१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:३६:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

इस्मा गाउँपालिकाको नियति : हिउँदमा आगो र बर्खामा पहिरोले उठीवास 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:३६:oo

गुल्मीको इस्मा गाउँपालिकाले पछिल्ला वर्ष लगातार दुःख र विपत् झेलिरहेको छ । बर्सातमा पहिरो र हिउँदमा डढेलोको चपेटामा इस्माली नागरिक पर्दै आएका छन् । इस्मा गाउँपालिका– ४ कोटकोटेरीकी विमला अधिकारी यतिवेला पीडामा छिन् । एक्कासि जंगलको आगो गाउँ पस्दा उनले छोरीबाहेक अरू जोगाउन सकिनन् । भर्खर बनाएका घर, दुईवटा गोठ, बाख्रा र भैँसी आँखैअगाडि खरानी बने । उनीसहितका नौ घरपरिवारले बारीको कुनामा रात बिताए । ऋण तिर्न श्रीमान् खिमबहादुर विदेशमा छन् । ‘छोरीबाहेक केही बचेन । त्यो दिन बारीको कुनामा रात बितायौँ,’ उनले भनिन्, ‘बेचैन मनमा १० किलो चामल र एउटा त्रिपालले के गर्ने ।’ 

शनिबार मात्रै इस्माका तीन ठाउँमा लागेको डढेलोबाट ३७ वटा घर र ४६ वटा गोठ जले । नजिकैको वनको डढेलो घरगोठमा पस्दा ७५ पशुचौपाया जलेर मरे । डढेलोबाट दुईजना मानिस र सात पशुचौपाया घाइते भए । डढेलोबाटै एक ट्र्याक्टर, दुई कुटानी–पिसानी मिल, दुई किराना पसल, एक मन्दिर पूर्ण रूपमा जलेर नष्ट भए । डढेलोले इस्मा गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा ठूलो क्षति भएको छ । इस्मा गाउँपालिका– ४ दोहलीको हुल, मड्किना र कोटकोटेरीमा डढेलोका कारण नौवटा घर, १९ गोठ र एक मन्दिर जलेका छन् । साथै, पाँचवटा भैँसी र १८ वटा बाख्रा मरेको इस्मा गाउँपालिका– ४ का वडाध्यक्ष राजु बस्नेतले जानकारी दिए । 

डढेकोका कारण इस्मा गाउँपालिका– २ मा १३ घर र २८ गोठ जलेर नष्ट भए । इस्मा गाउँपालिका– २ का वडाध्यक्ष लोकनाथ आचार्यका अनुसार चार दर्जनभन्दा बढी पशुचौपाया डढेलोमा परेर मरे । 

गाउँपालिका– १ का वडाध्यक्ष शेरबहादुर कुँवरका अनुसार अहिले पीडितलाई खाद्यान्न तथा पशुचौपायालाई पानी र घाँसको व्यावस्थापन भइरहेको छ । डढेलोले घरका ड्रम र जंगलका पाइप पनि जलेपछि गाउँपालिकामै खानेपानीको संकट देखिएको छ । अहिले पीडित परिवारलाई दुई स्थानमा क्याम्प निर्माण गरेर खानाको व्यवस्थापन भएको छ । पानीको अस्थायी व्यवस्था गरिएको छ । विद्यार्थीका किताबकापी जलेकाले शैक्षिक सत्रकै सुरुमा अर्को समस्या देखिएको छ । 

शनिबार इस्मा, रेसुंगा, मुसिकोट, गुल्मीदरबार, छत्रकोट, रुरु र मदानेलगायतका स्थानीय तहको विभिन्न ठाउँमा डढेलो लागेको थियो । आइतबार पनि जिल्लाका आठ सामुदायिक वनमा आगलागी भयो । सोमबार इस्मा गाउँपालिका– ६ मा आगलागी हुँदा मोटे कुमालको घरगोठ जलेको छ ।

१४ वर्षअघि डढेलोमा परी एकै गाउँका पाँचजनाले गुमाएका थिए ज्यान
१२ वैशाख ०६६ सालमा इस्माकै हस्तीचौर सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणको क्रममा एउटै गाउँका रामलाल घिमिरे, अमरबहादुर कुँवर, देवकला खत्री, सीता कुँवर र धनकला खत्रीले ज्यान गुमाएका थिए । १७ वैशाख ०७३ मा तत्कालीन दोहली गाविस– ५ का तुल्सी लामा गुरुङ र लोकबहादुर गुरुङले पनि डढेलो नियन्त्रण गर्दा आगोमा परेर ज्यान गुमाए । उनीहरू नजिकैको सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका लागि गएका थिए । वनमा डढेलो लाग्दा आफन्त सम्झिन्छन् पीडित परिवार । 

गाउँ रित्तिएको दुर्घटना

फाइल तस्बिर

इस्माले पहिरो र डढेलो मात्रै झेलेको छैन । गाउँ नै रित्तो हुने गरेर दुर्घटनाको समेत सामना गर्‍यो । १७ मंसिर ०७६ मा इस्मा गाउँपालिका–४ बाट कुलपूजामा बागलुङ हिँडेको जिप दुर्घटनामा १६ जनाले ज्यान गुमाएपछि सिंगो कार्कीगाउँ रित्तियो । दुर्घटनामा आमा र बहिनी गुमाएकी कार्कीगाउँकी पूजा कार्कीले सम्झनामा बनाएका तस्बिर र लेखिएका शब्द सञ्जालमा भाइरल बने । १२ मंसिर ०७७ मा हुलमा जिप दुर्घटना हुँदा एउटै गाउँमा ६ जनाले ज्यान गुमाए ।

पहिरोले दुई वडामा करिब डेढ सय परिवार विस्थापित

फाइल तस्बिर

०७७ कै असारमा इस्मा गाउँपालिकाका वडा नम्बर १ र ४ मा भीषण पहिरो गयो । पहिरोमा परेर दुईजनाले ज्यान गुमाए । दुई वडामा करिब डेढ सय परिवार विस्थापित बने । बर्सेनि पहिरोको मारमा इस्माका नागरिक छन् । पहिरोका कारण चार वर्षमा ४७ घर पूर्ण रूपमा क्षति भएका छन् । पटक–पटकको विपतकाे सामना गर्न इस्माली जनता बाध्य भएको इस्मा गाउँपालिका–१ का ६७ वर्षीय जगतबहादुर केसीले बताए । ‘वर्षेनी पहिरोले उठिजास लगाउँछ । हिउँदमा आगो, बर्सातमा पहिरो के गरेर बाँच्ने हो,’ उनले भने, ‘पीडा भुल्नुपर्ने भएरै भुलिएको छ ।’

९६४ हेक्टर वन क्षेत्रमा डढेलो
पहाडी जिल्लामा पर्ने गुल्मीमा बर्सातमा पहिरो र हिउँदमा डढेलोको जोखिम बढी छ । बर्सेनि सयौँ हेक्टर वन क्षेत्र डढेलोका कारण नष्ट भइरहेका छन् । शनिबार इस्मा गाउँपालिका– २ को रानीवन पैयाँपाटा सामुदायिक वनको एक सय १५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । सोही वनको आगो गाउँ पसेर थुप्रै भौतिक क्षति भयो । त्यस्तै, रेसुंगा संरक्षित वन क्षेत्रको एक सय हेक्टर वनक्षेत्र डढेलोले नष्ट भयो । जिल्लाका विभिन्न ४९ सामुदायिक वनको नौ सय ६४ हेक्टरमा डढेलो लागेको डिभिजन वन कार्यालय गुल्मीका वन अधिकृत तथा सूचना अधिकारी राजन कुँवरले जानकारी दिए । गत वर्ष एक सय आठपटक गरेर दुई हजार दुई सय ७६ हेक्टर वन क्षेत्र डढेलोले नष्ट भएको उनले बताए ।

ad
ad