१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
प्रेम चन्द काठमाडाैं
२०७६ चैत २१ शुक्रबार २०:४६:००
Read Time : > 2 मिनेट
अर्थ

पेट्रोल व्यवसायीको अनावश्यक बखेडा, विक्री ठप्प भएका बेला कसरी ३० करोड घाटा?

Read Time : > 2 मिनेट
प्रेम चन्द, काठमाडाैं
२०७६ चैत २१ शुक्रबार २०:४६:००

कोरोना संक्रमणको त्रासले मुलुक नै लकडाउन गरेर पेट्रोलियम पदार्थको विक्री करिब करिब ठप्प रहेका बेला पेट्रोलियम व्यवसायीले आफुहरुलाई ३० करोड नोक्सान भएको र सरकारले उक्त नोक्सान बेहोर्न पर्ने अनावश्यक बखेडा झिकेका छन् ।

सरकारले सर्वसाधारण तथा मजदुरका लागि राहत प्याकेज घोषणा गरेकोले आफुले पनि राज्यबाट राहत पाउनु पर्ने मानसिकताले अनावश्यक बखेडा झिकेर पेट्रोलियम व्यवसायीले संकटको बेला राज्यलाई थप भार पार्न अग्रसर भएका छन् ।

पछिल्लो समय नेपाल आयल निगमले एकै पटक १० रुपैयाँ प्रतिलिटरका दरले पेट्रोल र डिजेलको मूल्य घटाएकाले आफुहरुले ३० देखि ४० करोड रुपैयाँ घाटा बेहोर्न परेको पेट्रोलियम व्यवसायीहरुको दावी छ । अहिले पेट्रोल तथा डिजेलको विक्री करिब करिब ठप्प भएका बेला कसरी ३० करोड रुपैयाँ घाटामा हुन्छ भनेर उपभोक्ताकर्मीले प्रश्न उठाएका छन् ।

नेपाल आयल निगमका अनुसार लकडाउन अवधिमा पेट्रोल तथा डिजेलको विक्री करिब ९० प्रतिशतले घटेको छ । तर, सरकारले पेट्रोल तथा इन्धन भण्डारण गर्न लगाएरै अचनाक एकै पटक १० रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाउँदा आफुहरुलाई ३० देखि ४० करोड रुपैयाँ नोक्सान हुन गएको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको भनाई छ ।

एसोसिएसनले बिहीबार नेपाल आयल निगमलाई पत्राचार गर्दै प्रारम्भिक अनुमान अनुसार ३० देखि ४० करोड नोक्सान बेहोर्न परेकाले उक्त नोक्सान मन्त्रालय वा निगमले पुर्ति गरिदिनु पर्ने उल्लेख गरेको छ । ‘एकै पटक १० रुपैयाँ घटाउँदा निगमको विश्वसनीयतामा संका उत्पन्न भएको छ । र पेट्रोलियम व्यवसायीहरुको ३० देखि ४० करोड रुपैयाँसम्म घाटा हुन गएको’ एसोसिएसनको पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा अहिले निगमले गरेको कार्यले भविष्यमा आपूर्तिमा समेत संकट उत्पन्न हुन सक्ने भन्दै क्षतिपुर्ति गराउने व्यवस्था गर्न धम्की दिइएको छ । ‘यस कार्यले भविष्यमा पेट्रालियम पदार्थको नियमित आपूर्तिमा समेत असर प्रष्ट भएको छ । उक्त घाटा व्यवसायीहरुले धान्न समेत नसक्ने भएकाले क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था हुन जोडदार माग गर्दछौं’ एसोसिएसनको पत्रमा भनिएको छ ।

एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले राज्यले पेट्रोल व्यवसायीलाई ठगेको बताए । यस्तो अवस्थामा आफुहरुले भविष्यमा काम गर्ने वातावरण नहुने प्रधानको भनाई थियो । ‘८ गते हामीलाई बोलाएर संकटका लागि स्कट राख्न भनियो । हामीले पुरानो मूल्यमा किनेर ३ करोड लिटर राखेकै थियौं’ प्रधानले भने, ‘पछि गएर एकै पटक १० रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाइयो । ठुलो नोक्सान बेहोर्न पर्यो । राज्यप्रतिको विश्वास गर्ने वातावरण रहेन ।’

तर, उपभोक्ता अधिकारकर्मीले मुलुक नै संकटमा परेको बेला व्यवसायीले धम्कीपूर्ण पत्र लेखेर राज्य आफ्नो पडकमा रहेको देखाउन खोजेको अर्थ लगाएका छन् । पेट्रोल तथा डिजेलको मूल्य घट्ने क्रममा रहेको थाहा हुँदाहुँदै व्यवसायीले पेट्रोल सञ्चित गर्नै नसक्ने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले दावी गरे ।
‘मूल्य घट्ने भएपछि व्यवसायीहरुले पेट्रोल नै उठाउँदैनन् । १५ दिन अगाडी मात्रै २ रुपैयाँ भाउ घट्ने भएपछि तेल विक्री नगरेर आम अउपभोक्तालाई सकसमा पारेका हुन्’ महर्जनले भने, ‘यस्तो गर्नु कानुनतः अपराध हो । अहिले पनि विक्री ठप्प भएका बेला कसरी ३० करोड नोक्सान हुन्छ? यो अनावश्यक बखेडा झिक्ने काम हो ।’

यसअघि गत फागुन अन्तिम साता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घट्दो भएकाले नेपाली पेट्रोल व्यवसायीले चैत २, ३ र ४ गते तीन दिन पेट्रोलको कारोबार बन्द गरेर उपभोक्तालाई अप्ठ्यारोमा  पारेका थिए ।

त्यस्तै पेट्रोलको मूल्य बढेका बेला व्यवसायीलाई नाफा हुने देखेर दुई तीन दिन अघि देखि नै भण्डारण मात्रै गरेर उपभोक्तालाई सास्ती दिने काम पेट्रोल व्यवसायीले गर्दै आएका उपभोक्ताकर्मी महर्जनको आरोप छ । ‘मूल्य बढेको बेला नाफामा जान्छन् । त्यति बेला बोल्दैनन् । अहिले घाटा भयो भन्नु बदमासी हो’ महर्जनले भने, ‘राज्य हाम्रो मुठ्ठिमा छ । हामीले घुमाउन सक्छौं भन्ने मानसिकताले अनावश्यक बखेडा निकाल्ने काम गरिएको छ । राज्य झुक्नु हुँदैन ।’ 

निगम भन्छ –‘व्यवसायमा रिस्क स्वभाविक’

नेपाल आयल निगमले व्यवसायमा कहिले नाफा कहिले घाटा स्वभाविक भएको भन्दै रोइलो नगर्न व्यवसायीलाई आग्रह गरेको छ ।

निगका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण निगमलाई मूल्य घटाउन नैतिक परेकोले मूल्य घटाइएको बताउँदै व्यवसायीको घाटा भयो भन्दैमा घाटापुर्ति गर्न नसकिने बताए । ‘व्यवसायीले घाटा भयो भनेर हुँदैन । व्यवसायमा अलिकित रिस्क त हुन्छ नै’ उनले भने, ‘मूल्य बढाँदा व्यवसायीलाई फाइदा पनि हुँदो हो । त्यतिबेला निगमले उनीहरुलाई माग्न जाँदैन ।’

निगमले विक्री गरिसकेपछि त्यसपछिको नाफा घाटा व्यवसायीको नै भएकाले यसमा धेरै रोइलो नगर्न व्यवसायीलाई पौडेलले आग्रह गरे । ‘१० रुपैयाँ मूल्य घटाउँदा निगमलाई पनि ७ रुपैयाँ सोझै घाटा भयो’ उनले भने, हामी त जाँदैनौं आइओसीसँग माग्न । त्यस्तै व्यवसायीले पनि सहेर बस्ने हो ।’

यसअघि निगमको नियामक आपूर्ति मन्त्रालयले गत ८ गते व्यवसायीलाई बोलाएर संकटको लागि इन्धन मौज्दात राख्न भनेको थियो । त्यसपछि व्यवसायीले मौज्दात राख्न थालेका थिए । ११ गते देखि मुलुकमा पूर्णरुपले लकडाउन सुरु भएको थियो । लकडाउनपछि पेट्रोलियमको विक्री करिब करिब ठप्प छ ।

त्यसपछि निगमले गत १९ चैतबाट पेट्रोल तथा डिजलेको साविक मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको थियो । सोही कारण व्यवसायीले अहिले घाटा भएको बताएका हुन् ।