१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक १ शनिबार
  • Wednesday, 02 July, 2025
एजेन्सी
२o७७ कार्तिक १ शनिबार १३:o२:oo
Read Time : > 1 मिनेट
खेलकुद

मापदण्ड उल्लंघन गर्दा रोनाल्डोलाई कोरोना संक्रमण

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७७ कार्तिक १ शनिबार १३:o२:oo

यो साता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमित भएको समाचारले विश्वभर चर्चा पायो । कोभिड– १९ संक्रमण फैलन थालेदेखि नै रोनाल्डोले सेल्फ आइसोलेसनमा रहँदै आएको दाबी गरिरहेका थिए । यद्यपि, उनी पोर्चुगल र युभेन्टस आउने र जाने भने गरिरहेका थिए । उनलाई यही क्रममा संक्रमण भएको अनुमान गरिएको छ । 

रोनाल्डोलाई संक्रमण देखिएसँगै सिरिए लिग क्लब युभेन्टस तनावमा छ । यसअघि युभेन्टसका दुईजना खेलाडी संक्रमित हुँदा पूरै टोली आइसोलेसनमा बसेको थियो । युभेन्टसका अन्य खेलाडी क्वारेन्टिनमा रहँदा रोनाल्डो भने पोर्चुगल गएका थिए । 

इटालीका खेलकुदमन्त्री भिन्सेन्जो स्पाडाफोराले रोनाल्डोले कोभिड– १९ सम्बन्धी मापदण्ड उल्लंघन गरेका कारण संक्रमित भएको आरोप लगाएका छन् । रोनाल्डोले कोभिड– १९ को सामान्यभन्दा सामान्य मापदण्ड पनि पालना नगरेको उनको आरोप छ । ‘मेरो विचारमा यहाँ सबैभन्दा ठूलो जिम्मेवारी लिनुपर्ने नै स्वास्थ्यको हो, केही स्टार खेलाडी आफ्नो स्वास्थ्यमाथि नै खेलबाड र गैरजिम्मेवार तरिकाले हिँडिरहेका छन्,’ रोनाल्डोमाथि इंगित गर्दै भिन्सेन्जोले भने, ‘जोखिम हुँदाहुँदै रोनाल्डो पोर्चुगलबाट इटाली आइपुगेका छन्, यसै क्रममा उनी संक्रमित भएका हुन् ।’ राष्ट्रिय टोलीमा सहभागी हुने क्रममा रोनाल्डो गत साता पोर्चुगल पुगेका थिए । यही समयमा युभेन्टस र सिरिए व्यवस्थापनले युभेन्टसका खेलाडी आइसोलेसनमा बस्नुपर्ने निर्देशन दिएका थिए । तर, रोनाल्डो क्लबको निर्णय नमानी पोर्चुगल गएको मन्त्री भिन्सेन्जोले दाबी गरेका छन् । ‘युभेन्टसका दुई खेलाडीमा कोरोना पजिटिभ देखिएपछि अन्य खेलाडी तथा स्टाफलाई आइसोलेसनमा बस्न भनिएको थियो,’ उनले भने, ‘रोनाल्डो नियमविरुद्ध गए ।’ 

पाँचपटकको फिफा वर्ष (बालोन डि अर) विजेता रोनाल्डो गत सोमबार संक्रमित भएका थिए । निजी विमानबाट पोर्चुगलबाट मिलान फर्किएका उनलले तत्कालै परीक्षण गराएका थिए । यही क्रममा उनमा संक्रमण देखिएको हो । गत साता पेरिसमा भएको अन्तर्राष्ट्रिय फुटबल खेलमा पोर्चुगलले फ्रान्ससँग गोलरहित बराबरी खेलेको थियो । यो खेलपछि नै रोनाल्डो इटाली फर्किएका हुन् । 

रोनाल्डोले मापदण्ड तोडेको मन्त्री भिन्सेन्जोको आरोपपछि युभेन्टसले सबै जिम्मेवारी लिने जनाएको छ । युभेन्टसका अध्यक्ष एन्डे« एग्नेलीले भनेका छन्, ‘हामीले स्वास्थ्य मन्त्रालयले जारी गरेको सबै प्रोटोकल मानिरहेका छौँ, यसविरुद्ध जाने खेलाडीले नियम तोडेको भन्नुपर्छ ।’ 

एन्डे«ले रोनाल्डोबाट नियम भंग भएको स्वीकार गरेका छन् । उनी भन्छन्, ‘रोनाल्डो सबै स्वास्थ्य परीक्षण गरी निजी विमानबाट मिलान फर्किएका थिए, यसै क्रममा संक्रमित भएका हुन्, अब सबै खेलाडी तथा स्टाफलाई अनिवार्य रूपमा आइसोलेसनमा बस्न भनेका छौँ ।’ अमेरिकन मिडफिल्डर वेस्टन म्याककेनिन संक्रमित भएपछि युभेन्टसका खेलाडी तथा स्टाफ १० दिनदेखि आइसोलेसनमा छन् ।

यता सिरिए फुटबल एसोसिएसनले पनि खेलाडी थप संक्रमित हुन नदिन प्रोटोकल अनिवार्य रूपमा लागू गर्न क्लबहरूलाई निर्देशन दिएको छ । यसविरुद्ध जाने खेलाडीलाई कारबाही गर्नसमेत भनिएको छ ।

ड्यानामो किभविरुद्धको प्रतिस्पर्धामा रोनाल्डो सहभागी नहुने 
संक्रमणका कारण रोनाल्डोले अब युरोपियन च्याम्पियन्स लिगअन्तर्गत २० अक्टोबरमा ड्यानामो किभविरुद्ध प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । रोनाल्डोको २१ अक्टोबरमा कोरोना परीक्षण हुनेछ । यो परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आए मात्र उनले च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनासँग खेल्न पाउनेछन् ।