मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असोज ५ सोमबार १८:०२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हिंसा र ताेडफाेडकाे डरले अनशनमै काठमाडौं हिँडे डा. केसी 

Read Time : > 1 मिनेट
२०७७ असोज ५ सोमबार १८:०२:००

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसेका डा. गोविन्द केसी सोमबार दिउँसो काठमाडौं हिँडेका छन् । अनशन बसेको आठौँ दिनसम्म सरकारी पक्षबाट माग सम्बोधनको कुनै पनि पहल सुरु नभएपछि पहिलेजस्तो आतंक र हिंसा हुने त्रासले अनशनमै काठमाडौं जाने निर्णय गरेका हुन् । डा. केसी सोमबार जहाजमार्फत नेपालगन्ज हुँदै काठमाडौं हिँडेका हुन् ।  

काठमाडौं जाने क्रममा डा. केसीले भने, ‘माग सम्बोधन गर्नुको साटो चन्दननाथ धर्मशालाबाट रातारात अपहरण शैलीमा जबर्जस्ती अस्पताल सारियो । तर, माग सम्बोधनको कुनै पहल भएन ।’ 

दुई वर्षअघि प्रतिष्ठानमा ४ साउन ०७५ मा अनशनरत डा. केसीलाई काठमाडौं लैजान खोज्दा केसी पक्ष र सुरक्षाकर्मीबीच झडप भएको थियो । झडपमा प्रतिष्ठानको करोडौँको सामग्री क्षति भएको थियो । विद्यार्थी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि घाइते भएका थिए । 

अनशनरत डा. केसीले माग सम्बोधन नभएसम्म कुनै पनि स्वास्थ्य जाँच गर्न नदिने अडान लिएका छन् । धर्मशालाबाट अस्पताल ल्याए पनि उनले दुई दिनदेखि कुनै पनि स्वास्थ्य जाँच गर्न दिएका थिएनन् । 

डा. केसीको उपचार खटिएका चिकित्सक डा. प्रवीणकुमार गिरीका अनुसार दुई दिनदेखि उनले सामान्य जाँच लिन  मानेका छैनन् । उनले भने, ‘हामी स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षणको प्रयास गरिरहेको छौँ, तर उहाँले मान्नुभएन ।’ 

अनशनरत डा. केसीलाई यथाशीघ्र सुरक्षित अस्पतालमा सार्न चिकित्सकको सुझाबको आधारमा प्रहरीले ३ असोज राति १०ः४५ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसियू कक्षमा राखेको थियो ।

चिकित्सक गिरीले भने, ‘शनिबारसम्म दिनको तीनपटक सामान्य स्वास्थ्य जाँच गर्दै आएका थियौँ । तर, अस्पताल ल्याएपछि आइतबारदेखि सबै खालको स्वास्थ्य जाँच लिन मान्नुभएको छैन ।’ प्रेसर, मुटुको गति, शरीरको तापक्रम, अक्सिजनको मात्र, पिसाबको मात्रालगायत कुनै पनि जाँच गर्न नसकिएको उनले बताए । 

उनका अनुसार रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन सक्ने र रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा हुने सम्भावना रहन्छ । 

डा. केसीले स्वास्थ्य जाँच तथा उपचारमा पूर्ण रूपमा अस्वीकार गरिरहेको सन्दर्भमा उनलाई जाँच तथा उपचारका लागि सहज हुने स्थानमा स्थानान्तरण गर्न सोमबार उपचारमा खटिएका स्वास्थ्यकर्मीले सुझाब दिएका थिए । 

डा. केसीको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले डा. प्रवीणकुमार गिरीको नेतृत्वमा डा. धीरज गुरुङ, डा. अनुपमंगल समाल र सविता थापासहित चार सदस्यीय टोली खटाएको थियो ।

२९ भदौदेखि अनशनरत डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नं. २ र गण्डकी प्रदश तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पतालको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् ।