१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ असार १९ शुक्रबार १९:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिरोले पुरिएर गुल्मीमा दुईजनाको मृत्यु, डेढ सयभन्दा बढी घर उच्च जोखिमा

Read Time : > 1 मिनेट
२०७७ असार १९ शुक्रबार १९:५०:००

पहिरोमा परी गुल्मीमा दुईजनाको मृत्यु भएको छ । इस्मा गाउँपालिका– १ हस्तिचौरका १८ महिनाका सिजन सारू र हस्तिचौरकै सात वर्षीया अपेक्षा खत्रीको पहिरोमा परी मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख राजेन्द्रसिंह खड्काका अनुसार पहिरोले गोठ (बंगालो) बगाउँदा वसन्त सारू र उनकी श्रीमती सिर्जना सारू घाइते भएका छन् । सिजन उनीहरूकै छोरा हुन् ।  यस्तै, हस्तिचौरकै रिखबहादुर खत्रीको घर बगाउँदा सात वर्षीया अपेक्षाको मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । बालिकाकी आमा ईश्वरा खत्रीको भने उद्धार गरिएको छ । उनको अवस्था गम्भीर छ । सोही घरमा रहेका पुतला खत्री र टीका खत्री पनि घाइते भएको खड्काले बताए । बिहीबार राति नैआएको पहिरोमा परी मुसिकोट नगरपालिका– २ का भागीरथ घिमिरे बेपत्ता भएको उद्धारमा खटिएका सशस्त्र प्रहरी निरीक्षक कमलेशकुमार महत्तोले जानकारी दिए । उनको खोजी भइरहेको छ । 

पहिरोले डेढ सयभन्दा बढी घर जोखिममा
बिहीबार रातिको पहिरोले इस्मा गाउँपालिकाका डेढ सयभन्दा बढी घर पहिरोको उच्च जोखिममा परेको इस्मा गाउँपालिका उपप्रमुख विमला खत्रीले बताइन् । उनले इस्मा गाउँपालिका–१ हस्तिचौरमा मात्रै एक सय १६ घर, दोहलीमा २० घर र अन्य वडामा समेत गरी डेढ सयभन्दा बढी घर विस्थापित हुने अवस्थामा रहेको बताइन् । उनले पहिरोको जोखिममा रहेकाहरूलाई स्थानीय हिमालय माविमा व्यवस्थापन गर्ने तयारी भइरहेको बताइन् । 
पहिरोबाट वडा नम्बर ४ दोहलीका २० परिवार विस्थापित भएका छन् । बिहीबार रातिको वर्षाले कालिका निमाविको भवन पनि पुरेको छ । विद्यालयमा क्वारेन्टाइन सञ्चालन भएकाले पाँचजना आरडिटी पोजेटिभ व्यक्ति बसेका थिए । पहिरोपछि उनीहरू भागेर घरमा गएको वडाध्यक्ष गनुप्रसाद अधिकारीले बताए । यस्तै दोहलीकै न्वाला, छोटडाँडा, रातापानी र खासुगाउँका २० परिवार विस्थापित भएका छन् । 
 
घाइतेको उद्धार
पहिरोमा घाइते भएका पाँचजनाको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको छ । पूर्वमन्त्री गोकर्ण विष्ट शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत घटना स्थलमा पुगेका थिए । गम्भीर घाइते दुई र सामान्य घाइते तीनजनालाई उनकै पहलमा थप उपचारका लागि काठमाडाैं लगिएको हो ।

विष्टले पहिरोले मानवीयसँगै भौतिक रूपमा ठूलो क्षति पुऱ्याएकाले विस्थापित र जोखिममा परेका परिवारको उद्धार, राहत तथा व्यवस्थापनमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिए । जिल्ला विपत् व्या.वस्थापन समिति र नेपाल रेडक्रस सोसाइटी गुल्मीले हेलिकोप्टरमार्फत खाद्य सामग्री र त्रिपाल तथा कम्बल घटनास्थलमा पुऱ्याइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । ६ क्विन्टल चामल, सय किलो दाल, ५० किलो नुन, ५० लिटर तेल, ५० किलो चिनी, १५ थान कम्बल, १५ थान त्रिपाल र पाँच सेट भाँडा घटनास्थल पुऱ्याएको शर्माले जानकारी दिए । अहिले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीय उद्धारमा सक्रिय रहेका छन् ।