बझाङ प्रदेश सभा सदस्य क्षेत्र नं–१ को उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान जारी छ। बिहान सात बजेदेखि ९३ वटा मतदान केन्द्रमा मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए।
मुख्य प्रतिस्पर्धी मानिएका एमाले र कांग्रेसका उम्मेदवारले आआफ्नो केन्द्रमा गएर मतदान गरेका छन्। एमाले उम्मेदवार दमनबहादुर भण्डारीले छबिस पाथिभेरा गाउँपालिका-१ को जनप्रिय म.वि ‘क’ मतदान केन्द्रमा गएर मतदान गरेका छन्। त्यस्तै, कांग्रेसका उम्मेदवार अभिषेक सिंहले जयपृथ्वी नगरपालिका-५ लुयाँटा मा.वि डिलबगर केन्द्रमा मतदान गरेका छन्।
निर्वाचन क्षेत्रमा रहेका ३० हजार १९९ महिला र ३१ हजार ५४९ पुरुष मतदाता गरी कुल ६१ हजार ७४८ जनाले मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ। कुल मतदान केन्द्रमध्ये २३ वटा अतिसंवेदनशील, २४ वटा संवेदनशील र २७ वटा सामान्य रहेको मतदान केन्द्रमा सोहीअनुसार १५ सय सुरक्षाकर्मी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कांग्रेसले सवारी दुर्घटनामा निधन भएका पृथ्वीबहादुर सिंहका छोरा अभिषेकबहादुर सिंहलाई उम्मेदवार बनाएको छ। एमालेबाट पार्टीका जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीले उम्मेदवारी दिएका छन्। यहाँ मुख्य रूपमा यी दुई उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिए पनि माओवादी केन्द्रले जनक बुढा र समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ। यीसँगै यहाँ अन्य १२ दलका उम्मेदवार चुनावी मैदानमा छन्।