयोगका लागि अनुमति दिइएको हो । कम्पनीले औषधि प्रयोग गरेपछि थेरापी गर्दा अझ प्रभावकारी हुने जनाएको छ ।

अमेरिकामा औषधि प्रयोगका लागि अनुमति दिने र नियन्त्रण गर्ने निकाय (एफडिए)ले उक्त औषधिको प्रभाव र असरबारे अध्ययन जारी रहँदै तत्काललाई प्रयोग गर्न अनुमति दिएको हो । एफडिएले अर्काे अमेरिकी फार्मास्युटिकल इली लिल्लीले निर्माण गरेको यस्तै प्रकृतिको औषधिलाई पनि यसै महिनाको सुरुवातमा प्रयोगका लागि अनुमति दिएको थियो ।

रेगेनेरोनले तयार पारेको उक्त औषधि दुई ‘मोनोक्लोनल एन्टिबडी’को मिश्रण भएको जनाइएको छ । प्रयोगशालामा तयार पारिएको यो कृत्रिम ‘एन्टिबडी’ (रोग प्रतिकारक) निक्कै शक्तिशाली भएको जनाइएको छ, जसले मानव शरीरमा रहेको एन्टिबडीले जस्तै काम गर्छ । 

उक्त एन्टिबडी भाइरससँगै टाँसिएर रहन्छ, जसले भाइरसलाई मानव शरीरमा प्रवेश गरी थप असर गर्न दिनेछैन । रेगेनेरोनले यसै महिनाको अन्त्यसम्म ८० हजार व्यक्तिका लागि उक्त औषधि उत्पादन गर्न सकिने जनाएको छ । यस्तै, आगामी जनवरीको अन्त्यसम्म तीन लाखलाई पुग्ने गरी औषधि उत्पादन गर्ने जनाएको छ । 
यो औषधि गत अक्टोबरमा राष्ट्रपति ट्रम्प भाइरस संक्रमित हुँदा प्रयोग गरिएका औषधिमध्येको हो । उक्त औषधि प्रयोग गरिएपछि राष्ट्रपति ट्रम्पले थेरापी पनि गराएका थिए । कोरोना भाइरसबाट निकै जोखिममा रहेको भनी प्रचार गरिएका राष्ट्रपति ट्रम्प निको भएका थिए । तर, उनलाई यही औषधिले ठीक गरेको हो भन्नेचाहिँ निश्चित छैन ।

उक्त औषधि अमेरिकाका अर्का उच्च सरकारी अधिकारीलाई पनि दिइएको थियो । राष्ट्रपति ट्रम्प सरकारका एक सदस्य बेन कार्साेनले कोरोना भाइरस संक्रमणपछि आफू निकै सिकिस्त बिरामी हुँदा यो औषधि प्रयोग गरेको र आफू निको भएको बताएका छन् । उनले आफूले राष्ट्रपति ट्रम्पकै सल्लाहअनुसार यो औषधि प्रयोग गरेको जनाएका छन् ।

कार्साेनले फेसबुक स्टाटसमा लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पले मलाई यो औषधि प्रयोग गर्न सुझाएका थिए । मलाई विश्वास छ कि यही औषधिले मेरो जीवन बचायो ।’ 
जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा अहिलेसम्म एक करोड २० लाख संक्रमित भइसकेका छन् । संक्रमणबाट दुई लाख ५५ हजारको मृत्यु भइसकेको छ । यो मृत्यु हुने संख्या कोरोना भाइरसका कारण भएको विश्वकै सबैभन्दा ठूलो हो ।

दोस्रो चरणको संक्रमण अझ तीव्र हुन थालेपछि अमेरिकाका प्रायः राज्यहरूले कडा खालको नियम लागू गर्न थालेका छन् । जहाँ प्रायः राज्यले मास्क प्रयोग गर्नुलाई अनिवार्यजस्तै बनाएका छन् । क्यालिफोर्नियामा शनिबारबाट रात्रकिालीन ‘कफ्र्यु’ सुरु भएको छ ।

सरकारी अधिकारीहरूले अमेरिकामा भाइरस संक्रमण फैलनबाट रोक्ने उद्देश्यले आफ्ना नागरिकलाई धेरै भ्रमण नगर्न अनुरोध गरेको छ । अधिकारीहरूले संक्रमण नफैलियोस् भन्ने उद्देश्यले यही बिहीबार पर्ने ‘धन्यवाद दिने दिवस’मा पनि सर्वसाधारणले बाहिर धेरै नहिँड्न अनुरोध गरेका छन् । 

अमेरिकामा यो दिवसमा धेरै चहलपहल र भ्रमण हुने गरेको छ । गत वर्षको अध्ययनअनुसार यो दिवसमा २६ मिलियन मान्छेले भ्रमणको सिलसिलामा विमानस्थल प्रयोग गरेको पाइएको थियो ।