१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दैलेख पेट्रोल अन्वेषण : मुख्य ड्रिलिङको काम सुरु

चीनको करिब दुई अर्ब ५० करोड लागतमा दैलेखमा पेट्रोलियम अन्वेषणको काम हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:३८:oo

दैलेखमा सुरु हुन लागेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङका लागि रिग हाउस निर्माणको काम सुरु गरिएको छ । जलजले आइपुगेका एक सय २० ट्रकमा आएका सामानहरूको व्यवस्थापनसँगै रिग हाउस निर्माण थालिएको हो । रुपैडिया नाकाबाट आउनुपर्ने एक सय ५० ट्रकहरूमध्ये एक सय २० ट्रक जलजले आइपुगेका छन् । दैलेखको भूभागमा रहेको पेट्रोलियम पदार्थको परिमाण पत्ता लगाउन अन्तिम अन्वेषणको कामका लागि जलजलेमा चार किलोमिटर ड्रिलिङ गर्न रिग हाउस निर्माणको काम सुरु गरिएको हो ।  

निकै ठूला र धेरै तौल भएका सामानहरूको व्यवस्थापनका लागि तीनवटा क्रेनको प्रयोग गरिएको छ । ड्रिलिङ मुख्य केन्द्र मानिएको जलजलेमा करिब ३० मिटर उचाइमा बन्ने रिग हाउसको तल्लो भाग निर्माण सुरु गरिएको छ । वैशाख अन्तिमसम्म सबै सामान जलजले आइपुग्ने र जडान कार्य सम्पन्न भएसँगै अन्वेषणको काम सुरु हुने चिनियाँ प्राविधिकले बताएका छन् । 
अहिले चिनियाँ र नेपाली प्राविधिक मिलेर काम गरिरहेका छन् ।

चार महिनाभित्र दैलेखमा के–कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लाग्ने

करिब चार महिनाभित्र दैलेखमा कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लाग्ने दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । सुरक्षाको व्यवस्थापनका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । आवश्यक परेका वेलामा २४सै घण्टा सुरक्षालगायत अन्य सबै समस्या समाधानमा सक्रियतापूर्वक भूमिका खेलेको भुसालले बताएका छन् । नेपालमा पहिलोपटक पेट्रोल अन्वेषण परियोजना सुरु हुन लागेकोमा सबै नेपालीमा खुसी छाएको नेपाली सहजकर्ता माइज हुसेनले बताए ।  

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नेपाल र चीन सरकारसँग ०७५ सालमा भएको जिटुजी सम्झौताअनुसार चीनको करिब दुई अर्ब ५० करोड लागतमा दैलेखको भूभागमा पेट्रोलियम अन्वेषणका  काम भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत चासो देखाएपछि आयोजना स्थलको अध्ययन र अनुसन्धानसँगै कामले थप तीव्रता पाएको हो । 

दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा सरकारले ४५ रोपनी जग्गा अधिग्रहण गरेर अन्तिम अन्वेषणको काम सुरु गरेको छ । प्रभावित क्षेत्र जलजलेका १७ र अन्य पालिकाका १७ जना गरेर ३४ जना स्थानीयले रोजगारी पाएका छन् । अहिले अन्वेषण स्थल जलजले हेर्न आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । 

ad
ad