१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक २ आइतबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक २ आइतबार o५:२६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाली हेल्थ डेस्कले चीनको पिसिआर रिपोर्ट नबुझ्दा ग्वान्जाओमै  रोकिए नेपाली विद्यार्थी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक २ आइतबार o५:२६:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कले कोरोना भाइरस परीक्षणसम्बन्धी चिनियाँ रिपोर्ट नबुझ्दा सात नेपाली विद्यार्थी ग्वान्जाओमै रोकिएका छन् । उनीहरूलाई शनिबार विमानस्थलबाट फर्काइएको छ । 

चीनमा अध्ययनरत उनीहरू दसैँ मान्न स्वदेश आउने क्रममा पिसिआर रिपोर्टसहित आवश्यक कागजात लिएर विमानस्थल पुगेका थिए । तर, चाइना साउदर्न एयरलाइन्सका कर्मचारीले रियल टाइम पिसिआर नलेखिएको चिनियाँ रिपोर्टका आधारमा यात्रा गर्न नमिल्ने भन्दै उनीहरूलाई फर्काएका छन् । ‘हाइनान र हान्जाओबाट सातजना विद्यार्थी नेपाल फर्किने क्रममा उनीहरूको रिपोर्टलाई मान्यता दिन नसकिने भनेर रोकिएछ, तर रिपोर्टको आधिकारिकताबारे हामीले काठमाडौंको हेल्थ डेस्कलाई बुझाइसक्दा प्लेन छुटिसकेछ,’ ग्वान्जाओस्थित नेपाली महावाणिज्यदूत हरिशरण पुडासैनीले टेलिफोनमा नयाँ पत्रिकासँग भने । 

सिसिएमसीको निर्देशनअनुसार विदेशबाट नेपाल आउने विदेशी वा नेपालीले आरटी–पिसिआर (रिएल टाइम पिसिआर) परीक्षण गर्नुपर्छ र रिपोर्टमै आरटी–पिसिआर उल्लेख हुनुपर्छ । चीनमा भने आरटी–पिसिआर नभएर न्युक्लियर एसिड टेस्ट नाम दिने गरिएको छ जुन पिसिआर नै हो । तर, नेपालकोे हेल्थ डेस्क अपडेट नभएकाले समस्या आएको बताउँदै बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले टेलिफोनमा भने, ‘नेपालको हेल्थ डेस्कले रिपोर्टमा पिसिआर नै लेखेको हुनुपर्ने भनेको रहेछ, तर चीनमा पिसिआर लेख्दैनन्, न्युक्लियर एसिड टेस्ट लेख्छन् । सबै देशमा पिसिआर लेख्दैनन्, तर टेस्टचाहिँ पिसिआर नै हुन्छ ।’ 

चिनियाँ समयअनुसार शनिबार बिहान ८:५५ बजेको चाइना साउदर्न एयरलाइन्सको उडानबाट उनीहरू स्वदेश फर्किनुपर्ने थियो । नेपाली विद्यार्थीको रिपोर्ट सही भएको एयरलाइन्सका कर्मचारीले बुझे पनि नेपाली हेल्थ डेस्कलाई बुझाउन समय लागेको महावाणिज्यदूत पुडासैनीले बताए । नेपाली हेल्थ डेस्कलाई कुरा बुझाउन समय लागेको र त्यतिन्जेल प्लेन छुटिसकेका कारण विद्यार्थी आउन नभएको उनले बताए । अबदेखि पिसिआर नलेखिएको भए पनि त्यससम्बन्धी चिनियाँ रिपोर्टलाई मान्यता दिने र कसैलाई पनि नरोक्ने आश्वासन हेल्थ डेस्कले दिएको पनि महावाणिज्यदूत पुडासैनीले बताए । 

रोकिएका विद्यार्थीमा धरानका नारायण घिमिरे, हेटौँडाका सुनील लामा, बर्दियाका अरुण कामी, चितवनका आका गर्बुजा, बुटवलका रामप्रसाद आचार्य र प्रतीक्षा गुरुङ तथा भैरहवाका अनुभव श्रेष्ठ छन् । रोकिएकामध्ये पाँचजना एयरपोर्ट नजिकैको होटेलमा बसेका छन् भने दुईजना बाहिर छन् । ग्वान्जाओबाट अहिले चाइना साउदर्न एयरलाइन्सको उडान सातामा एउटा मात्रै रहेका कारण उनीहरूले एक साता पर्खिनुपर्नेछ । एयरलाइन्सले पहिलेकै टिकटमा उनीहरूलाई काठमाडौं ल्याइदिने वचन दिएको पुडासैनीले बताए ।