भारतको कोठीमा युवती बेच्ने अभियुक्त ६ वर्षपछि समातिए

आइतबार, २५ असोज, २०७७
डिजिटल संस्करण

निम्न आर्थिक अवस्था भएकी एक किशोरीलाई जागिरको प्रलोभनमा भारतको कोठीमा लगेर बिक्री गर्ने अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् । 

सिन्धुपाल्चोकको मेचम्ची नगरपालिका– २ घर भएका टाउटाउ तामाङलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले गोकर्णेश्वरबाट शुक्रबार पक्राउ गरेको हो । 

०७१ सालमा उनले सिन्धुपाल्चोककै एक १५ वर्षीय किशोरीलाई जागिर लगाइदिने भन्दै काठमाडौंमा ल्याएका थिए । 

काठमाडौंबाट सुनौली नाका हुँदै भारत पुऱ्याए । नयाँदिल्लीमा लगेर तीन लाख रुपैयाँमा उनले बिक्री गरेको प्रहरीले जनाएको छ । 

दिल्ली, मुम्बईका विभिन्न कोठीमा पाँच वर्ष नारकीय जीवन बिताएर पीडित किशोरी गत वर्ष नेपाल आएकी थिइन् । 
ब्युरोमा उनले गत वर्ष  नै उनले जाहेरी दिएकी थिइन् । 

फरार रहेका तामाङलाई ठूलो मिहिनेतपछि पक्राउ गरिएको ब्युरोका निर्देशक एसएसपी डा. देवबहादुर बोहराले बताए । 

‘उनलाई हामीले एक वर्षदेखि खोजी गर्दै आएका थियौँ,’ बोहरा भन्छन्, ‘उनले अन्य किशोरीलाई पनि भारत लगेको हाम्रो आशंका छ ।’ 

अभियुक्त पछिल्लो समय जग्गाको कारोबारमा थिए । किशोरीलाई बिक्रीमा संलग्न अन्य तीनजना फरार छन् । 

पीडित किशोरी हाल शक्ति समूहको संरक्षणमा रहेको ब्युरोका प्रहरी निरीक्षक सुवास केसीले बताए ।

सुझावित समाचार