१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
प्रहरीले घटनास्थलबाट बरामद गरेका सामग्री ।
टेकराज थामी काठमाडौं
२०७७ श्रावण २८ बुधबार ०४:०८:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सामाजिक सञ्जालबाट जोडिएको सम्बन्धले डोर्‍यायो बीभत्स हत्यासम्म

Read Time : > 5 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ श्रावण २८ बुधबार ०४:०८:००

– ‘उनीहरू चार वर्षदेखि सम्बन्धमा रहेको खुलेको छ, मृतकले कल्पनाकी छोरीमाथि गलत नजर लगाएकोजस्तो देखिन्छ,’ अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दीपक थापाले भने, ‘सोही क्रममा कृष्णबहादुरले कल्पनाको नाममा नक्कली फेसबुक आइडी बनाएका रहेछन् । त्यसलाई देखाउँदै थप ब्ल्याकमेलिङ गर्न थाले । हत्याको खास कारण त्यही देखिन्छ ।’

– ब्ल्याकमेल गर्दै आफूलाई शोषण गर्दै आएको र १५ वर्षीया छोरीलाई पनि यौन दुर्व्यवहार गरेपछि सहन नसकेको अभियुक्त कल्पना मुडभरी पौडेलको बयान छ।

-दैनिक दुईवटा आवेगप्रेरित हत्या : प्रहरीको तथ्यांकअनुसार ६ वर्षयता देशभर तीन हजार सात सय ३४ जनाको हत्या भएको छ । तीमध्ये अधिकांश घटना आवेगप्रेरित हुन् । यो तथ्यांकलाई आधार मान्दा देशभर दैनिक दुईजनाको हत्या हुने गरेको देखिन्छ । हत्याबाट ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी पुरुष छन् । तथ्यांकअनुसार हत्या गरिएका मध्ये ५२ प्रतिशत अर्थात् एक हजार नौ सय ४६ पुरुष छन् । महिलाको संख्या ३४ प्रतिशत अर्थात् एक हजार दुई सय १८ छ । यस अवधिमा पाँच सय ६ जना बालबालिकाको हत्या भएको छ, जुन कुल संख्याको १३ प्रतिशत हो ।

                                                         ... ... ...

रोल्पा रुन्टीगढीका कृष्णबहादुर बोहरा (४५ वर्ष) र चितवन शक्तिखोरकी कल्पना मुडभरी पौडेल (३७ वर्ष)बीच फेसबुकमार्फत जोडिएको सम्बन्ध बोहराको वीभत्स हत्यासम्म पुगेर टुंगिएको छ । नक्कली फेसबुक आइडी खोलेर नांगो तस्बिरमा आफ्नो टाउको जोडी ब्ल्याकमेलिङ गरेको र नाबालिका छोरीमाथि कुदृष्टि राखेको कारण बोहराको हत्या गरेको बयान कल्पनाले प्रहरीलाई दिएकी छन् ।

प्रहरीका अनुसार कल्पना र कृष्णबहादुरबीच चार वर्षअघि फेसबुकमार्फत परिचय भएको खुलेको छ । कल्पनाको श्रीमान्सँग सम्बन्धको बिग्रिएको थियो । दुई श्रीमतीले छाडेर गएपछि कृष्णबहादुर पनि एक्ला थिए । दुईबीच फेसबुक च्याटमा घन्टौँ गफ हुन थाल्यो ।

बिग्रिएको पारिवारिक अवस्थाका कारण दुईबीच सम्बन्ध गाढा बन्यो । कृष्णबहादुर कल्पनाको डेरामै जान थाले । कल्पना टोखा नगरपालिका–१० नवज्योति मार्गस्थित घरको तेस्रो तलामा छोरी र छोरासँग बस्थिन्, जहाँ कृष्णबहादुर नियमितजस्तो आउजाउ गर्न थाले ।

यहीबीचमा कृष्णबहादुरले नाबालिका छोरीमाथि कुदृष्टि राखेको भेउ पाएपछि कल्पना झस्किइन् । कृष्णबहादुरलाई पटक–पटक सचेत गराइन् । तर, मान्ने छाँट देखिनन् । र, उनीसँग सम्बन्ध टुटाउनेतर्फ अगाडि बढिन् । उनलाई डेरामा नआउन भनिन् । फोन रिसिभ गर्न छाडिन् । तर, कृष्णबहादुरले पछ्याउन छाडेनन् । कल्पनाले छोरीलाई कृष्णबहादुरबाट अलग राख्ने कोसिस गरिन् ।

त्यसपछि कृष्णबहादुरले पोर्न फिल्मकी युवतीको नांगो शरीरमा कल्पनाको टाउको जोडेर तस्बिर बनाए । र, त्यसैलाई प्रोफाइल पिक्चर बनाउँदै कृष्णबहादुरले ‘कल्पना शाही’को नाममा नक्कली फेसबुक आइडी बनाए । त्यही आइडीमार्फत आफू ‘कल गर्ल’ भएको बताउँदै युवासँग च्याट गर्न थाले । ‘कल्पना शाही’को भन्दै नग्न तस्बिर सेयर गर्न थाले ।

कृष्णबहादुरको हर्कत थाहा पाएलगत्तै कल्पनाले फेसबुक आइडी बन्द गर्न भनिन्, तर उनले मानेनन् । उल्टै ब्ल्याकमेलिङ गर्न थाले । पारिवारिक सम्बन्ध बिग्रिएकी कल्पना मानसिक तनावमा थिइन् नै, कृष्णबहादुरको हर्कतले उनलाई थप पीडा दियो । लामो अवधि तनाव झेलेकी उनले मानसिक उपचार नै गर्नुपर्‍यो । तर, कृष्णबहादुरको ब्ल्याकमेलिङ रोकिनुको साटो अझ बढ्यो ।

कुनै उपाय काम नलागेपछि आफूले उनको हत्या योजना बनाएको बयान कल्पनाले प्रहरीलाई दिएकी छन् । ‘उनीहरू चार वर्षदेखि सम्बन्धमा रहेको खुलेको छ, मृतकले कल्पनाकी छोरीमाथि गलत नजर लगाएकोजस्तो देखिन्छ,’ अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दीपक थापाले भने, ‘सोही क्रममा कृष्णबहादुरले कल्पनाको नाममा नक्कली फेसबुक आइडी बनाएका रहेछन् । त्यसलाई देखाउँदै थप ब्ल्याकमेलिङ गर्न थाले । हत्याको खास कारण त्यही देखिन्छ ।’

मदिरामा स्लिपिङ ट्याब्लेट खुवाएर हत्या

कृष्णबहादुर गोंगबुस्थित दीपेन्द्र छतकुलीले सञ्चालन गरेको नर्सिङधाम गेस्टहाउसमा बस्थे । त्यहीँबाट कल्पनासँग ब्ल्याकमेल गर्थे । कल्पनाले प्रहरीलाई दिएको बयानअनुसार हत्या योजना बनाएपछि उनले २४ साउन साँझ कृष्णबहादुरलाई डेरामा बोलाइन् । करिब ५ बजे डेरामा पुगेका उनलाई कल्पनाले सधैँझैँ कोठामा लगिन् । छोराछोरीलाई अर्को कोठामा बस्न भनिन् ।

पाँच चक्की स्लिपिङ ट्याब्लेट हालेर गिलासमा भोड्का दिइन् । त्यसको सुइँकोसम्म कृष्णबहादुरले पाएका थिएनन् । ट्याब्लेटको असरले कृष्णबहादुर बसेकै ठाउँमा ढले । त्यसपछि तान्दै ओछ्यानमा पुर्‍याइन् । र, अण्डकोषमा हम्मरले प्रहार गरिन् । फेरि सलले घाँटी कसेर उनको हत्या गरिन् । अट्याच बाथरुममा लगेर चक्कुले टाउको र हातखुट्टा शरीरबाट अलग गरिन् ।

टाउको र हातखुट्टालाई जेब्रा झोलामा हालिन् । र, स्थानीय सिद्धेश्वर मन्दिरनजिकै पुर्‍याएर फालिन् । फर्केर कोठामा आइन् । शरीरलाई सुटसेकमा हालिन् । त्यहीवेला अर्को कोठामा रहेकी छोरी आमा भन्दै भित्र छिरिन् । घटनाबारे छोरीले बल्ल थाहा पाइन् । बाहिर झमझम पानी परिरहेको थियो । छोरीलाई छाता तयार गर्न भनिन् । सुटकेस आफैँ बोकिन् । गह्रौँ सुटकेसलाई पछाडिबाट छोरीले सपोर्ट गरिन् । छाता ओढाइन् । केही पर पुगेपछि गाडी पार्क गरिरहेको देखिन् । त्यसकै आडमा सुटकेस छाडिन् । कोठा फर्केर बोतलमा बाँकी भोड्कासँगै एक चक्की स्लिपिङ ट्याब्लेट खाएर सुतिन् ।

प्रहरीको कुकुर देखेपछि एम्बुलेन्सबाट चितवन

उनको कोठाबाट सुटकेस राखेको ठाउँ प्रस्ट देखिन्थ्यो । आइतबार बिहानदेखि झ्यालको पर्दा थोरै खोलेर उनले घटनास्थल नियालिरहेकी थिइन् । अनुसन्धानका लागि प्रहरीको कुकुर घटनास्थल ल्याइयो । कुकुर उनी बसेको घरतर्फ दौडिन थाल्यो । उनी आत्तिँदै रुन थालिन् । तर, कुकुर घरभित्र नछिरी अर्कोतर्फ मोडियो । केहीबेरपछि टाउको र खुट्टा भएको जेब्रा झोला प्रहरीले फेला पार्‍यो । शव पत्ता लगाउने कुकुरको नाम जोजो भएकाले प्रहरीले ‘अपरेसन जोजो’ नाम दिएर अनुसन्धान अगाडि बढाएको थियो ।

कुकुरमार्फत छिट्टै पक्राउ पर्ने शंकाका कारण डराएकी उनले हत्तपत्त चितवनमा चिनेको एम्बुलेन्सलाई फोन गरिन् । अपराह्न ४ बजे एम्बुलेन्स काठमाडौं आइपुग्यो । ६ हजार रुपैयाँ दिने भनेपछि ५ बजे कल्पना र उनका छोराछोरी लिएर एम्बुलेन्स चितवनतिर हुइँकियो । उनी शक्तिखोरस्थित माइती पुगिन् ।

तस्बिर सार्वजनिक भएपछि शव सनाखत

प्रहरीलाई मृतकको हुलिया पहिचान गर्न कठिन भयो । प्रहरीले मृतकको तस्बिर सार्वजनिक गर्‍यो । आइतबार साँझ उनको मामा भएको बताउने एकजना प्रहरीको सम्पर्कमा आए । र, उनीमार्फत मृतक रोल्पा रुन्टीगढी गाउँपालिका–७ घर भई गोंगबुस्थित गेस्टहाउसमा बस्दै आएका कृष्णबहादुर बोहरा भएको खुल्यो । त्यतिवेलासम्ममा शव भेटिएको दुई किलोमिटर आसपासका करिब एक हजार पाँच सय घरमा प्रहरीले छापा मारिसकेको थियो ।

मृतकको नामथर खुलेपछि उनी बस्ने गेस्टहाउसको पहिचान खुल्यो । केही ढिलो आउने बताउँदै कृष्णबहादुर गेस्टहाउसबाट निस्किएको जानकारी पाएपछि प्रहरीले सिसिक्यामेरामा रेकर्ड भएका दृश्य सर्च गर्न थाल्यो । उनी कल्पना बस्ने घरमा छिरेको दृश्य भेटियो ।

घरमा खानतलासी गर्दा घटनास्थल फेला पर्‍यो । मृतकको कपडा, रगत, पर्स र मोबाइलसहित चक्कु, भोड्काको बोतल र स्लिपिङ ट्याब्लेट घटनास्थलमा फेला परे । डेरामा कल्पना बस्ने गरेको खुलेपछि प्रहरी चितवन पुग्यो र उनलाई पक्राउ गर्‍यो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार मृतकको हुलिया खुल्नासाथ अनुसन्धान पनि फटाफट अगाडि बढ्यो । प्रहरी नियन्त्रणमा आउनासाथ कल्पनाले कृष्णबहादुरको हत्या गरेको स्वीकारिसकेकी छन् ।

डिप्रेसनले जन्माएको क्रुरता

आइतबार बिहान टुक्राटुक्रा अवस्थामा गोंगबुमा शव बरामद गरेपछि प्रहरीको आकलन थियो– यसमा ठूलै आपराधिक गिरोह संलग्न हुनुपर्छ । तर, अनुसन्धान नतिजा बिल्कुलै फरक निस्कियो । एक महिलाले एक्लै आफूलाई ब्ल्याकमेल गरेर यातना दिएको प्रतिशोध लिन त्यसरी हत्या गरी शरीर टुक्र्याएर झोलामा राखी सडकमा फालेकी थिइन् ।

अभियुक्त कल्पना पक्राउ परेपछि पनि यसमा उनलाई अरूले सहयोग गरेको हुनुपर्ने प्रहरीको ठम्याइ थियो । ‘तर, उनले एक्लैले हत्या गरेको पुष्टि भयो,’ अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी भन्छन्, ‘सोचेभन्दा फरक नतिजा आयो ।’ एक महिलाले यसरी क्रुरतापूर्वक हत्या गर्नुको कारक डिप्रेसन रहेको प्रहरी स्रोत बताउँछ । पारिवारिक र आर्थिक समस्याका कारण कल्पना नियमित डिप्रेसनको औषधि र स्लिपिङ ट्याब्लेट खाने गर्थिन् ।

डिप्रेसनमा रहेका वेला बोहराले उनलाई ब्ल्याकमेल गरेर थप यातना दिइरहेका थिए । ‘यसले मेरो परिवारलाई सिध्याउँछ भन्ने लागेपछि मैले पहिलेदेखि हत्या गर्ने नै योजना बनाएकी हुँ,’ पक्राउपछि कल्पनाले बयानमा भनेकी छन् । ब्ल्याकमेल गर्दै आफूलाई शोषण गर्दै आएको र १५ वर्षीया छोरीलाई पनि यौन दुव्र्यवहार गरेपछि सहन नसकेको अभियुक्तको बयान छ ।

शव भेटिएलगत्तै प्रहरीले त्यस क्षेत्रमा बस्ने सबैको विवरण लिँदा कल्पनाको पनि लिएको थियो । महिला र बच्चा मात्र बस्ने भएकाले प्रहरीले उनीमाथि शंका नै गरेकोे थिएन । आइतबार बिहान प्रहरीको कुकुरले मृतकको टाउको र हातखुट्टा राखिएको झोला पत्ता लगायो । तर, हत्या भएको ठाउँ पत्ता लगाउन सकेन । रातभर पानी परेकाले कुकुरले हत्या भएको घर पत्ता लगाउन नसकेको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए ।

-यसकारण हुन्छन् हत्या : एसएसपी कुबेर कडायत, प्रवक्ता, नेपाल प्रहरी

आवेगप्रेरित घटनाबाट हत्या गरिनेको संख्या धेरै छ । यो संख्या घट्दोभन्दा पनि बढ्दो ग्राफमा देखिन्छ । किन यस्ता घटना हुन्छन् भनेर नेपाल प्रहरीले अनुसन्धान गरेको त छैन, तर यस्ता घटना हुनुमा कहीँ न कहीँ यौन, सम्पत्ति, मदिरा, पारिवारिक कलह, धर्मलगायत विषय जोडिएको देखिन्छ । यस्ता घटना क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा भएका छन् । कतिपय अवस्थामा भने योजनावद्ध पनि भएका छन् । तर, योजनावद्ध हत्या कम छन् ।