नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी नेता तथा सांसद सुरेन्द्र पाण्डेमाथि सुनियोजित घटना भएको बताउँदै संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । वक्तव्य जारी गरी खनालले कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण गराएका हुन् ।
कार्यक्रममा आफ्ना भनाइहरू राखिरहेको अवस्थामा अनधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय रहेको भन्दै खनालले घटनाको निन्दा तथा भर्त्सना गरेका छन् ।
विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन चितवनमा रहेका पाण्डे राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको वेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको खनालले बताएका छन् ।
पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरू खोजी भइरहेको परिस्थितिमा भएका यस्ता घटनाले स्थितिलाई झन् उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पूर्ण नेता तथा कार्यकर्तालाई खनालले अनुरोधसमेत गरेका छन् ।