१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मनास्लु हिमालमा हिमपहिरो, बुढीगण्डकी नदीआसपासका क्षेत्रमा उच्च जोखिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:५१:oo

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– १, सामागाउँमा पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ। मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र तालनजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए।

पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बुढीगण्डकी नदीमा मिसिएको उनले बताए।  

‘बिहान ९ बजे आसपासमा वीरेन्द्र तालभन्दा माथि ठूलो हिमपहिरो गएको छ,’ उनले भने, ‘हिमपहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर बाहिरिएको र बुढीगण्डकी नदीमा भल पुगेको छ, यसले बर्खा वेलामा जस्तै बुढीगण्डकीमा पानीको ठूलो वहाबको जोखिम बढाएको छ।’

उनले नदीमा पानीको वहाब बढेकाले बुढीगण्डकी नदीको आसपासमा खतरा हुन सक्ने अवस्था रहेको बताए। ‘सानो खालको हिमपहिरो त अरू समयमा पनि जान्थ्यो,’ लामाले भने, ‘तर, अहिले निकै ठूलो हिमपहिरो गएको छ।’

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकले हिमपहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिए।

नदीमा आएको पानीको बहावले सामागाउँमा एउटा काठे पुलमा क्षति पुर्‍याएको जानकारी आएको एसपी पाठकले बताए। गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले हिमपहिरो खसेपछि बुढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको बताए।

वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ। यसलाई बुढीगण्डकी नदीको मुहानको रूपमा लिने गरिन्छ। रासस 
 

ad
ad