१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ माघ ९ बिहीबार १४:२६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

रौतहटका स्थानीय तहमा टिक्दैनन् कार्यालय प्रमुख

Read Time : > 1 मिनेट
२०७६ माघ ९ बिहीबार १४:२६:००

जिल्लाका १८ स्थानीय तहमध्ये अधिकांशमा प्रमुख प्रशासकीय अधिकृत एक वर्ष पनि टिक्ने गरेका छैनन् । जिल्लाका अधिकांश नगरपालिकामा मेयर र अधिकृतबीच कुरा नमिल्ने गरेका कारण उनीहरू आफै सरुवा मागेर जाने गरेका छन् ।

केही नगरमा मेयर आफैं अधिकृतको सरुवा गराउन र आफ्नो अनुकूलका हाकिम ल्याउन डेलिगेसन जाने गरेका छन् । गरुडा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी मेयर अनिरुद्ध राय र उपमेयर रंगीलादेवी जैसवालको झगडाका कारण कामै गर्न नसकेको भनी सरुवा मागेर हिँडेका थिए । यस नगरपालिकामा पन्थीभन्दा अघि आएका अधिकृत उदय देवकोटा पनि एक वर्ष बस्न नपाउदै सरुवा मागेर गएका थिए ।

साउन २०७५ मा कटहरिया नगरपालिका पुगेका अधिकृत देवकोटा त्यहाँ पनि मेयर सियाराम कुशवाह र उपमेयर नुरजहा खातुनबीचको विवादका कारण ६ महिनामै सरुवा मागेर हिँडेका थिए । उनी अहिले सर्लाहीको हरिपुर नगरपालिकामा कार्यरत छन् । देवकोटापछि अधिकृत भई गएका मनोजकुमार रजक पनि पूरा अवधि टिक्न सकेनन् । 

विजयफतुवा नगरपालिकाका अधिकृत सागर रोक्कामाथि उपमेयर कान्तिदेवी महतोले अनियमितताको आरोप लगाएपछि उनी पनि एक वर्ष नबित्दै नगरपालिका छाडेर हिँडेका थिए । त्यसपछि अधिकृत रञ्जना साहको पनि समयावधि नसकिँदै सरुवा भएको थियो ।

जिल्लाको वृन्दावन, ईशनाथ, देबाही, गढीमाई, राजपुरलगायत नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत समय अवधिभर टिक्ने गरेका छैनन् ।

राजपुर फरहदवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले पनि आफूमाथि हातपात भएपछि दुई महिनाअघि उनले रौतहट छाडेका थिए । त्यसपछि मन्त्रालयले त्यहाँ बैजु ठाकुरलाई अधिकृतको जिम्मेवारी तोकेर पठाएको छ । 

गढीमाई नगरपालिकामा तत्कालीन प्रमुख प्रशासकिय अधिकृत नरबहादुर विकको १ साउन २०७६ मा सरुवा भएपछि मन्त्रालयले नागेन्द्र यादवलाई निमित्तको जिम्मेवारी तोकेको थियो । हाल सो नगरपालिकामा अधिकृत सुभाष ठाकुरलाई जिम्मेवारी दिइएको छ । देबाही गोनाही नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र पटेल पनि मेयर र उपमेयरवीच विवाद बढेको भन्दै सरुवा गराइ गएका थिए । 

त्यस्तै चन्द्रपुर नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत एक वर्षसम्म टिक्ने गरेका छैनन् । १ जेठ ०७१ मा निमित्त कार्यकारी अधिकृत भएर आएका हेमराज फुयाल पनि २५ साउनमा सरुवा भएर गएका थिए । 

सोही वर्ष २६ साउनमा आएका निमित्त कार्यकारी अधिकृत पदमबहादुर कार्की पनि एक महिना बसेर हिँडेका थिए । कार्यकारी अधिकृत टुवराज पोख्रेल पाँच महिना बसेर सरुवा भएका थिए । 

कार्यकारी अधिकृतहरू किरणनिधि तिवारी, नारायणप्रसाद पोख्रेल, मिठाराम हुमागाईं, सुरेश दाहाल, शिवनारायण साह, ऋद्धिप्रकाश सिटौला, बलराम ढकाल पनि एक वर्षसम्म पनि टिक्न सकेनन् ।

जिल्लाका जनप्रतिनिधि र अधिकांश नगर तथा गाउँ प्रमुखबीच विवाद र जनप्रतिनिबीच नै तालमेल नहुँदा स्थानीय तहमा कर्मचारी टिक्न सकिरहेका छैनन् ।