१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o५:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने, भिडियो रेकर्ड न्युयोर्क पुग्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o५:o८:oo

संयुक्त राष्ट्रसंघीय ७५औँ महासभाका उच्चस्तरीय बैठक एवं बहसमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भर्चुअल सम्बोधन गर्ने भएका छन् । महासभाको मुख्य कार्यक्रम ‘जनरल डिबेट’मा प्रधानमन्त्री ओलीले ९ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ । ओलीको सम्बोधनको रेकर्ड राष्ट्रसंघीय महासभामा पुगिसकेको छ । 

स्थापनाको ७५ वर्षमा पहिलोपटक राष्ट्रसंघीय महासभासहित सबै तहका बैठक एवं बहस–छलफल सोमबारदेखि भर्चुअल माध्यमबाट सुरु भएका छन्, जहाँ विश्वका सरकार तथा राष्ट्रप्रमुखहरूले भर्चुअल सम्बोधन गर्दै छन् । एक सय ९३ मुलुक सदस्य रहेको राष्ट्रसंघमा अन्य देशका सरकार तथा राष्ट्रप्रमुखसँगै नेपाल पनि भर्चुअल बैठकमा सहभागी हुँदै छ । 

महासभा विश्वका उच्च राजनीतिक नेतृत्व र कूटनीतिज्ञ जमघट हुने महाभेला हो । इतिहासमा पहिलोपटक विश्वका नेताले महासभालाई भिडियोमार्फत सम्बोधन गर्नेछन् । शीर्ष नेताले १५ मिनेट लामो भाषण रेकर्ड गरेर पठाउनुपर्ने र समय–तालिका मिलाएर महासभामा प्रसारण गर्ने नियम तोकिएको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले १५ असोजमा बेइजिङ प्लस (महिला अधिकारसम्बन्धी) उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । भण्डारीको यसबाहेक अन्य बैठकमा सहभागी हुने कार्यक्रम छैन । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले भने महासभाको जनरल डिबेटसहित कम्तीमा ६ वटा उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नेछन् । कतिपय बैठकका लागि उनले सम्बोधनको भिडियो रेकर्ड गरेर पठाइसकेका छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार दिगो विकास लक्ष्यसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले ५ असोजमा संयुक्त राष्ट्रसंघको ७५औँ वार्षिकोत्सवका अवसरमा महासचिव एन्टोनियो गुटेरसद्वारा आयोजित समारोहलाई सम्बोधन गर्नेछन् । कार्यक्रममा विश्वका अन्य नेताहरूले पनि सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले यीबाहेक गरिबी निवारण, जैविक विविधितासम्बन्धी उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । 

यसबाहेक परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रसंघका कम्तीमा चारवटा बैठकलाई सम्बोधन गर्नेछन् । त्यही सिलसिलामा ज्ञवालीले ८ असोजमा सार्क परराष्ट्रमन्त्रीस्तरीय अनौपचारिक बैठकको अध्यक्षता गर्ने कार्यक्रम छ । बैठकमा नेपाल, भुटान, भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, अफगानिस्तानका परराष्ट्रमन्त्रीहरू भिडियो बैठकमा सहभागी हुने तय भइसकेको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकबाहेक अल्पविकसित मुलुक, अति अल्पविकसित मुलुकहरूको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले आणविक निशस्त्रीकरणसम्बन्धी उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने तय भएको परराष्ट्र स्रोतले जनाएको छ । 

न्युयोर्कमा हरेक वर्ष सार्क अध्यक्ष मुलुकका परराष्ट्रमन्त्रीको आयोजना र समन्वयमा सार्क मन्त्रिपरिषद् (परराष्ट्रमन्त्रीस्तरीय) अनौपचारिक बैठक हुँदै आएका छन् । पछिल्ला वर्ष भारत र पाकिस्तानबीच जारी तनावका कारण सार्कको शिखर सम्मेलन हुन सकेको छैन ।

कोभिड– १९ को महामारीका कारण राष्ट्रसंघ भवन न्युयोर्कका यसपालि सबै बैठक भिडियोमार्फत तय भएको राष्ट्रसंघले जनाएको छ । न्युयोर्कस्थित राष्ट्रसंघीय भवनमा दैनिक चार सयजनाभन्दा कम व्यक्तिलाई मात्रै प्रवेशको बन्दोबस्त मिलाइएको छ । राष्ट्रसंघको वेबसाइटका अनुसार हरेक देशका एकजना प्रतिनिधिलाई मात्रै भौतिक दूरी कायम गर्ने गरी प्रवेश दिइएको छ । 

ad
ad