१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक ९ आइतबार १७:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक महिनादेखि सिएमसी अस्पतालमा बन्धक बिरामी एकाएक सम्पर्कविहीन

Read Time : > 1 मिनेट
२०७७ कार्तिक ९ आइतबार १७:०८:००

उपचार खर्च तिर्न नसकेर अस्पतालमा बन्धक बनेका ३४ वर्षीय राजु थिङ सम्पर्कविहीन भएका छन् ।

उपचारपछि निको भए पनि चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)ले पैसा नदिएको भन्दै उनलाई बन्धक बनाएको थियो । तर, अस्पतालका अनुसार राजु र उनकी श्रीमती संगीता शनिबार बिहान ११ बजेदेखि सम्पर्कमा छैनन्।

अस्पतालले प्रहरीलाई जानकारी गराएर खोजिदिन आग्रह गरेको छ । अस्पतालमा बिरामी बन्धक हुँदा मौन बसेको जिल्ला प्रहरी कार्यालय चितवनले यस विषयमा अनुसन्धान भइरहेकाे जानकारी दियो । 

मकवानपुर भीमफेदी गाउँपालिका– ९ का राजु थिङ घरमा पनि पुगेका छैनन् । अस्पतालका  निर्देशक डा. दयाराम लम्साल भने, ‘उनी अस्पतालबाट भागेर घर गएका होलान् । हामी थप अनुसन्धान गरिरहेका छौंँ ।’ 

अस्पतालले प्रहरीलाई जानकारी गराएर खोजिदिन आग्रह गरेको छ । अस्पतालमा बिरामी बन्धक हुँदा मौन बसेको जिल्ला प्रहरी कार्यालय चितवनले यस विषयमा अनुसन्धान भइरहेकाे जानकारी दियो । 

यसअघि पैसा नतिरेकै कारण आइसियूबाट साधारण बेडमा समेत उनलाई अस्पतालले सारेको थिएन । नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि अस्पतालले २३ असोजको राति उनलाई साधारण वार्डमा सारेको थियो । 

राजुले औषधि पसलमा करिब एक लाख ९८ हजार र अस्पतालमा करिब तीन लाख रकम तिर्न बाँकी छ । ऋण खोजेर उनको परिवारले अस्पताललाई दुई–तीन लाख रुपैयाँ बुझाइसकेको छ । बाँकी पैसा उनले तिर्न सक्ने अवस्था नरहेको बताउँदै आएका थिए । 

अस्पतालमा बन्धक छोरा निकाल्न राजुका बुबा गाउँघरमा पैसा उठाउँदै हिँडिरहेको उनले नयाँ पत्रिकासँग बताएका थिए । 

राजुको परिवारले स्थानीय तह र सम्बन्धित निकायहरूसमेत आफ्नो समस्या राखेकाे थियाे । तर, यो विषयलाई जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाले वास्ता गरेनन् । 

अस्पतालले पनि उनलाई असहाय, गरिबको कोटाबाट छुट दिन नसक्ने बताएको थियो । बिरामीलाई साधारण बेडमा सारे पनि पनि सिएमसीका अध्यक्ष तथा प्रबन्ध-निर्देशक डा. हरिश्चन्द्र न्यौपानेले यसअघि बिरामीलाई एक रुपैयाँ पनि छुट नदिने बताएका थिए । सरकारको नियमभित्रै बसेर उपचारबापत शुल्क लिएको भन्दै उनले आफूहरूले निःशुल्क उपचार गर्न नसक्ने बताएका हुन् ।

के भएको थियो राजुलाई  ?

कक्षा चारसम्म मात्र पढेका राजु हेटौँडास्थित ‘लोकप्रिय होटेल’मा ‘कुक’को काम गर्थे । उनकी पत्नी  पनि सोही होटेलमा भाँडा माझ्थिन् । तर, कोरोना भित्रिएसँगै होटेल बजार ठप्प हुन पुग्यो ।  त्यसपछि उनी श्रीमतीसँगै घर फर्किए । तर, घर फर्किनु उनका लागि दुःखद बन्न पुग्यो ।

 उनको समुदायमा माछा मार्ने चलन, उनी पनि लागे खोलातिर । तर, यही उनका लागि दुर्भाग्य बन्यो । माछा मार्न जाँदा उनी नराम्ररी लडे । त्यतिवेला ‘सामान्य होला’ भन्ने सोचेर सामान्य औषधिमूलो गरे पनि भदौको अन्तिमतिर भने उनी अचानक बेहोस बन्न पुगे ।

परिवारले उनलाई  हेटौँडाकै अस्पतालहरू पुर्‍याए । तर, स्वास्थ्य अवस्था जटिल भएको भन्दै उनलाई त्यसैदिन २९ भदौमा चितवन मेडिकल कलेज (सिएमसी) ल्याइएको थियो । सिएमसीमा उपचार सुरु भएको १० दिनपछि उनको होस खुल्यो । 

 चिकित्सकका अनुसार उनलाई निमोनियाका कारण समयमा उपचार हुन नसक्दा ‘सेप्टिक सक’ भएको थियो । यो अवस्थाको बिरामीलाई उपचारपछि निको बनाउनै निकै मिहिनेत गर्नुपर्ने चिकित्सक बताउँछन् ।

याे पनि पढ्नुहाेस्

निको भएका बिरामी आइसियूबाट साधारण बेडमा सारियो, तर बिरामी अझै बन्धक

उपचार खर्च तिर्न नसकी अस्पतालमा बन्धक बिरामी भन्छन्- निको भएपछि यहाँ बस्ने रहर कसलाई हुन्छ र ?