
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्तागठबन्धनलाई ‘मौसमको खोज’को संज्ञा दिएका छन्।
समाजवादी प्रेस संगठन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खनालले मौसम परिवर्तनसँगै यो पनि बदलिने दाबी गरे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जनहितमा कुनै काम गर्न नसकेको आरोप लगाएका छन्। सरकारले जनहितमा काम गर्ने हो भने ‘कोर्स करेक्सन’ गरी अघि बढ्न प्रधानमन्त्रीलाई खनालको सुझाव छ।
उनले प्रचण्ड नेतृत्वको सरकारबाट जनताले धेरै आशा र अपेक्षा गरे पनि कुनै काम हुन नसक्दा जनतामा निराशा छाएको दाबी गरे। जनताका आधारभूत आवश्यताहरूसमेत सरकारले पूरा गर्न नसकेको भन्दै उनले ‘जुन जोगी आए पनि कान चिरेको’ भन्दै कटाक्ष गरे।
सत्तामा बसेका शक्तिहरूले ठीक ढंगले काम गर्न नसक्दा अन्य शक्तिहरूले टाउको उठाउने अवसर पाएको उनले बताए। हाल देशमा मान्छे बेच्ने उद्योग सबैभन्दा धेरै मौलाएको भन्दै उनले सरकारका कामप्रति असन्तुष्टि व्यक्त गरे।
अर्को प्रसंगमा खनालले गलत वैचारिक र राजनीतिक कार्यदिशाका कारण कम्युनिस्ट पार्टीमा फुट आउने गरेको बताउँदै सही कार्यदिशा भएमा कम्युनिस्ट आन्दोलन पुनः एकताबद्ध हुने दाबी गरे।
देशमा समाजवाद आवश्यक रहेको र हालको गठबन्धनबाट समाजवाद नआउने उनको ठोकुवा छ। एकीकृत समाजवादी पार्टीको महाधिवेशनपछि नेपाली कम्युनिस्ट र समाजवादी आन्दोलनमा नयाँ लहर सिर्जना हुने दाबीसमेत उनले गरे।