मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ कार्तिक ११ मंगलबार २०:०२:००
Read Time : > 2 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सहर हुँदै गाउँ पस्यो कोरोना, स्वाब संकलन गरिएका ८० प्रतिशतमा संक्रमण पुष्टि 

Read Time : > 2 मिनेट
२०७७ कार्तिक ११ मंगलबार २०:०२:००

चाडबाडको समयमा मानिसको आवतजावतमा भएको वृद्धिसँगै गाउँमा कोरोना संक्रमण पनि बढ्दै गएको छ ।

पछिल्लो एक साताको मात्रै तथ्यांक हेर्दा सक्रिय संक्रमितको संख्यामा वृद्धि बढेको छ । कोरोना चेक गर्नका लागि स्वाब दिएकामध्ये ८० प्रतिशतलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए ।  

जिल्ला प्रशासन कार्यालय दैलेखले सदरमुकाममा मात्रै प्रभावकारी परीक्षण गर्ने हो भने ४० देखि ५० प्रतिशतमा संक्रमण देखिन सक्ने आशंका गरेको छ । प्रशासनले अत्यावश्यक कामबाहेक कात्तिक १५ सम्मका लागि सबैखाले आवतजावत बन्द गरेको छ । 

११ वटा पालिकाका बजार केन्द्रहरू बन्द गरेको छ । मास्क नलगाएर सदरमुकाममा हिँडडुल गर्नेलाई पक्राउ गर्ने काम थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

दसैँको अवसरमा दुई दिन बन्द भएको परीक्षण कार्य पुनः सुरु गरिएको छ । कोरोना परीक्षणको रकम तोकेपछि परीक्षण गर्नेहरू ह्वात्तै घटेका छन् । 

प्रशासनले समुदायमा कोरोना फैलिएको आशंका गरेको छ । सदरमुकाममा मात्रै एक सय ५० भन्दा बढी सक्रिय संक्रमित पुगेका छन् । कडा ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो भएर अक्सिजन दिनुपर्ने अवस्थाका बिरामी बढ्दै गएको   डा. पन्तले बताए ।  

यी पेसाकर्मीमा बढी संक्रमण 

सदरमुकाम दैलेख बजारभित्रै सक्रिय काम गरिरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, होटेल व्यवसायी र व्यापारीलाई कोरोना संक्रमण  बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । प्रहरीले मास्क नलगाउनेलाई केहीबेर नियन्त्रणमा लिने र छोड्ने अभियान चलाएको छ ।  

दैलेखमा १४ स्वास्थ्यकर्मी, १५ सुरक्षाकर्मी, तीन सञ्चारकर्मी, २० होटेल व्यवसायी र २० जना व्यापारीलाई पछिल्लो एक सातामा संक्रमण देखिएको छ । 

कोरोना परीक्षणमा शुल्क लाग्ने भए पनि परीक्षण गर्ने घटे 

दैलेखमा सञ्चालन रहेको पिसिआर मेसिनबाटै कोरोना परीक्षण भइरहेको छ । संक्रमितहरूको संख्या दिनदिनै बढ्न थालेपछि जनशक्ति र अन्य साधनको अभाव भएको भन्दै दैलेखमा निःशुल्क गरिएको कोरोना परीक्षणलाई शुल्क लगाइएको छ । 

‘निःशुल्क परीक्षण थाम्न नसकिने अवस्था भयो, सरकारले तोकेको शुल्क लगाउने तयारीमा छौँ,’ डा. नीरञ्जन पन्तले नयाँ पत्रिकासँग भने ।

गरिब र विपन्न समुदायका मानिसमा लक्षण देखिँदा पनि शुल्क तोकेपछि कोरोना परीक्षण गर्नेहरूको संख्या ह्वात्तै घटेको छ । 

कर्णाली प्रदेश सरकारले सबै कुरा निःशुल्क भनेर घोषणा गरेको भए पनि व्यवहारमा लागू नभएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । 

प्रतिनिधिसभाका सदस्य रवीन्द्रराज शर्माले सांसदको क्षेत्र विकास कोषअन्तर्गत एक करोडभन्दा बढीमा ल्याएको पिसिआर मेसिनले अहिलेसम्म प्रभावकारी काम गरिरहेको छ । 

संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी पनि संक्रमितको सेवामा  

आफैँ संक्रमित भएका स्वास्थ्यकर्मीले उपचारका लागि आएका कोरोना संक्रमितको उपचार गरिरहेका छन् । 

लक्षणसहित संक्रमण भएको थाहा हुँदाहुँदै पनि स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले पिपिई सेट नलगाएर सामान्य मास्कको भरमा संक्रमितको जाँच गरेर बिरामीलाई उत्साह प्रदान गरेका छन् । 

उनले भने,  ‘हामीले नै बिरामीलाई हेला गऱ्याैँ भने मनोबल झन् कमजोर हुन्छ । त्यसैले दैलेखका सबै स्वास्थ्यकर्मीहरूले बिरामीहरूलाई यसरी नै जाँच गरिरहेका छन् ।’ 

स्वास्थ्य सेवा कार्यालय दैलेखमा कार्यरत दुईजना डाक्टरसहित १४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
 
आइसाेलेसन भरियो, विकल्पको खोजी

कर्णाली प्रदेश सभाका सदस्य अमरबहादुर थापाको निर्वाचन क्षेत्र विकास कोषअन्तर्गत एक महिनाको अवधिमा तयार गरिएको ५२ शय्याको आइसोलेसन अस्पताल सक्रिय संक्रमितहरूले भरिसकेको छ । 

पुरानो आइसोलेसनको रूपमा निर्माण गरिएका विद्यालय वा अन्य विकल्पबारे जिल्ला दैवी प्रकोप कोभिड रोकथाम तथा नियन्त्रण समितिमा छलफल गरिएको छ । महाबु गाउँपालिकामा पनि प्रिफ्रयाव मोडेलमा आइसोलेसन अस्पताल निर्माण गरिएको छ । 

कोरोना संक्रमण बढ्दै जाँदा स्थानीय सरकार डरायो 

कोरोना संक्रमणको सुरुवाती अवस्थामा निकै तामझामका साथ व्यवस्थापनमा खटिएका स्थानीय सरकार समस्या बढ्दै गएका वेलामा भने डराएका छन् । 

सक्रिय संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएका वेलामा जनतालाई सचेतना फैलाउने, गरिब र विपन्न समुदायका नागरिकलाई मास्क, स्यानिटाइजर र साबुन वितरण गर्ने, उपचारमा सहयोग पुऱ्याउने गतिविधिमा कमी आएको छ । विगतमा अनावश्यक रूपमा करोडौँ खर्च गरेको नाटक मात्रै भएको स्थानीयको आरोप छ ।