१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o८:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङका किसान भन्छन्, ‘गाउँमा अलैँची खेती हुन थालेपछि दसैँ मान्न छोडियो’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:४७:oo

यतिवेला दसैँको रौनक सबैतिर छाएको छ । तर, लमजुङका अलैँची किसान भने दसैँ मनाउन छोडेर अलैँची टिप्न र सुकाउन व्यस्त छन् । सहरबजार झरेका युवाहरू गाउँ फर्किएसँगै गाउँका वृद्धवृद्धा, बालबालिका तथा युवायुवती अलैँची टिप्न र सुकाउने कार्यमा लागेका हुन् ।

मर्स्याङ्दी गाउँपालिका– ७ छिनखोलाका ५८ वर्षीया अलैँची किसान आइतराम तामाङले भने, ‘गाउँमा अलैँची खेती हुन थालेपछि दसैँ मान्न छोडियो ।’ उनी भन्छन्, ‘हाम्रा लागि दसैँ नै अलैँची हो ।’ विगतका वर्षहरूमा जस्तै यसपटकको दसैँ पनि अलैँची बगानमा बितेको उनले बताए । 

अलैँची पाकिसकेकाले सबै किसान अलैँची बारीमा अलैँची टिप्न व्यस्त रहेको अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवं अलैँची किसान अजय तामाङले बताए । उनी भन्छन्, ‘पाकिसकेको अलैँची समयमा टिपिएन भने बिस्तारै ढुसी लाग्ने र गुणस्तरमा कमजोर हुने भएकाले स्थानीय सचेत छन् ।’ मर्स्याङ्दी गाउँपालिका– ७ छिनखोलामा रहेका ५५ घरधुरीका अलैँची किसान अहिले अलैँची टिप्न र सुकाउन व्यस्त छन् । 

गाउँका सबैले अलैँची खेती गरेका छन् । विदेश गएकाहरू पनि गाउँ फर्केर अलैँची खेतीमा लागेका छन् । छिनखोलाका स्थानीयले मात्रै २५ हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती गरेका छन् । जिल्लाका किसानले साउने, डम्बरसाई, जिर्मले, रामसाई, गोलसाई जातका अलैँची खेती गर्दै आएका छन् । जिल्लामा यस वर्ष १५ सय हेक्टर क्षेत्रफमा अलैँची विस्तार गरिएको छ भने ९ हेक्टर क्षेत्रफलमा उत्पादन हुनेछ ।  

गत वर्ष ७ सय ५० हेक्टर क्षेत्रफलमा दुई हजार क्विन्टल अलैँची उत्पादन भएको थियो । अलैँची बिक्रीबाट १२ करोड भित्रिएको थियो । यसपटक उत्पादन २५ प्रतिशतले वृद्धि हुने अध्यक्ष तामाङले बताए । जिल्लाको भुलभुले, लुदी, छिनखोलासहित बाँझाखेत, घाम्राङ, घनपोखरा, खुदी, गौँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनीलगायतका पाखाहरूमा व्यावसायिक अलैँची खेती हुँदै आएको छ । 

अलैँची व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएकाले गाउँगाउँबाट सहरमा पसेकासमेत आफ्नै गाउँ फर्किएर अलैँची व्यवसाय सुरु गर्न थालेका छन् । पछिल्लो समय लमजुङ अलैँचीको हब जिल्लाको रूपमा समेत परिचित हुँदै गएको छ । 

ad
ad