
ग्रान्डस्लाम फाइनलमा पुनः एकपटक नोभाक जोकोभिक र राफेल नाडालबीच प्रतिस्पर्धा हुने भएको छ । फ्रेन्च ओपनको सेमिफाइनलमा साबिक विजेता नाडालले डिएगो स्चवाटजम्यानलाई ६–३, ६–३ र ७–६ को सीधा सेटमा हराउँदै फाइनल स्थान सुरक्षित गरे । शीर्ष वरीयताका जोकोभिकले स्टेफानोस सित्सिपासलाई ६–३, ६–२, ५–७, ४–६ र ६–१ को पाँच सेटमा हराउँदै नाडालविरुद्धको भेट पक्का गरेका हुन् ।
जोकोभिकले तेस्रो सेटमा एक म्याच प्वाइन्ट रक्षा गर्न सकेनन् । पाँचौँ सेटमा उनले प्राप्त अर्को म्याच प्वाइन्ट खेर फालेनन् । नाडाल र जोकोभिकले एक–आपसमा ५६औँपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । ग्रान्डस्लामको कुरा गर्दा यी दुई खेलाडीबीच नौपटक फाइनलमा प्रतिस्पर्धा भएको छ ।
यसपटकको फ्रेन्च ओपनको फाइनल जोकोहीले जित्दा इतिहास बन्नेछ । नाडालले १३औँपटक फ्रेन्च ओपन उपाधि चुमे भने उनले रोजर फेडररको नाममा रहेको २० ग्रान्डस्लाम उपाधि बराबरी गर्नेछन् । नाडालले अहिले १९ ग्रान्डस्लाम जितेका छन् । फ्रेन्च ओपन मात्र उनले १२ पटक हात पारेका छन् ।
यता जोकोभिकले फाइनलमा नाडाललाई हराउँदा उनी ५० वर्षको टेनिस इतिहासमा चारैवटा ग्रान्डस्लाम दुईपटक जित्ने तेस्रो खेलाडी बन्नेछन् । साथै उनी १८औँ ग्रान्डस्लामनजिक पनि छन् । जोकोभिकले पहिलोपटक फ्रेन्च ओपन २०१६ मा हात पारेका थिए । उनले अहिलेसम्म १७ ग्रान्डस्लाम जितेका छन् ।
कीर्तिमानले भरिपूर्ण हुने भएकाले नै योपटकको पुरुषतर्फको उपाधि भिडन्त रोमाञ्चक बन्ने छाँटकाँट देखिएको हो । जोकोभिकले सेमिफाइनलमा पाँच सेटको प्रतिस्पर्धा गरेपछि शरीर थाकेकोजस्तो भएको बताएका छन् । ‘अहिले हल्का जिउ दुखेकोजस्तो छ, यद्यपि म आउने खेलका लागि तयार छु,’ उनले भने, ‘मानसिक रूपमा बलियो हुनु जरुरी छ ।’
जोकोभिकले फाइनलको स्थान पक्का गर्न तीन घन्टा ४५ मिनेट लगाएका थिए । यता नाडालले सेमिफाइनल चरण पार गर्न तीन घन्टा मात्र समय खर्चिएका थिए । ‘मलाई लाग्छ टेनिस इतिहासमा फेरि कडा प्रतिस्पर्धाको प्रतीक्षामा छ,’ नाडालले भने, ‘म जोकोभिकविरुद्ध प्रतिस्पर्धा गर्न इच्छुक छु ।’ फ्रेन्च ओपनमा नाडालले एकवटा पनि सेट गुमाएका छैनन् ।
त्यहीँ नै जोकोभिकले केवल तीन सेट गुमाउँदै फाइनल स्थान पक्का गरेका छन् । जोकोभिकले यस सिजनमा खेलेका ३८ मध्ये ३७ खेल आफ्नो पक्षमा पारेका छन् । गत महिना युएस ओपनको क्वार्टरफाइनलमा जोकोभिकले साइड लाइन्सम्यानलाई बलले प्रहार गरेका थिए । त्यसपछि उनी प्रतियोगितामा अयोग्य घोषित हुँदै युएस ओपनबाट बाहिरिए ।
यो खेलबाहेक उनले अन्य खेल गुमाएनन् । फ्रेन्च ओपनमा ६ पटक कुनै सेट नगुमाई नाडाल फाइनल पुगेका छन् । उनले यो सफलता २००७, ०८, २०१०, २०१२, २०१७ र २०२० मा हात पारेका हुन् । करिअरमा उनले आठपटक ग्रान्डस्लाम जित्दा कुनै सेट गुमाएनन् । जसमा फ्रेन्च ओपन ६ पटक समावेश छ । नाडालले सेमिफाइनलका आफ्ना प्रतिद्वन्द्वीलाई ११ पटक हराए ।
एजेन्सीको सहयोगमा