१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

धादिङको आयुर्वेद औषधालयले भर्ना गरेर बिरामीको उपचार गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:४६:oo

नीलकण्ठ नगरपालिका– ३ धादिङबेँसीमा रहेको जिल्ला आयुर्वेद औषधालयलाई १६ बेडको अस्पतालमा स्तरोन्नति गरिएको छ । आयुर्वेद औषधालयलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका रूपमा विस्तार गरिएको हो । 

स्तरोन्नति भएसँगै चिकित्सालयले १६ बेडको अस्पताल सञ्चालन गर्न लागिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख डा. अमूल्य दाहालले बताए । ‘चिकित्सालयले अब अस्पताल भवन निर्माण गरी १६ शय्याको अस्पतालमार्फत सेवा प्रदान गर्न लागेको हो,’ उनले भने, ‘संविधानले पनि स्थानीय तहको १५ बेड, प्रदेश अस्पताल २५ बेड हुनुपर्ने भनेको छ । भौतिक संरचना, बजेटलगायत विविध कारण २५ शय्याको सञ्चालन गर्न समस्या भएर १६ शय्या क्षमता सञ्चालन गरिएको हो ।’ 

अस्पताल निर्माणका लागि जग्गा लिने प्रक्रिया अघि बढिसकेको उनले बताए । ‘अब औषधालय आएका बिरामीलाई भर्ना गरेर सेवा दिने तयारीमा छौँ । जग्गा किन्ने र नयाँ भवन निर्माणको काम पूरा नहुन्जेल अहिले तत्कालका लागि घर भाडामा लिएर १६ शय्या क्षमताको सेवा प्रवाह गर्छाैँ,’ उनले भने । 

धादिङमा १० वटा आयुर्वेद संस्था सञ्चालित छन् । चिकित्सालयसहित चारवटा आयुर्वेद औषधालय र पाँचवटा सेवा केन्द्र छन् । चिकित्सालयले सेवा आरम्भ गरेपछि बिरामीलाई चौबिसै घण्टा सेवा दिन सकिने चिकित्सालय धादिङका प्रमुख दाहालले बताए । १६ शय्याको अस्पताल सञ्चालन गर्न मिल्ने आफ्नै भवन नहुँदा सेवा दिन कठिनाइ भइरहेको र औषधिको विविधता तथा परिमाण आवश्यकताभन्दा न्यून मात्रै उपलब्ध हुनुले पनि सेवाग्राहीलाई सहज पले सेवा दिन अप्ठ्यारो हुने गरेको उनले बताए ।

आयुर्वेद औषधालय वैकल्पिक उपचार विधिअन्तर्गत बहिरंग सेवा, प्याथोलोजी ल्याब, अकुपञ्चर सेवा, पूर्वकर्म र पञ्चकर्म सेवा, फिजिओथेरापीलगायतको नि:शुल्क सेवा प्रदान गर्दै आएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत ३० वर्षभन्दा माथिका नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण गर्दै आएको आयुर्वेद चिकित्सक इना श्रेष्ठले बताइन् । ‘हाल दैनिक २५ जनाभन्दा बढी बिरामी चेकचाँज गर्न आउँछन् । सेवा लिन आएका बिरामीमध्ये हाडजोर्नी नसासम्बन्धी बिरामी बढी छन् । धादिङ र गोरखाका विभिन्न ठाउँबाट सेवाग्राही सेवा लिन आउने गरेका छन्,’ उनले भनिन् । 

ad
ad