१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १o:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

छैटौँपटक म्याद थप्दा पनि सकिएन धरहरा पुनर्निर्माण

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:५४:oo

दुई अर्ब ९० करोड खर्च, अझै १० करोड लाग्ने, परिसरको सुन्धारा पुनर्निर्माण सुरु नै भएन 

छैटौँपटक म्याद थप्दा पनि सुन्धारास्थित धरहरा र परिसरका संरचना निर्माण अझै सकिएको छैन । १२ वैशाख ०७२ को विनाशकारी भूकम्पले धरहरा ढलेपछि सरकारले ०७५ मा यसको पुर्निर्माण सुरु गरेको थियो । तीन वर्षमा पुनर्निर्माण सक्ने गरी ठेक्का सम्झौता भए पनि नौ वर्ष बितिसक्दासमेत सकिएको छैन ।

पछिल्लोपटक ठेकेदार कम्पनीले गत माघमा म्याद सकिएपछि भदौसम्मका लागि म्याद थपेको हो । तर, उक्त म्यादभित्र पनि काम नसकिने निश्चित छ । ठेकेदार कम्पनीका अनुसार हालसम्म ९३ प्रतिशत भौतिक र ८३ प्रतिशत आर्थिक प्रगति भएको छ । यसभित्र सुन्धारा पुनर्निर्माण भने छैन । सुन्धारा पुनर्निर्माण पनि ठेकेदार कम्पनीलाई नै दिने विषय विवादित बनेपछि स्थानीयले विरोध गरेका थिए । उनीहरूले सुन्धारा पुनर्निर्माण उपभोक्ता समितिमार्फत गर्नुपर्ने माग राखेका थिए । त्यसयता सुन्धारा अलपत्र अवस्थामा छ ।  

ठेकेदार कम्पनी जिआइटिसी रमन जेभीका इन्जिनियर साजन अवालकाअनुसार पुर्निर्माणका क्रममा विविध अड्चन आएका कारण निर्धारित समयमा काम नसकिएको हो । उनले भने, ‘अहिले छैटौँपटक म्याद थपेर काम गरिरहेका छौँ, अब भने धरहरा र अन्य संरचनाको फिनिसिङ मात्रै बाँकी छ, अधिकांश अरू काम सकिएको छ ।’ हालसम्म संरचना निर्माणमा दुई अर्ब ९० करोड बजेट खर्च भइसकेको छ । सरकारले धरहरा पुनर्निर्माणमा करिब तीन अर्ब लाग्ने अनुमान गरेको थियो । अझै १० करोड हाराहारी खर्च हुने आकलन छ । करिब एक वर्षअघि पुनर्निर्माण प्राधिकरण खारेज भएपछि धरहरा क्षेत्रको बाँकी काम भवन विभागअन्तर्गत भइरहेको छ । 

के–के बने, के बाँकी ?

ठेकेदार कम्पनीले नयाँ धरहरा टावर, पार्किङ, प्रशासनिक भवन, सेन्ट्रल प्लान्ट, चमेना गृह, कुलदेवताको मन्दिर, पाटी, बगैँचालगायत संरचना निर्माण गरिसकेको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा परिसरमा बनेका विभिन्न संरचनाले आकर्षक देखिएको छ । यहाँ रहेका पुराना संरचना हटाएपछि अहिले खुला र हरियाली देखिएको छ । ठेकेदार कम्पनीले म्युजिक फाउन्टेनसहित बगैँचा निर्माण गरिसकेका छन् । भूकम्पले भाँचिएको पुरानो धरहरालाई संरक्षण गर्दै ०७५ मा नयाँ धरहरा स्तम्भ निर्माण सुरु भएको थियो । ११ वैशाख ०७८ मा नयाँ धरहरा तयार भए पनि परिसरमा रहेका संरचना निर्माण जारी नै छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख ०७८ मै नवनिर्मित धरहराको उद्घाटनसमेत गरेका थिए । 

अधिकांश संरचना निर्माण सकिए पनि नवनिर्मित संरचनाको फिनिसिङ नभएको ठेकेदार कम्पनीको भनाइ छ । मिन्ट म्युजियम र भूकम्प म्युजियम निर्माण भने पूरा भएको छैन । यो सक्न अझै कम्तीमा चार महिना लाग्ने ठेकेदार कम्पनीको भनाइ छ । 

सुन्धारा पुर्निर्माणमा बेवास्ता 
धरहरापरिसरमै रहेको ऐतिहासिक सुन्धाराकै नामबाट यस क्षेत्रको नाम ‘सुन्धारा’ रहेको हो । तर, त्यही सुन्धाराको अस्तित्व भने संकटमा छ । अहिले सुन्धारामा पानी आउँदैन । धारावरिपरिको पर्खाल जीर्ण अवस्थामा छ । स्थानीयका अनुसार करिब ३० वर्षअघिदेखि नै सुन्धारामा पानी आउन छाडेको छ । आसपासमा पक्की भवन निर्माण सुरु भएसँगै यहाँ पानी आउन छाडेको हो । मुख्यतः नजिकै काठमाडौं मल बनेपछि यहाँ पानी सुक्न थालेको थियो । सम्पदाप्रेमी यादवलाल कायस्थका अनुसार संकटमा परेको सुन्धाराको पुनर्निर्माण गरी जीवन्त राख्न सरोकारवाला निकायले चासो दिएका छैनन् । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेकेदारमार्फत सुन्धारा पुनर्निर्माण सुरु गरे पनि स्थानीयले रोकेका थिए । उनीहरूले उपभोक्ताको संलग्नताविना सुन्धारा पुनर्निर्माण गर्नुनहुने माग गरेका थिए । त्यसयता रोकिएको सुनधारामा बिछ्याइएको ढुंगा उप्किएका छन् भने वरिपरि झार उम्रिएर खण्डहर बनेको छ ।

ad
ad