मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ असोज १० शनिबार १३:३४:००
Read Time : > 1 मिनेट
खेलकुद

राष्ट्रिय टोलीमा नपरेपछि डी मारियाको आक्रोश– मेसी र अगुएरोलाई पनि बाहिर राख्नुपर्छ

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ असोज १० शनिबार १३:३४:००

सन् २०२२ को विश्वकप फुटबल छनोटका निमित्त अर्जेन्टिनाले राष्ट्रिय टोलीको घोषणा गरेको छ । प्रशिक्षक लियोनल स्कोलारीले युवा खेलाडीलाई प्राथमिकतामा राखेको जनाउँदै पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर एन्जल डी मारियालाई बाहिर राखेका छन् । प्रशिक्षक स्कोलारीले दक्षिण अमेरिका छनोटअन्तर्गत बोलिभिया र इक्वेडरविरुद्धको खेलमा डी मारियालाई बाहिर राखेका हुन् । 

राष्ट्रिय टोलीबाट बाहिर रहेपछि डी मारिया यतिवेला उग्र छन् । उनले खुला रूपमा प्रशिक्षक स्कोलारीलाई चुनौती दिएका छन् । युवा खेलाडीलाई स्थान दिएको भए टोलीकै सबैभन्दा पाका खेलाडीद्वय लियोनल मेसी तथा सर्जियो अगुएरोलाई सुरुमै बाहिर राख्नुपर्ने डी मारियाले प्रतिक्रिया दिएका छन् । 

‘मलाई राष्ट्रिय टोलीबाट कल आएको छैन, किनभने वर्तमान प्रशिक्षकलाई मेरो खाँचो रहेनछ,’ डी मारियाले भने, ‘टोलीमा फर्कनका लागि म कडा मिहिनेत गर्नेछु ।’ सन् २०१९–०२० को सिजनमा पिएसजीबाट उत्कृष्ट प्रदर्शन गरेका डी मारियाले आफू टोलीमा नपर्नुको कारण नभेटिएको जनाएका छन् । ‘खै, मैले त्यस्तो कुनै कारण नै भेटाउन सकेको छैन, आखिरमा राम्रो फर्ममा रहँदारहँदै म किन टोलीमा परिनँ ?’ प्रतिप्रश्न गर्दै उनले भने, ‘युवा खेलाडीकै नाम लिने हो भने सुरुमा मेसी र अगुएरोलाई पनि बाहिर राख्नुपर्ने थियो, उनीहरू घोषित खेलाडीमध्ये पाका हुन् ।’ 

बार्सिलोनाका लियोनल मेसी ३३ वर्ष तथा अगुएरो ३२ वर्षका हुन् । यद्यपि, डी मारिया पनि ३२ वर्षकै हुन् । डी मारिया पछिल्लो निर्णयप्रति केही प्रश्न नै नभएको मान्छन् । भन्छन्, ‘मसँग यसको कुनै उत्तर नै छैन, म किन टोलीमा नपरेको भनी सबैलाई जानकारी दिनुपर्ने आवश्यकता पनि छैन, म निःशब्द छु ।’ दक्षिण अमेरिकामा अर्जेन्टिना उत्कृष्ट टोली भएको उनले दाबी गरेका छन् । ‘मेरो नजरमा अर्जेन्टिना अहिले पनि उत्कृष्ट टोली हो, फर्ममा रहेका खेलाडी नपर्नाले दुःख लागेको छ ।’ 

युवा खेलाडीलाई मौका दिन योजना बनाएको भए पुराना खेलाडीलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । ‘म ३२ वर्षको भएँ, यदि पुराना खेलाडी विस्थापित गर्ने योजना बनेको छ भने सुरुमै माथिदेखि नै कार्यान्वयन हुनुपर्छ, म एक्लोलाई मात्र किन लागू भयो ?’ उनले भने, ‘पुनः भन्छु– मेसी, अगुएरो तथा किलासलाई अहिले टोलीमा राखिनु हुन्नथ्यो, किनभने उनीहरू पनि ३२ वर्षमाथिका खेलाडी हुन् ।’ 

डी मारियाले खेलमा उमेरको हदबन्दी नहुने तर्क राखेका छन् । वर्तमान समयमा केलियन एम्बाप्पे र नेमारकै स्तरमा आफू प्रतिस्पर्धा गर्न सक्ने भएको उनको भनाइ छ । ‘पिएसजीमा हेर्नुभयो भने नेमार र एम्बाप्पेभन्दा म कम छैन,’ उनले भने, ‘मैदानमा शतप्रतिशत दिन म तयार छु ।’ पछिल्लो १८ महिनादेखि डी मारिया राष्ट्रिय टोलीबाट बाहिर नै छन् ।

टोलीमा फर्कने उद्देश्यका साथ कडा मिहिनेत गरिरहेको उनले बताए । ‘मलाई विश्वास छ, मेरो मिहिनेतले एक दिन काम गर्नेछ,’ उनले भने, ‘म सधैँ राष्ट्रिय टोलीको जर्सीलाई माया गर्छु, जतिपटक मैले अर्जेन्टिनाबाट खेलेँ, त्यति नै पटक गर्वको महसुस गरेँ, सधैँ एक राम्रो खेलाडीका रूपमा प्रस्तुत भएँ ।’ 

१२ वर्षदेखि राष्ट्रिय टोलीमा रहँदा कहिल्यै पनि नराम्रो दिनको सामना नगरेको उनले बताए । उनले अन्तिमपटक २०१९ को जुलाईमा अर्जेन्टिनी टोलीबाट प्रतिस्पर्धा गरेका थिए । कोपा अमेरिकाको तेस्रो स्थानका लागि भएको प्ले–अफमा उनको खेल अन्तिम रह्यो । डी मारियाले अहिलेसम्म १०२ खेल खेले । यस सिजनमा उनले पिएसजीबाट १२ गोल गर्नुका साथै ३२ पटक असिस्ट गरेका छन् ।