जिल्लामा द्वन्द्वको समयमा माओवादी र राज्य पक्षबाट पीडित बनेका दुई हजारभन्दा बढीले अझै राहत पाउन सकेका छैनन् ।
घाइते तथा अंगभंग भएका दुई हजार तीन सय १० जनामध्ये ३३ जनालाई मात्र साविक स्थानीय शान्ति समितिमार्फत राहत र जीवन निर्वाह भत्ता दिइएको थियो । दार्मा गाउँपालिका–३ भल्चौरका ४६ वर्षीय मानबहादुर बिकले २४ चैत ०६१ मा रुकुमको खारामा तत्कालीन माओवादी र नेपाली सेनाबिच भिडन्त हुँदा आफू गम्भीर घाइते भएको बताए । उनले भीडन्तका क्रममा शरीरमा लागेका बमका सात वटा छर्रा अझै पनि शरीरमै रहेको बताए ।
नन्दकली कवरले २९ जेठ ०५९ मा छत्रेश्वरी गाउँपालिका–१ स्थित गुराँसे भीडन्तमा आफूलाई बमको छर्रा लागेको बताइन् । टाउकोमा लागेको तीन छर्रामध्ये दुईवटा फालिए पनि आँखामाथिको छर्रा अझै बाँकी रहेको भन्दै उनले छर्रा फाल्न नसक्दा शारीरिक रूपमा आफूलाई कमजोर महसुस गरेको बताइन् । साविकको स्थानीय शान्ति समितिले द्वन्द्वकालमा जिल्लाभर दुई हजार तीन सय १० जना घाइते भएको विवरण संकलन गरेको थियो । त्यस्तै द्वन्द्वको समयमा जिल्लामा तीन सय ७२ जनाको मृत्यु भएको समितिको तथ्यांक छ ।
स्थानीय शान्ति समिति खारेज भएपछि द्वन्द्वपीडितको समस्या जिल्ला प्रशासन कार्यालयले हेर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले द्वन्द्वकालमा घाइते तथा अंगभंग भएकामध्ये ३३ जनाले जीवन निर्वाह भत्ता पाउँदै आएको बताए । उनले यस वर्ष छुटेकाहरूको पुनरावलोकन गर्न भन्दै गृहमन्त्रालयले सूचना जारी गरेपछि थप ६८ जनाको निवेदन परेको जानकारी दिए । उनले निवेदनहरू मन्त्रालयमा पठाइएको भन्दै मन्त्रालयको निर्णय र निर्देशनअनुसार कारबाही अगाडि बढाइने बताए ।