१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
फाइल फोटो
जीवन बस्नेत काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय राजमार्ग अझै १० ठाउँमा अवरुद्ध, ९१ ठाउँमा एकतर्फी

अहिलेसम्म ३ अर्ब रुपैयाँको क्षति 

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:५८:oo

मनसुनका कारण देशभरका दुई सय २३ ठाउँमा राष्ट्रिय राजमार्ग अवरुद्ध भएको तथ्यांक सडक विभागले सार्वजनिक गरेको छ । त्यसमध्ये १० ठाउँको सडक अझै सुचारु भएको छैन । त्यस्तै, ९१ ठाउँमा भने आंशिक (एकतर्फी सुचारु) र एक सय २२ ठाउँमा भने सामान्य भइसकेको सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले जानकारी दिए । 

राजमार्ग र सडक–पुल भत्कँदा हालसम्म तीन अर्ब रुपैयाँको क्षति भइसकेको विभागको प्रारम्भिक अनुमान छ । सामान्य र उपलब्ध स्रोतले भ्याउने स्थानमा विभाग आफैँले पुनर्निर्माण गर्ने तयारी गरेको छ । तर, ठूलो क्षति भएका ठाउँमा भने पुनर्निर्माणका लागि गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग आग्रह गर्ने विभागले बताएको छ । त्यस्तै, अहिले उद्धार तथा सडक सुचारु गर्नका लागि खटिएको जनशक्ति र हेभी मेसिनलाई दशैँसम्म फिल्डमै खटाइने उपमहानिर्देशक सापकोटाले जानकारी दिए । 

कहाँ अझै सडक अवरुद्ध छ ? 
बर्खामा धेरै प्रभावितमध्येको एक साँफेबगर–मार्तडी सडकको अम्कोट–द्वारीखण्ड अझै अवरुद्ध छ । २५ असारदेखि अवरुद्ध सडक विभागले २५ भदौसम्ममा खुल्ने अनुमान गरेको छ । बुढीगंगा नदीको वहाबले कटान गरेको र पाँच सय मिटर सडक क्षतिग्रस्त भएको थियो । त्यस क्षेत्रमा ठूलो पहिरो गएका कारण तत्काल सुचारु गर्न ढिलाइ भएको हो । 

साँफेबगर–मार्तडी सडककै ताप्रिसेरा, बार्जुगाड–बाम्का बजार, बुढीगंगा–आरसिसी–बलेना–जडंगा पुल क्षेत्रमा अझै सडक अवरुद्ध रहेको छ । बलेना पुलको बायाँपट्टिको थाम (एबुटमेन्ट) बगाएको छ । त्यस खण्डमा रहेको बेलिब्रिज पनि बाढीले बगाएको छ । त्यस्तै, यही सडकको बल्देखण्डमा सडक चर्किनुका साथै पहिरो जाँदा अवरुद्ध छ । ४ साउनदेखि अवरुद्ध सडक भदौ अन्तिमसम्ममा सुचारु गर्ने तयारी छ । त्यस्तै, अम्कोट–द्वारीखण्डमा ठूलो पहिरो जाँदा अवरुद्ध भएको सडक २५ भदौसम्ममा सुचारु गर्ने तयारी छ । 

मनसुनले अवरुद्ध बनाएको अर्को सडक ११ किलो छेपेटार–बारपाक योजना हो । यस सडकका विभिन्न खण्डमा पहिरो गएको, सडक सुचारु गर्न खटाएको ब्याकहो लोडरमा क्षति पुगेको छ । १० साउनदेखि अवरुद्ध यो सडक भदौ दोस्रो हप्तादेखि नै सञ्चालनमा ल्याउने योजना भए पनि प्राविधिक कठिनाइका कारण अझै सुचारु हुन सकेको छैन । डुम्रे–बेसीसहर–चामे सडकको घोप्टे खोला क्षेत्रमा खोलाले ह्युमपाइप बगाई सडक अवरुद्ध भएका कारण सञ्चालनमा छैन । २२ साउनमा अवरुद्ध यो सडक यही हप्ताभित्र खुलाउने तयारी छ । 

९१ स्थानमा एकतर्फी सडक सञ्चालन 
सबैभन्दा धेरै प्रभावित भएको अरनिको राजमार्गका अधिकांश ठाउँमा सडक एकतर्फी सञ्चालनमा आएको छ । राजमार्गको कोठे, लामासाँघु बाह्रबिसे, खुर्सानीबारी, शिरीषे, खग्दोल, जम्बु, झ्याले, चाकु डाकलांक, माथिल्लो भोटेकोसी ड्याम क्षेत्र, घट्टेखोलालगायतका १५ स्थानमा पुल र सडकमा समस्याका कारण राजमार्ग अवरुद्ध भएको थियो ।

त्यस्तै, कोसी राजमार्गको भेडेटार मूलघाट खण्ड, डुम्रे–बेसीसहर–चामे सडकको पुमा खोला क्षेत्र, कान्ति लोकपथको घट्टेपख, बाघधारा, शिलालेख, छपेलीमा पनि एकतर्फी सडक सञ्चालन रहेको छ । नारायणगढ–मुग्लिङ सडकको १७ किलोमा पनि एकतर्फी सडक सञ्चालन भइरहेको छ । 

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको काभ्रेभिर र घोप्टेभिरमा पनि दुईतर्फी सडक सञ्चालन हुन सकेको छैन । सडकमाथिबाट पहिरो आएका कारण सडक अवरुद्ध भएको थियो, अहिले एकतर्फी सञ्चालनमा ल्याइएको छ । सिद्धिचरण राजमार्गको सिस्नेरी भिर र साल्मे भिरमा एकतर्फी सडक सञ्चालन भइरहेको छ । डुम्रे–बेसीसहर–चामे सडक योजनाको पुवा खोला, खरखरे भिर, तारिकुना, राम बजार, स्याँगे, श्रीचौर, ताप्रिसेरा घट्टे खोलालगायतका ठाउँमा आंशिक मात्र सडक सञ्चालनमा रहेको छ ।
 

ad
ad