
संघीय सांसद अमनलाल मोदी कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमण पृष्टि भएपछि मोरङको बुढीगंगा गाउँपालिका– २ टंकीस्थित विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना भएर उपचार गराइरहेका सांसद मोदी शनिबार कोरोनामुक्त भएका हुन् ।
४ असोजमा अस्पतालको आइसोलेसनमा भर्ना भएका उनकाे पछिल्लाे पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरिसकेको सांसद अमनलालले बताए । उनले भने, ‘आइसोलेसनमा बस्दा शारीरिक व्यायाम गर्ने, पर्याप्त स्वास्थ्यकर खाना खाने र पुस्तकहरू अध्ययन गर्ने काम गरेँ । यसले पनि काेराेनामुक्त हुन सहयाेग गर्याे।’
सांसद मोदीकी ७० वर्षीया आमा, श्रीमती, छोरा, भतिज, दाजुलगायत परिवारका नौजनामा कोरोना संक्रमण भएको थियो । आमा अझै विराट अस्पतालको आइसोलेसनमा उपचाररत छिन् । बाँकी सदस्यहरू घरमै आइसोलेसनमा छन् । आमासहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अमनलालले बताए ।
बुढीगंगा गाउँपालिका– ६ डंग्राहा घर भएका प्रतिनिधिसभा सदस्य अमनलाल नेकपाबाट प्रत्यक्षतर्फ विजयी सांसद हुन् ।