मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ बैशाख ३ शनिबार ०७:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लागुऔषधको नशा : रूखमा बाँधेर बीभत्स हत्या

Read Time : > 1 मिनेट
२०७९ बैशाख ३ शनिबार ०७:०७:००

कैलालीको जानकी गाउँपालिका– ९ का २५ वर्षीय अर्जुन दासको बीभत्स हत्या लागुऔषध दुव्र्यसन र मोबाइल चोरीका कारणले भएको प्रहरी अनुसन्धानमा खुलेको छ । घटनाको चार महिनापछि पक्राउ परेका आरोपीसँगको बयानपछि प्रहरीले घटनाबारे सार्वजनिक गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले हत्यामा संलग्न चार आरोपीलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । पक्राउ पर्ने कैलाली जानकी– ९ का सुमित साउद, बमे भनिने बमबहादुर बोहरा, रोनी परियार भनिने दिलीप दास र मनोज भण्डारी छन् । उनीहरू सबै १९ वर्षका रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार २ पुसमा हत्या गरेपछि उनीहरू भोलिपल्टै भारततर्फ फरार भएका थिए । अपराध महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार मोबाइल चोरीको विवाद र लागुऔषधको दुव्र्यसन घटनाको मुख्य कारण देखिन्छ । एसपी कोइरालाले भने, ‘मोबाइल चोरीको आरोपमा यिनीहरूले अर्जुनको हत्या गरेजस्तो देखिन्छ । हत्यापछि भागेर भारततर्फ गएका थिए । पछि नेपाल आउँदै छन् भन्ने सूचनापछि हामीले निगरानी गरेका थियौँ । उनीहरू बेलहियाबाट पक्राउ परे ।’ 

प्रहरीका अनुसार हत्यामा संलग्न सबै लागुऔषधका दुव्र्यसनी हुन् । नशाकै सुरमा उनीहरूले अर्जुनलाई रूखमा बाँधेर हत्या गरेका थिए । त्यसपछि दुई फिट पर लगेर फालेका थिए । त्यसलगत्तै फरार भएका उनीहरूले पक्राउ गरेर देखाउन प्रहरीलाई समेत चुनौती दिएका थिए । महाशाखा प्रवक्ता एसपी कोइरालाले पक्राउपछि चारैजनालाई अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको बताए । ‘हत्यापछि फरार भएका यिनीहरूले पक्राउ गरेर देखाउन प्रहरीलाई नै चुनौती दिएका थिए,’ उनले भने, ‘बाँकी तथ्य थप अनुसन्धानपछि खुल्ला ।’ 

अनि भयो हत्या 
प्रहरीका अनुसार अर्जुनको हत्या हुनुभन्दा तीन दिनअघि दुर्व्यसनीमा फसेका युवाहरूको समूहकै कमल साउद एक महिला साथीको घरमा गएका थिए । त्यहाँ महिलाका परिवारले उनलाई नग्न अवस्थामा फेला पारेपछि लखेटेका थिए । कमलले सुमित साउदलाई आफूलाई लुगा ल्याइदिन आग्रह गरे । 

त्यस दिन कमलको मोबाइल चोरी भएको थियो । चोरीको आरोप लगाउँदै कमलले सुमित साउदलाई कुटपिट गरे । त्यही रिसमा मनोज भण्डारीसहितको टोलीले कमलको करिब २५ हजार रुपैयाँको निट्राभेट– १० नामको लागुऔषध लुकाइदिए । त्यसको भोलिपल्ट मोबाइल अर्जुनले चोरेको र उसले हर्के भाटलाई दिएको सूचना सुमितले पाए । उनले मोबाइल फिर्ता ल्याएर कमललाई दिए । 

यता मनोजसहितको टोलीले सुमितले कुटाइ खानुको कारण अर्जुन रहेको निष्कर्ष निकाल्यो । सजायस्वरूप कुटपिट गर्ने योजना तत्काल बनाए । योजना बनाउनेमा मनोजसहित सुमित, बमबहादुर बोहरा, सुशील मयाल, दिलीप दास, बादल विक र करण दर्नाल थिए । योजनाअनुसार नै अर्जुनलाई उनीहरूले २ पुसको साँझ ६ बजे सामुदायिक वनमा बोलाए । सबैले लागुऔषध सेवन गरे । 

नशाकै सुरमा अर्जुनलाई रूखमा बाँधे । सबैले कुटपिट गर्न थाले । यही क्रममा सुशील मयालले खुकुरी प्रहार गरी हत्या गरे । त्यसपछि शव दुई फिट पर लगेर फालिदिए । सबैजना घटनास्थलमै बसेर पुनः लागुऔषध सेवन गरे । अनि भोलिपल्ट सबै भारततर्फ फरार भए । यता कमल भने सोही दिन महिलासँग जबर्जस्ती सम्बन्ध राखेको आरोपमा पक्राउ परेकोमा हाल कारागारमा छन् । अर्जुनको हत्यामा १० जनाको संलग्नता देखिएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न युवकले भारतमा बसेर आफूहरूलाई खोजी नगर्न भन्दै चेतावनी दिँदै सामाजिक सञ्जालमा भिडियो हालेका थिए ।